भ्यु टावरबाट देखिएको भेडेटार बजार ।
  • देवेन्द्र कार्की, 
भेडेटारको उचाइमा रहेको भ्यु टावर ।
भेडेटार बजारबाट २ किमी तल उत्तरतर्फ रहेको नमस्ते झरना ।
धरान  / शिरमा सेताम्मे हिउँ फुल्ने कञ्चनजंघा र मकालु हिमाल, काखमा सुतिरहेछ, पूर्वकै नमुना सहर धनकुटा । हो, पूर्वको रमणीय पर्यटकीय स्थलका रूपमा परिचित छ, भेडेटार ।
यहाँ बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरू भीड लाग्छन् । आधा भूभाग धरान र आधा धनकुटाको स्वामित्वमा रहेको भेडेटार भूगोल, मौसम र आसपासका अन्य पर्यटकीय स्थलका कारण चर्चित छ ।

माथितिर मकालु, ल्होत्से र कुम्भकर्ण हिमाल नियाल्न, तर मुन्तिर चारकोसे झाडी मासेर बसेको धरान बजार नियाल्न भेडेटार उक्लिनेको संख्या बढिरहेकै छ । कामको व्यस्तता र थकान बिर्सिन प्रायः व्यक्ति शनिबार भेडेटार पुग्छन् र रमाइलो लिन्छन् ।
       बेसीतिरको उखरमाउलो गर्मी छल्ने पाखो पनि बनेको छ भेडेटार । साँझपख भेडेटारबाट बेसीतिर हेर्दा देखिने पूर्व–पश्चिम फैलिएको फाँटको सुन्दरता उत्तिकै मनमोहक लाग्छ । देशका विभिन्न ठाउँबाट पूर्वका झापा, मोरङ र सुनसरी पुग्नेहरू सकेसम्म भेडेटारको यात्रा छुटाउँदैनन् ।
काम विशेषले काठमाडौंबाट विराटनगर आएकी रञ्जु भट्टराई गत साता श्रीमान् र साथीहरूसँगै भेडेटार घुमेर फर्किन् । ‘कुनै कामले विराटनगर आएका वेला एक दिन बसाइ लम्ब्याएर भेडेटार घुमेँ,’ उनले भनिन्, ‘पूर्व आउँदा भेडेटार नपुगे यात्रा अधुरो नै रहने रहेछ भन्ने अनुभव भयो ।’
समुन्द्र सतहबाट एक हजार चार सय ३० मिटरको उचाइमा अवस्थित भेडेटार धरानदेखि १६ किमि उत्तर र धनकुटा सदरमुकामदेखि ३२ किमि दक्षिणको दूरीमा छ । उतिखेरै चर्को घाम लाग्नु र उत्तिखेरै कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनको मौसम परिवर्तन पनि पर्यटक लोभिने अर्को पाटो भएको स्थानीय होटेल व्यवसायी जितेन्द्र रुम्दाली बताउँछन् ।
०४० मा बेलायती राजकुमार चाल्र्स भेडेटार घुम्न आएका थिए । चाल्र्सले भेडेटारको टुप्पोमा चढ्दा सगरमाथाको चुचुरोमा चढेजस्तो आनन्द प्राप्त भएको प्रतिक्रिया दिएको त्यसवेला चर्चा थियो । त्यसैले भेडेटारको सबैभन्दा उच्च स्थानलाई ‘चाल्र्स प्वाइन्ट’ नामकरण गरिएको छ । यो भेडेटार बजारदेखि पश्चिमतर्फ अवस्थित छ । चाल्र्स चढेको चुचुरोमा अहिले ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । टावरमा चढेर हेर्दा धरान, धनकुटा, सप्तकोशीको फाँट, चारकोसे झाडी र तराईका मनमोहक फाँट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ । भ्यु टावरबाट बिहानीपख देखिने दृश्य बढी मनमोहक लाग्छ ।
टावरमा चढ्न प्रतिव्यक्ति पाँच रुपैयाँ र क्यामेरासहित जाँदा १० रुपैयाँ शुल्क लाग्छ । भारतीय पर्यटकलाई २० रुपैयाँ र अन्य मुलुकबाट आउने पर्यटकलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सो शुल्कबाट दैनिक सात हजार रुपैयाँभन्दा बढी संकलन हुन्छ ।
कात्तिकदेखि वैशाखसम्मको समयमा भेडेटारमा पिकनिक जानेको भिड लाग्छ । पूर्व काँकडभित्तादेखि जनकपुरसम्मका आगन्तुक भेडेटार आउँछन् । भेडेटारमा युवायुवतीको जोडी उत्तिकै हुन्छन् । भेडेटारलाई ‘रियल लभर स्टेसन’समेत नामकरण गरिएको स्थानीय बताउँछन् । विवाहित जोडीहरू हनिमुन मनाउन काठमाडौंबाट समेत आउने गर्छन् । यहाँ आउने ५० प्रतिशत पर्यटक भारतीय नै रहेको स्थानीय बताउँछन् ।
पर्यटकहरू रमाइलो र आनन्द लिन मात्र भेडेटार आउँदैनन् । नजिकै रहेको पाथिभरा देवी मन्दिर पुगेर आध्यात्मिक चिन्तन गर्नेहरूको संख्या पनि उत्तिकै छ । भेडेटारदेखि पश्चिममा रहेको सागुरीगढी, २ किमी तल उत्तरतर्फ रहेको नमस्ते झरना, राजारानी, नाम्जे बजार, एसियाकै सबैभन्दा ठूलो बरको रूख पनि भेडेटार नजिकै अवस्थित छ ।
यी ऐतिहासिक धार्मिक महŒवका स्थानले पनि पर्यटक आकर्षित गरेका छन् । विशेष गर्मी मौसममा शीतलता भर्न र चैत–वैशाखमा गुराँस फुलेको दृश्यावलोकन गर्न पर्यटकहरू झुम्मिने गर्छन् । सरकारले पनि भेडेटार र आसपासको क्षेत्रलाई ‘राष्ट्रिय पर्यटन क्षेत्र’ घोषणा गरेको छ ।
कतिपयलाई थाहा नहुन सक्छ, सिएनएनले सन् २०११ मा गरेको एक सर्वेक्षणमा धनकुटाको नाम्जे गाउँ विश्वकै आठौँ उत्कृष्ट गन्तव्यको सूचीमा परेको थियो । यो गाउँ अहिले दिनहुँ फेरिने क्रममा छ । नाम्जे गाउँको चर्चा बढेसँगै अहिले यहाँ टाढा–टाढाबाट पर्यटक आउन थालेका छन् । साविक भेडेटार गाविस–७ मा पर्ने नाम्जे, भेडेटारबाट ७ किलोमिटरको दूरीमा पर्छ । अहिले यो ठाउँमा साना होटेल र होमस्टे सञ्चालनमा छन् । नाम्जे पुग्ने पर्यटकले एक रात बिताउँदा मगर जातिको हुर्रा नाचको रसस्वादन पनि प्राप्त गर्न पाउँछन् । भेडेटारबाट नाम्जेसम्म पुग्न ठूला बस, जिप तथा मोटरसाइकल प्रमुख साधन हुन् । नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालसमेत देख्न सकिन्छ ।
पूर्वका चर्चित पर्यटकीय गन्तव्यमध्ये नमस्ते झरना पनि एक हो । यो फरक गन्तव्यका रूपमा परिचित छ । तराईको उखरमाउलो गर्मी छल्ने उद्देश्यले चिसो पानीसँग खेल्न यो झरनासम्म धेरै पुग्छन् । सरकारी बिदा र शनिबारको दिन यहाँ भिड नै लाग्छ ।
नमस्ते झरना एउटा पहाडी छाँगो हो । यो झरना ८० मिटर उचाइबाट झरेको छ । आजभोलि दैनिक तीन सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको झरना व्यवस्थापन समितिले जानकारी दियो । भारतको विहार र पश्चिम नेपालबाट विद्यार्थीहरू शैक्षिक भ्रमण तथा अवलोकनका लागि पनि नमस्ते झरनासम्म आउने गर्छन् ।
सिएनएनको सर्वेक्षणमा विश्वको आठौँ गन्तव्य सूचीमा परेको धनकुटाको नाम्जे गाउँ ।
पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ । त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण हुँदै छ । नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशकअघि नै पर्यटकीय स्थलका रूपमा सूचीकृत गरेको थियो ।
०००
काठमाडौंदेखि हवाईजहाजबाट विराटनगर ओर्लिएपछि ट्याक्सीमा करिब ५५ किमि दूरी यात्रा गरेपछि भेडेटार पुग्न सकिन्छ । दिवा वा रात्रि सेवाका सवारीमा काडमाडौंबाट सीधै धरान उत्रिएर भानुचोकबाट रिजर्भका ट्याक्सी चढेर पनि भेडेटार पुग्न सकिन्छ । धरानको भानुचोक पूर्वपट्टिबाट राजारानी, तेह्रथुम, भोजपुर, खाँदबारी, वसन्तपुर, पाख्रीवासलगायत ठाउँका लागि छुट्ने धेरै बसहरू पाइन्छन् । ५० रुपैयाँ भाडा तिरेर भेडेटार पुग्न सकिन्छ । धरानबाट आजकाल अटोरिक्साले पनि भेडेटारसम्मको सेवा दिने गरेका छन् । भेडेटारबाट दुई किमि पूर्व नाम्जे र दुई किमि उत्तरको ओरालो झरेपछि नमस्ते झरना पुग्न सकिन्छ ।
०००
भेडेटारमा धेरै दिन बसेर दृश्यावलोकन गर्न चाहने पर्यटकका लागि सुविधायुक्त दर्जनौँ होटेल तथा लजको व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरू प्रायः यहाँको तुङ्बामा लोभिन्छन् । कोदोको तुङ्बा र राँगोको सुकुटी यहाँको विशेष ‘आइटम’ मानिन्छ । नेपाली खाना रुचाउनेहरूलाई गुन्द्रुकको सिन्की यहाँको राम्रो परिकार हो । विदेशी पर्यटकका लागि इन्डियन र चाइनिज खाना पनि तयार पारिने गरिएको होेटेल सञ्चालकहरू बताउँछन् ।

भेडेटार घुमघामको आकर्षक गन्तव्य भए पनि प्रचार–प्रसार भने कमै भएको छ । राजधानीमा उत्रिने विदेशी पर्यटकलाई यहाँसम्म ल्याउन कुनै पहल भएको छैन । पर्यटन बोर्डले पनि यहाँ पर्यटक ल्याउन कुनै पहल गरेको देखिँदैन । पूर्वको पर्यटन विकासमा पर्यटन बोर्डको भूमिकाप्रति यहाँका व्यवसायी दुःख व्यक्त गर्छन् । ‘भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि कुनै प्रभावकारी कार्यक्रम नहुनु दुखद् पक्ष हो । अब सबै यो पाटोमा लाग्नुपर्छ,’ स्थानीय व्यवसायी बासुदेव बरालले बताए ।
हुन त भेडेटारमा ठूलो क्षमताका होटेलको पनि अभाव छ । ५०–६० जना पर्यटकलाई पनि थेग्न नसक्ने अवस्था छ । गोष्ठी, सेमिनार गर्न कसैले चाह्यो र ठूलो संख्यामा पर्यटक रहनुपर्‍यो भने भेडेटारमा त्यस्तो होटेलको अभाव छ ।
०००
भेडेटारको प्रवेशद्वार हो, धरान । धरानलाई पनि पूर्वको पर्यटकीय गन्तव्य मानिन्छ । त्यसैले धरानसहित भेडेटार र आसपासका ऐतिहासिक-धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्नु आवश्यक छ ।
त्यसो त धरानबाट भेडेटारसम्म केबलकार विस्तार गर्न सकिने सम्भावना देखिन्छ । गोरखाको मनकामनाजस्तै भेडेटारको पाथिभरा मन्दिर पनि पर्यटकको आकर्षण बन्न सक्छ ।
यहाँ प्याराग्लाइडिङको परीक्षण पनि गरिसकिएको छ । त्यसका लागि दुईवटा कम्पनी दर्ता भएरै काम थालेका छन् । तर, अहिले बर्खा समय भएकाले यो काम प्रभावकारी रूपमा अगाडि बढाइएको छैन । जे होस्, 


अाकाशबाट देखिएकाे भेडेटार ।
भेडेटारबाट धरानसम्म प्याराग्लाइडिङ खेल सुरु गर्न सकिने सफल परीक्षणले नै पुष्टि गरिसकेको छ ।