धरानमा वर्षेनी आयोजना हुदै आएको आरती स्ट्रिप्स–सातौं नेवा च्यारिटी धरान १० के रनको तयारी पूरा भएको छ ।
धरान रन समुहद्वारा आयोजित सो रनको तयारी पुरा भएको समुहले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
शनिबार विहान ७ बजे हुन लागेको रनको सम्पूर्ण तयारी पूरा भएको वताएको छ ।
रनमा विभिन्न उमेर समुहका करिब ३ हजार ५ सय जना धावकधाविकाले सहभागिता जनाउने समुहका अध्यक्ष रोमु राईले बताए । ‘
गत वर्ष भन्दा यस वर्ष १ जना वढीले सहभागीता जनाएको राईको भनाई रहेको छ । उनका अनुसार २४ सय ३४ जना दौडिएका थिए ।

आयोजकक अनुसार गत वर्ष भन्दा यस वर्ष अन्तर्राष्ट्रिय मान्यता अनुसार १० कि।मी रन हुने छ ।
१२ वर्षभन्दा मुनिका धावक धाविकाहरुको लागि भने ३ कि.मि.मात्र दौड हुनेछ ।
प्रतियोगितामा खुल्ला तर्फ महिला तथा पुरुषमा प्रथम द्धितिय र तृतिय हुनेले क्रमस नगद ४० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् । त्यसैगरी, १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खुल्लातर्फ ३ पटकको विजेता तीर्थ पुन, महिलातर्फ गत वर्षको विजेता कान्छीमाया कोजु पनि सहभागि हुनेछन् । दौडबाट जोगिएको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेशनरीका सामग्री प्रदान गर्ने जनाएको छ ।
धरान रनले धरानलाई देश विदेशमा पनि चिनाउन सफल भएको आयोजक समूहका संस्थापक अध्यक्ष सन्तोष राईको भनाई रहेको छ । धरानेहरु दौडन्छन्, स्वास्थ्य छन् भन्ने सन्देश छ । कार्यक्रममा बरिष्ठ ओलम्पियन धावक मुकुन्दहरी श्रेष्ठलाई सम्मानीत गरिने भएको छ । उनलाई आरती स्ट्रिप्स–धरान १० के रन, सातौं नेवा च्यारिटी २०७५ बाट सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै, अन्र्तराष्टिस्तरमा चर्चित अल्ट्रा धाविका मिरा राईलाई पनि सम्मान गरिने भएको छ ।

प्रतियोगिताको रुट कता कता हुने
दौड भानुचोकस्थित लोकतान्त्रिक चौतारी भानुचोकबाट पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी ट्याङकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो पाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चोकहुँदै, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर समापन हुने छ ।