धरान / झन्डै १७ घण्टा पश्चात फिल्म ‘कृ’ का निर्माता सुवास गिरी बुधवार दिउँसो करीब साढे १२ बजे प्रहरीको हिरासतबाट मुक्त भए । फिल्म ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत विना अनुमती युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मा राखिएको आरोप लगाउँदै केही हप्ता अगाडि निर्देशक शम्भु प्रधानले काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गराएका थिए । 
सोही विषयमा छलफलका लागि प्रहरीले मंगलवार साँझ ६ बजे फिल्मका निर्माता गिरीलाई टेकु डाक्यो । तर, दुई पक्षसँगको वार्ता सफल नभएपछि उनीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले मंगलवार साँझ ७ बजे हिरासतमा लिएको थियो । 
यो केशमा निर्माता गिरी नभई अभिनेता तथा निर्माता भुवन केसी फस्नेवाला थिए । किनकी, निर्देशक प्रधानले गिरीविरुद्ध नभई केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डमा ‘कृ’ फिल्म सुवास गिरीको नाममा दर्ता भएको पाइएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि हिरासतमा लिएको हो ।  
बुधवार शम्भु प्रधानलाई क्षतीपूर्ती स्वरुप ११ लाख दिने कागजी सम्झौतापछि निर्माता गिरी रिहा भएका छन् । रिहाई लगत्तै उनले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीले आफूलाई अपहरण शैलीमा हिरासतमा राखेको बताएका छन् । 
उनले छलफलका लागि प्रहरीले आउनु भनेको तर मनोमानी रुपमा क्षतीपूर्ती स्वरुप ११ लाख तिराइएको घट्नाले आफू दुखी भएको लेखेका छन् । 
उनी लेख्छन्, ‘संगीतकारले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदाहुँदै पनि अग्रज दाईहरुबाट यस्तो ब्यवहार के उचित हो ? अग्रजहरुको यस्तो ब्यवहारबाट चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्ने ? अब सबैले सोच्ने बेला आएको छ ।’