भद्रपुर/ ग्रामीण भेगलाई मध्यनजर गरि तीनवर्ष यतादेखि हप्तामा एकदिन लाग्दै आएको बजार वडा सदस्यको अवरोधका कारण बन्द भएको स्थानीयले आरोप लगाएका छन् । झापाको साविक हल्दीबारी गाविस ३ हाल वडा नम्बर २ मा रहेको पाराखोपी बजार बुधबारबाट बन्द भएको उनिहरुले जनाएका छन् ।

वडा सदस्य खगेन राजवंशीले बजारमा आएका व्यापारीलाई टहरा निर्माणको लागि जनसहभागिता स्वरुप २ हजार रकम दिनु पर्ने माग राखेपछि खर्च धान्न नसकेर उनिहरु नआएको स्थानीय कुमार भण्डारीले बताएका छन् । टाढाबाट आउदै गरेका व्यापारी डर र त्रासले गर्दा आउन छाडेको भण्डारीको भनाई छ । स्थानीय तथा भारतबाट सामन लिएर आउने गरेका व्यापारी विहानबाट घर फर्किदा समेत एउटा पनि सामान बिक्री नहुने अवस्था आइरहेको हुदा हुदै वडा सदस्यको अगुवाइमा तत्काल ‘पैसा दे हैन भने नआइज’ लगायतका धम्कीपूर्ण भाषा बोल्नु एउटा जनप्रतिनिधिले नसुहाउने उनले जनाए । ‘हामी रकम किस्तबन्धीमा तिर्छौ तर, आधिकारिक विल दिनु भन्दा उल्टै ‘म को हु चिनिनस’ भन्दै कुट्न खोजेको व्यापारीको भनाइ छ । बजारको विषयमा समिति हुदा हुदै एकलौटी रुपमा रकम उठाउनु नियम विपरित भएको स्थानीयहरुको भनाइ छ । उपभोक्ताहरु बजार आएपनि सामान नपाएपछि रित्तै फर्किएका थिए । उनिहरुले नाम नराखिदिनु भन्दै यस्तो जानकारी गराएका थिए ।

व्यापारीहरुलाई आउने सहज परिस्थिती नभएपछि बजार बन्द भएकोमा दुःख लागेको बजार व्यवस्थापन समितिका सचिव नारायण प्रसाद लुइटेलले बताए । यो विषयमा तत्काल बैठक बसेर कसैले व्यत्तिगत स्वार्थ नराखी ढुक्ककासाथ व्यवसाय गर्ने वातावरण वनाएर समस्या चाडो टुङ्ग्याउने भन्दा अर्को विकल्प नभएको उनको भनाइ छ ।
घट्ना विवरण अनुसार बिहीबार र शुक्रबार लाग्दै आएको बजारमा विस्तारै ३० देखि ३५ घर वस्ती वसाएर बजारलाई विस्थापित गराइएको थियो । स्थानीय राजेन्द्र प्याकुरेलसँग समन्वय गरेर गाउँभेला गरि ०७१ सालमा पर्शुराम बजगाँईको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन गरि हप्ताको एकदिन बुधबार बजार लगाउने भनी ०७३ सालमा बजार पुनः सञ्चालनमा आएको थियो । बजार अव्यवस्थित भएकोले तत्कालिन सांसद सिपी मैनालीको संसदकोषबाट चारलाख र हल्दीबारी गाविसबाट डेढ लाख प्राप्त गरि टहरा निर्माण शुरु गरिएको थियो । टहरामा ८२ हजार बढी खर्च भएको थियो ।

यसैक्रममा अघिल्लो समिति भइरहेको अवस्थामा केही पक्षले छलफलनै नगरि मेहमान राजवंशीको अध्यक्षतामा ०७५ वैशाखमा वडासदस्य राजवंशीको अगुवाइमा टहरा निर्माण समिति गठन गरेको प्रथम बजार व्यवस्थापन तथा निर्माण समितिका अध्यक्ष पर्शुराम बजगाँइले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले टहरा निर्माणको लागि साढे चारलाख र जनसहभागिताबाट गरि ५ लाख १० हजार रकममा समितिले गुणस्तरहीन काम गरेर निर्माणाधीन अवस्थामानै छाडिदिएको पर्शुरामको आरोप छ । हामीले बनाएको टहरा र वडा सदस्यको अगुवाइमा बनेको टहराको गुणस्तर जाँचहुनु पर्ने समितिको मागरहेको उनले जनाए । धेरै दुःख गरेर बजार बसाएकोमा एकलौटी हैकमबाद चलाएर गाउलेलाई उपभोग्य वस्तु खरिद गर्नबाट बन्चित गराएकोमा अधिकाँशले वडा सदस्यको कार्यशैलीप्रति आक्रोस पोखेका थिए । अब व्यापारी नआएपछि टहरा प्रयोगबिहीन हुने हुँदा तत्काल समस्या सुल्झाउनु पर्ने स्थानीयको माग छ ।

कुनैपनि समितिले योजनाको फरफारक नगरेमा अर्को काम गर्न नपाइने भन्ने नियम वडाले बनाएकोले अघिल्लो समितिको निर्माण कार्यमा स्टीमेट भन्दा १ लाख २० हजार बढी खर्च भएपछि अर्को समिति खडा गर्नु परेको वडा सदस्य राजवंशीले बताए । ‘टहरा निर्माणको क्रममा रकम अपुग भएपछि जनसहभागिता स्वरुप व्यापारीलाई खुसीका साथ रकम दिनु भनेको हुँ ।’ ‘कसैलाई दबाव दिएको छैन उनले भने । ’ पर्शुरामले अध्यक्ष नपाएकोले उहाँलेनै सवै व्यापारीलाई पैसा तिर्नु पर्दैैन तिमीहरु नआउनु भनेर उल्टै भड्काएको उनको भनाई छ । बाररम्बार वैठकमा बोलाउदा पर्शुराम नआएपछि उहाँ लगायत केही समूहले बजार विस्थापितको रणनीतिमा लागि परेको उनले आरोप लगाए । मेरो वडामा काम भन्दा पनि राजनीतिक दाउपेच बढी हुने गरेको उनले सुनाए । व्यापारीको दिने इच्छा भएपछि केही रकम उठाउदै गर्दा अर्को पक्षले भाँडेको उनको आरोप छ । निकासा भएको रकममध्ये केही बाँकी भएपनि टिना लगाउने रकम अपुग भएकोले टहरा निर्माणाधीन अवस्थामानै रहेको उनले जनाए ।