धरान / धरान–११, कल्याणचोक निवासी मौसम राईको जीवनकथा संघर्ष, सामाजिक प्रतिबद्धता र निरन्तर सक्रियताको उदाहरणका रूपमा उभिएको छ । खोटाङको साविक सत्यश्वर छितापोखरी ९हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका० मा जन्मिनु भएकी राईले गाउँको साधारण परिवेशबाट आरम्भ गरेको यात्रा आज कानुन व्यवसाय, सामाजिक नेतृत्व र राजनीतिसम्म विस्तार भएको छ ।
बाल्यकाल र शिक्षा
महेन्द्र मावि, चुइचुम्मा ओख्रेबाट प्रारम्भिक शिक्षा पूरा गरी उहाँले २०५२ सालमा विद्यालय तह उत्तीर्ण गर्नुभयो । त्यसपछि त्रियुगा जनता बहुमुखी क्याम्पस, गाईघाटबाट आई।ए। ९२०५४० र बी।ए। ९२०५८० सम्पन्न गर्नुभयो । अध्ययनप्रतिको निरन्तर अभिरुचिलाई कायम राख्दै उहाँले समाजशास्त्रमा स्नातकोत्तर ९२०६४०, राजनीतिक शास्त्रमा स्नातकोत्तर ९२०७४० तथा नेपाल ल क्याम्पसबाट एल।एल।वी। ९२०७३० उत्तीर्ण गर्नुभएको छ । बहुविषयक उच्च शिक्षा हासिल गर्नु उहाँको बौद्धिक जिज्ञासा र समाजप्रतिको गहिरो चासोको द्योतक हो ।
शिक्षण र सामाजिक अभियान

उदयपुरको गाईघाट–११, पिजी चोकमा २०५१ देखि २०६३ सम्म बसोबासका क्रममा उहाँले सगरमाथा माविमा करिब तीन वर्ष अध्यापन गर्नुभयो । यही अवधिदेखि उहाँको सामाजिक र राजनीतिक सक्रियता संगठित रूपमा अघि बढेको देखिन्छ ।
२०६२÷६३ तिर उदयपुरका विपन्न महिला कृषकहरूको आर्थिक सशक्तीकरणका लागि जिल्ला कृषि कार्यालयसँग समन्वय गरी आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुभयो । मानव अधिकार सञ्जाल, महिला अधिकार सञ्जाललगायत सामाजिक न्याय र लैङ्गिक समानताका क्षेत्रमा सक्रिय रहँदै उहाँले महिला तथा बालबालिकाको हक–अधिकारका पक्षमा पैरवी गर्नुभयो । ‘पूर्णपुष्टि’ नामक पत्रिकाको संस्थापक टोलीमा सहभागी भई वैचारिक बहस र जनचेतनामा योगदानसमेत दिनुभयो ।
राजनीतिक चेतनादेखि नेतृत्वसम्म

राजनीतिक संस्कार उहाँले परिवारबाटै प्राप्त गर्नुभएको हो । पिता बयानसिंह राई, जेठा दाजु डा। कैलासकुमार राई तथा काका पेसलकुमार राई राजनीतिमा सक्रिय रहनु भएको पृष्ठभूमिले उहाँमा प्रारम्भदेखि नै राजनीतिक चासो जागृत भएको थियो । विद्यालयकालमै विभिन्न नेताहरूका विचार सुन्ने र बहसमा सहभागी हुने उहाँको बानीले राजनीतिक झुकाव थप सुदृढ बनायो । तत्कालीन समयमा खोटाङमा अशोक राईका भाषणप्रति युवापुस्ताको आकर्षण उल्लेख्य थियो । तिनै वैचारिक प्रभाव र पारिवारिक प्रेरणाबाट उहाँ राजनीतिमा सक्रिय हुनुभयो ।
२०५० सालमै विद्यालय कमिटीको कोषाध्यक्षका रूपमा संगठनमा आबद्ध हुनुभएकी राईले गाईघाट क्याम्पस तथा नेपाल ल क्याम्पसमा समेत कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो । जनआन्दोलनपश्चात् ललितपुर–१४ मा नेकपा एमालेको पार्टी काममा सक्रिय रहनुभयो । अनेमासंघमार्फत महिला अधिकार तथा संगठन निर्माणसम्बन्धी प्रशिक्षण प्राप्त गरी उहाँले राजनीतिक र सामाजिक कामलाई सँगसँगै अघि बढाउनुभयो । जयन्ती राई, शुशिला श्रेष्ठलगायत महिला नेतृहरूको मार्गदर्शनले उहाँलाई संगठनात्मक रूपमा थप खारिएको बताइन्छ ।

२०७७ सालदेखि सुनसरी जिल्ला कमिटीमा दुई कार्यकाल काम गरिसक्नुभएकी उहाँ हाल एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । साथै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज र लोकतान्त्रिक किरात राई संघको केन्द्रीय इञ्चार्जका रूपमा सक्रिय रहनुभएको छ । हाल पार्टीले उहाँलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ, जसले उहाँको संगठनात्मक योगदानको मूल्याङ्कन भएको संकेत गर्दछ ।
कानुन व्यवसाय र मानव अधिकार

२०७७ सालदेखि वकालत पेशामा सक्रिय राईले पाटन उच्च अदालत बारबाट कानुनी अभ्यास प्रारम्भ गर्नुभयो । हाल विशेष अदालत बारको कार्यसमितिमा रहेर कार्यरत हुनुहुन्छ । महिला, बालबालिका तथा देवानी मुद्दामा केन्द्रित रही न्यायको पहुँच कमजोर वर्गसम्म पु¥याउने प्रयासमा उहाँ संलग्न हुनुहुन्छ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनसँग आबद्ध भई विधिको शासन र कानुनी राज्यको सुदृढीकरणका पक्षमा निरन्तर पैरवी गर्दै आउनुभएको छ ।
शान्ति प्रक्रियाको क्रममा अयोग्य घोषित लडाकुहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका तालिममा समेत उहाँको संलग्नता रह्यो । याङसिला, बर्दिवास, नेपालगञ्ज र काठमाडौंमा आयोजित कार्यक्रममा प्रशिक्षक तथा सहजीकर्ताका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय अनुभव

२०७२ सालको भूकम्पपश्चात् रामेछाप, दोलाखा र काभ्रेपलाञ्चोकका दुर्गम बस्तीमा पुगेर उहाँले करिब एक वर्ष राहत, मनोसामाजिक परामर्श तथा सुरक्षित आवास सहयोगमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । विपन्न, दलित तथा जोखिममा परेका समुदायलाई आपतकालीन सामग्री, महिला स्वास्थ्य सामग्री तथा मनोपरामर्श सेवा उपलब्ध गराउनुभयो । तराईका रौतहट, सुनसरी र मोरङलगायत जिल्लामा समेत विपद् तथा सामाजिक सहयोगमा सक्रिय रहनुभएको छ ।
ज्ञान आदानप्रदानका सिलसिलामा स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, लक्जेम्बर्ग, भारत तथा अमेरिकन बार एसोसिएसनका कार्यक्रमहरूमा सहभागिता जनाउँदै शान्ति प्रक्रिया, कानुनी राज्य र विधिको शासनबारे अध्ययन तथा अन्तरक्रियामा सहभागी हुनुभएको छ ।
जीवनदर्शन
“मैले नगरे कसले गर्छ रु” भन्ने भावनाले प्रेरित राई निश्चित पद वा लक्ष्यभन्दा कर्ममा विश्वास गर्ने बताउनुहुन्छ । सामाजिक न्याय, समानता र सशक्तीकरणलाई उहाँले आफ्नो कार्यक्षेत्रको मूल मन्त्रका रूपमा लिँदै आउनुभएको छ । निरन्तरता र प्रतिबद्धतालाई नै सफलताको आधार मान्ने उहाँ समाज रूपान्तरणलाई दीर्घकालीन अभियानका रूपमा बुझ्नुहुन्छ ।

गाउँको साधारण परिवेशबाट सुरु भएको मौसम राईको यात्रा शिक्षा, सामाजिक सेवा, कानुन व्यवसाय र सक्रिय राजनीतिसम्म फैलिएको छ । महिला अधिकारदेखि आदिवासी जनजातिको प्रतिनिधित्वसम्म, विपद् व्यवस्थापनदेखि विधिको शासनसम्म उहाँको बहुआयामिक सक्रियताले समकालीन राजनीतिक–सामाजिक वृत्तमा विशिष्ट पहिचान स्थापित गरेको छ । संघर्ष, समर्पण र नेतृत्वको संयोजन नै उहाँको परिचय बनेको छ ।



















