धरान/ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाली नृत्य महोत्सव २०७४ हुने भएको छ । यही चैत्र २२ र २३ गते दुई दिन धरानको सभागृहमा हुने नृत्य महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न लोक नृत्यहरुको प्रस्तुती रहनुको साथै साँस्कृतिक नृत्यहरु प्रस्तुत हुने नेपाली नृत्य महोत्सव –२०७४ का संयोजक तथा प्राज्ञ परिषद सदस्य माधव प्रधानले जानकारी दिएका छन् ।
नेपालको संगित तथा नाट्य विधाको संरक्षण, सम्बद्र्धन र विकास गर्नको साथै अध्ययन अनुसन्धान गर्ने र सम्बन्धित क्षेत्रका विद्वान र प्रतिभाहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । २ दिनसम्म चल्ने धरानको सभागृहमा हुने कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती भक्त श्रेष्ठ (सरु भक्त) तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भिम आचार्यको उपस्थितिसमेत रहने आयोजकले बताएको छ । महोत्सवको पहिलो दिन राष्ट्रिय स्तरका कलाकारहरुको मञ्जुश्री नृत्य, हुडुकेली नृत्य, झ्याउरे, कौरा, सोरठी, झुमरा नृत्यहरु प्रस्तुत हुने तथा दोस्रो दिन धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, इटहरी लगायतका पूर्वका विभिन्न स्थानका कलाकारहरुद्वारा तामाङ सेलो, धिमाल नृत्य, सेब्रु नृत्य, झागड नृत्य, माझि नृत्यलगायतका प्रस्तुतीहरु रहने आयोजकले दाबी गरेको छ । महोत्सवमा धरान उपमहानगरपालिकाको विशेष सहयोग रहेको जनाइएको छ ।