इटहरी / सुनसरी क्षेत्र न‌ ३ मा पुनःमतगणना माग गर्दै प्रतिनिधिसभाकी एमाले उम्मेदवार भगवती चौधरीले अदालतलाई गुहारेकीछन् ।  चौधरीले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट दायर गरेकी हुन । सर्वोच्चबाट मुद्दाको किनारा नलागेसम्म नेपाली कांग्रेसबाट विजयी भएका विजयकुमार गच्छदारले सथप रोक्न माग गरिएको छ । सुनसरी ३ को मतगणना मसिर २७ गते सम्पन्न भएको थियो । अन्तिम नतिजा अनुसार गच्छदारले ३८ हजार ९७२ ल्याएका थिए भने चौधरीले ३८ हजार ६५१ ल्याएकी थिइन् । गच्छदार र चौधरीको मतअन्तर ३ सय २१ छ । उजुरी पत्रमा चौधरीले मंसिर २१ मा १९ औं लटमा निर्वाचनको मतगणना क्रममा ९ वटा अर्धकट्टी सहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्वर हेर्न समेत नदिएको दाबी गरेकी छन् । पाँच वटा मतदान केन्द्रमारुख चिन्हमा स्वस्तिक छाप फरक (सामान्य आकार भन्दा ठूलो) रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको उनले बताएकी छन् ।

सूर्य चिन्हमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको उनको दाबी छ । रिटमा एमाले उम्मेदवार चौधरीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर ३ र विजयी भएका कांग्रेसका नेता गच्छदारलाई विपक्षी बनाइएको छ ।