धरान / व्यापारीको सेटिङमा काम गर्न नमाने पछि एउटा विभगामा सरुवा भएको चार महिना नपुग्द धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खरिद शाखा प्रमुखको सरुवा गरिएको छ । कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका उपकुलपतिको हस्ताक्षरमा मंगलबार साँझ ४ बजे चापागाईलाई सरुवाको पत्र थमाइएको हो ।
खरिद प्रक्रियालाई एउटा सिष्टममा ल्याएका विष्णु चापागाईलाई धरानका व्यापारी चेतन अग्रवालको अनुकुलतामा काम नगरे पछि एकाएक सरुवा गरिएको प्रतिष्ठान श्रोतले जनाएको छ । उनलाई शैक्षिक प्रशासनको परीक्षा ब्लगमा पठाइएको छ । उनको स्थानमा चेतन अग्रवालका निकट मानिएका सामान्य प्रशासन महाशाखाका प्रमुख अशोक साहलाई ल्याइएको छ भने उनको ठाँउमा शैक्षिक प्रशासनबाट डिल्ली लुइटेललाई लगिएको छ ।

सामान्य त कर्मचारीहरुको सरुवा दुई दुई बर्षमा रजिष्टारको सिफारिसमा हुने प्रावधान छ । तर प्रतिष्ठानको नियमावली विपरित व्यापारीको स्वार्थमा चापागाईलाई उपकुलपतिले सरुवा गरेका छन् ।
यस विषयमा बुझ्न प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई सम्पर्क गर्दा फोन उठाउनुभएन । उहाँका प्रशासनिक सल्लाहाकार मानिएका दिलिप भट्टराईले भने नियमित प्रक्रिया अनुसार प्रतिष्ठानको सिष्टम बसाउन केही कर्मचारीको सरुवा गरेको बताउनुभयो । उनले सेटिङमा भएको भन्ने आरोप लगत भएको बताए ।

कुनै जानकारी विना पत्र आउनु अस्वभाविक भएको चापागाईलेबताउनु भएको छ । ‘विधि र प्रकृया विना मलाई हटाइयो । कसैैलाई मृत्युदण्ड दिदासमेत अन्तिममा सोधिन्छ अपराधबारे प्रायश्चित गर्ने मौका दिइन्छ । तर कुनै जानकारी विना आफुलाई पत्र थमाइयो ।’–चापागाईले फोन सम्पर्कमा भने । यस विषयमा आफु परामर्श गरेर अघि बढ्ने चामागाईले बताए ।
प्रतिष्ठानका अन्य पदाधिकारीहरुलाई कुनै जानकारी नदिइ व्यापारीको सेटिङमा सरुवा गर्न उपकुलपतिको प्रशासनिक सल्लाहाकार भनेर नियुक्ति पाएका दिलिप भट्टराइको हात रहेको श्रोतको दावी छ । उपकुलपतिले गर्ने हरेक काममा उनको प्रभाव बढेको यसअघि प्रतिष्ठानका कर्मचारीहरुले गुनासो गर्दै आएका थिए ।  

रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले आफु कार्यालयको काममा काठमाडौ भएकाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।  यता प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर अग्रवालले पनि यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।  
प्रतिष्ठान श्रोतका अनुसार चापागाईले खरिद प्रक्रियामा एक लाख भन्दा कमका टुक्रे खरिदलाई कम गरेका थिए । ५ लाख बढिको खरिद प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालय(पिपिएमओ) मार्फत व्यवस्थित गर्ने काम गरेका थिए । पिपिएमओ मार्फत गर्दा आफु अनुकुललाई टेण्डर लिन र दिन नमिल्दैन । निस्पक्ष रुपमा टेण्डर प्रक्रिया हुने गर्छ । चापागाईको यो सुधारले प्रतिष्ठानलाई ‘दुहुनो गाई’ बनाउदैं  अाएका व्यापारीलाई निन्द्रा लाग्न छाडे पछि चापागाईलाई सरुवा गरि अनुकुल व्यक्तिलाई ल्याइएको प्रतिष्ठान श्रोतले दावी गरेको छ ।

प्रतिष्ठानले संचालन गरेको कोभिड अस्पतालमा आवश्यक एयर कण्डिसन, फर्निचर, बेडलगायत औषधीजन्य सामान खरिद प्रक्रिया विपरित उपकुलपतिको सचिवालयबाट आफै खरिद गरेको पाइएको छ । अनावश्यक सामान तथा औषधी खरिदका लागि उपकुलपतिको सचिवालयबाट दवाव आए पछि कोभिड १९ अस्पतालका इञ्चार्ज डा. प्राडा. कृष्णा पोखरेलले १५ दिन अघि राजिनामासमेत दिएकी थिइन । खरिद प्रक्रिया नपु¥याइए किनिएका सामानको खरिद प्रक्रिया मिलाउन चापागाईलाई दवाव आए पनि उनले नमानेको बताइएको छ । कोभिड १९ अस्पतालका अधिकांश सामानहरु चेतन अग्रवालले नै ल्याएको पाइएको छ । अग्रवाल बायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर हुन । उनका गर्ग डेन्टल, सर्जिमेट, बायोमेडलगायतका ३०÷३५ वटा फर्मबाट विपी प्रतिष्ठानमा कारोवार गदैं आएका छन् ।

बिपी प्रतिष्ठानको सर्जिकल सामानहरु सबै उनले ल्याउने गर्छन् । तत्कालिन उपकुलपति प्राडा विपी दास हुदा बायोमेड इन्टरनेसनल प्रालिको नाममा प्रतिष्ठानलाई नोक्सानी पु¥याएको भन्दैं अख्तियार अनुसनधान आयोगले विशेष अदालतमा चेतन अग्रवाल विरुद्ध एक करोड चार लाख १६ हजार ७८ सय ७ रुपैयाँको विगो दावीसहित मुद्वा दायर गरेको थियो । उक्त मुद्धा विचाराधिन अवस्थामा छ ।

उनका दाई सिर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवाल ६० लाख ६३ हजार ३४३ रुपैयाको मुद्धा रहेको छ । उनीहरुसँगै पूर्व उपकुलपति विपी दास चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँको भ्रष्टचारको मुद्वा रहेको छ । यस्तै पूर्व उपकुलपति राजकुमार रौनियार, पूर्व रजिष्टारहरु नन्दबहादुर थापा, तुलबहादुर श्रेष्ठको नाममा पनि भ्रष्टचार मुद्धा विशेष अदालतमा विचाराधिन छ ।