धरान / सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । यस नि०ाृयले प्रदेश प्रमुखहरुको पद समेत धरापमा परेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते सातै प्रदेशका प्रमुखको नियुक्ति गरेको थियो । निर्वाचन आचारसंहिता लागु भएकै अवस्थामा सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै वर्तमान सरकारले नियुक्तिको निर्णय खारेज गरेको जानकारी गराएको छ । कानून मन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरु पनि राजनीतिक नियुक्ति भएकाले उक्त निर्णय समेत खारेज भएको जानकारी बताए ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो । नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । कायस्थ र झा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट नियुक्त भएका थिए ।
सरकारले देशमा राजनीतिक नैतिकता बचाउनका लागि अघिल्लो सरकारले गरेका भदौ १४ पछिका निर्णयहरु खारेज गरेको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

निर्वाचनको मिति तोकिएर आचार संहिता लागू भइसकेको अवस्थामा देउवा सरकारले राजनीतिक नियुक्ति गरेकाले त्यस्ता नियुक्तिहरु बदर गरिएको मन्त्री बास्कोटाले बताए । अबदेखि चुनावी सरकारले यसरी कुनै पनि निर्णयहरु नगरोस् र नैतिकता एवं राजनीतिक संस्कारको रक्षा होस् भने बुधबारको मन्त्रिपरिषदले ती नियुक्ति खारेज गरेको मन्त्री बास्कोटाको भनाई छ ।