धरान /  सुनसरी जिल्लामा गत वर्षको तुलनामा बालिका बलत्कारका घटनामा कमी आएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सर्वाजनिक गरेको मानव अधिकारको जिल्लाको अवस्थाको तथ्याङ्कले गत वर्षको तुलनामा यो वर्ष बालिका बलात्कार घटना कमी देखाएको हो । शुक्रबार इनरुवामा इन्सकेले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०१८ को लागि सन् २०१७ भरीमा सुनसरीमा संकलित घटनाको पुूर्व समीक्षा कार्यक्रममा जिल्लाको मानव अधिकारको अवस्था सार्वजनिक गरेको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि शेखर ढकालले २०१७ भरीमा सुनसरीमा संकलन गरेका ५४ ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनीक गरे । जसमा ओटा १६ जना बालिका बलात्कृतका घटना छन् । गत वर्ष बालिका बलात्कृतको संख्या ३२ भएको ढकालले बताए । गत वर्षको तुलनामा यो वर्ष बालिका बलात्कारको संख्यामा कमी आएको हो । त्यस्तै यो वर्ष ३५ ओटा महिला अधिकार उल्लङ्घन घटना भए । इन्सेकले हरेक वर्ष देशका ७७ ओटै जिल्लामा मानवअधिकारको अवस्था सार्वजनिक गर्दै आएको छ ।
कार्यक्रममा इन्सेक पूर्वञ्चाल संयोजक सोमराज थापाले इन्सेकले देशभरीको मानव अधिकारको अवस्थाको विश्लेषण गरेर देशभरभएका घटना समेटेर मानवअधिकार वर्षपुस्तक निकाल्दै आएको बताए । पुस्तकमा समेटिने विवरणलाई तथ्यपूर्ण बनाउँन पूर्व समीक्षा कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन सुनसरीका प्रशासकीय अधिकृत रोहणी आचार्यले गतवर्षको वर्ष पुस्तकमा समेटिएका घटनाहरुको न्याय निरुपण कसरी भयो । ती घटनामा कतिले न्याय पाए । कतिले सफाइ पाए । त्यसको समेत विष्लेषण गरेर समेटदा वर्ष पुस्तक अझ प्रभावकारी हुने सुझाव दिए । अधिवक्ता प्रदिप काफ्लेले इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्रथमिकता दिनुपर्ने बताए ।