धरान /  धरान उपमहानगरपालिकाका कर्मचारीहरुलाई धमाधम कोरोना संक्रमण पुष्टि हुन थाले पछि उपमहानगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ ।
उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भए पछि योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा प्रशासन महाशाखा, सुचना शाखा र घरनक्सा शाखाका कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती महाशाखा तथा शाखाहरुको सेवा बन्द गरिएको बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।
सूचना शाखाका एक जना , घर नक्सा शाखाका २ जना र अनुगमन अधिकृतसहित कर्मचारीहरु कोेरोना पुष्टि भए पछि उहाँहरुलाई आइसोेलेसनमा पठाएर अन्य सम्पर्कमा रहेका कर्मचारीहरुलाई होम क्वारेन्टिनमा राखिएको खतिवडाले जानकारी दिए।
यता संक्रमणकै कारण वडा नं १६ कार्यालय पनि ३ दिनदेखि बन्द छ । विहीबारदेखि वडा नं १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाअध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा नं १२ र ३नं. का वडा सदस्यहरुलाई पनि संक्रमण भए पछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने भएको छ ।
सुनसरीमा विहीबार ६८ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । तीमध्य ११ जना महिलासहित ४४ जना धरानका रहेको प्रदेशस्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ ।