पानीबाट गरिने उपचार पद्धतिलाई बोलीचालीको भाषामा ‘स्पा’ पनि भनिन्छ । यो सालस पर एक्युम ( salus per acum ) को छोटकरी रुप पनि हो । स्पा उपचार पद्धति नौलो लागेपनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । समाज विकासका क्रममा स्वास्थ्यकर्मी थिएनन्, चिकित्सक थिएनन । तर पनि मानिसहरु बिरामी भइरहन्थे । त्यसको उपचारका लागि प्राकृतिक पद्धति अपनाइन्थ्यो । लडाईंका क्रममा घाउचोट लाग्थ्यो । त्यसका लागि पानीमा प्राकृतिक जडिबुटीहरु मिसाएर पिउने चलन थियो ।

तातो पानी या चिसोपानी दुवै प्रयोग गर्ने चलन थियो । कुनैबेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत् उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । खासगरी खनिज तत्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो । अहिले पनि नेपालका विभिन्न ठाउँमा पनि यस्ता स्वास्थ्यका लागि उपयोगी हुने खालका झरना छन् । उपचारको अर्को विधि मसाज पनि परापूर्वकालदेखि नै चल्दै आएको हो । बच्चा जन्मेदेखि नै मालिस गर्ने चलन छ हाम्रो समाजमा । 

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । स्पा पहिले उपचार पद्धति थियो । बदलिँदो जीवनशैलीसँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ । सामान्यतः स्पा ३ घण्टाको प्याकेज हुन्छ । साउन स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाजजस्ता हुन्छन् । स्पाभित्र हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, नेल स्पा, स्किन स्पा तथा बडीस्पा पर्छन् । 

स्पा मसाज भनेर गलत हिसाबले बुझ्ने परिपाटी छ हाम्रो समाजमा । तर यो आयुर्वेदिक पद्धतिबाट गरिने उपचार विधि नै हो । स्पाले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । स्पाले रक्तसञ्चार बढाउँछ, रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, थकान कम गराउँछ,  खानामा रुची जगाउँछ, निन्द्रा लगाउन मद्दत गर्छ । शरीर झमझम गरेमा मसाजले ताजा महसुस गराउँछ । जोर्नी दुखेको छ, अनिद्राको समस्या छ, सानो–सानो कुरामा आत्तिने बानी छ भने स्पाले स्पाले स्नायु प्रणालीलाई पुनर्ताजा बनाउँछ र यस्ता समस्या निको पार्न मद्दत गर्छ । स्पा व्यस्त जीवनशैलीलाई सन्तुलित राख्ने उत्तम विधि हो । यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहीत, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो।

तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहन्नुहुन्छ भने पनि स्पा एकदम उपयुक्त माध्यम हो । यसबाट शरीरका हरेक क्षिद्र खुल्छन र शरीरमा भएका विषादी बाहिर निस्कन्छन् । यसबाट नशा च्यापिएको, ढाड दुखेकोजस्ता थुप्रै  समस्याबाट  राहत मिल्छ । शिरोधारा, कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, साउना, फ्रुट फेसियल, बडी, स्क्रब, हट स्टोन मसाज, डिप सेन्स मसाज, फुट बाथलगायत पर्छन् ती सबैका आ–आफ्नै महत्व छन् । मानिसहरु शरीरमा कुनै न कुनै समस्या लिएर आउछन् । कुनै टाउको मात्र मसाज गराउन चाहन्छन्, कोही खुट्टाको त कोही सबै शरीरको मसाज गराउन चाहन्छन् । स्पाले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।