काठमाडौं / विश्व क्षयरोग दिवस हरेक वर्ष २४ मार्चका दिन अाज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइदैछ। नेपालमा पनि ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ शनिवार संसारभर क्षयरोग दिवस मनाइँन लागेकाे हाे ।
दिवसका अवसर पारेर राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा विभिन्न संघसंस्थाहरुले जनचेतनाका कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाउने गरेका छन् । सन् १८८२ मा जर्मनका वैज्ञानिक डा. रोबर्ट कोचले क्षयरोग गराउने शूक्ष्म जीवाणू (माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस) पत्ता लागाएका थिए । एक सय वर्षपछि सन् १९८२ मा विश्व स्वास्थ्य संगठनले पहिलो पटक ‘क्षयरोग र फोक्सो रोग विरुद्ध एक हौँ’ भन्ने नाराका साथ अन्तर्रा्ष्ट्रिय स्तरमा कार्यक्रम गरी क्षयरोग दिवास मनाउन सुरु गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । नेपालमा ६० हजार क्षयरोगी भएको केन्द्रको तथ्याङ्क देखाइएको छ । आर्थिक वर्ष २०७३/७४ तथ्याङ्क अनुसार ३१ हजार ७ सय ६४ जना क्षयरोगका विरामी पत्ता लागेको र उनीहरुको उपचार भइरहेको केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर केदारनरसिंह केसीले नयाँ पुराना क्षयरोगका बिरामीको अवस्थालाई हेर्दा वार्षीक २८ हजार विरामी उपचारमा ल्याउनु पर्ने देखिने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकिकृत स्वास्थ्य प्रणाली मार्फत आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ३ सय २१ उपचार केन्द्रहरु, ९६ वटा शहरी डट्स केन्द्रहरु, ६ सय ४ वटा रोग निदान केन्द्र र २७ वटा जीन एक्सपर्ट केन्द्र तथा २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामा क्षयरोगको सेवा प्रदान गरेको छ । यसैगरी औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रबाट क्षयरोगका बिरामीले उपचार पाउने गरेका छन्।
नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका कारण नेपालमा अझै पनि वार्षीक ७ हजार मानिसको मृत्यु हुने डा. केसीले जानकारी दिए । उनले क्षयरोगका कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी वर्षमा स्थानिय ७ सय ३५ वटा निकायलाई क्षयरोग कार्यक्रमका बारेमा अभिमुखिकरण गरिने केसीले जानकारी दिए।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक राजेन्द्र पन्तले व्यवस्थापन कमजोरी भएका कारणले वार्षीक ७ हजार नेपालीको क्षयरोगको कारण मृत्यु हुने गरेको बताए । उनले भने, ‘क्षयरोगको कारण, लक्षण र रोग निदानको लागि औषधि समेत विज्ञानले पत्ता लगाइसकेको छ । तर भौगोलिक विकटता, जनचेतनाको अभाव र रोग लुकाउने प्रवृत्तिले मानिसले अकालमै ज्यान गुमाउन परेको छ।’
‘सरकारको स्वास्थ्य कार्यक्रमहरु स्थानीइ तहमा गइसकेको अवस्था छ । अब स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रबाट सक्रिय भएर लागे भने क्षयरोग मुक्त नेपाल बनाउन सकिन्छ’ उनले भने, ‘नेपालाई क्षयरोग मुक्त बनाउन पहिला त स्थानीय तहका जनप्रतिनिधिले आफ्नो वडा, गाउँपालिका तथा नगरपालिकालाई क्षयरोग मुक्त बनाउँछु भनेर प्रतिबद्धता जनाउँनुपर्छ।’
के हो क्षयरोग?
सामान्यतया क्षयरोग गराउने माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणूले हाम्रो फोक्सोमा संक्रमण गर्दछ। तर, शरीरका अन्य भाग (मिर्गौला, हड्डी तथा जोर्नी, मष्तिस्क झिल्ली, ग्रन्थीहरु, छाला आदि) मा पनि क्षयरोगका जीवाणूले संक्रमण गर्न सक्छ। यी जीवाणू शरीरमा प्रवेश गरेको केही हप्तादेखि वर्षौँपछि पनि क्षयरोगको लक्षण देखा पर्न सक्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र एचआइभी संक्रमित बिरामीलाई क्षयरोग लाग्ने सम्भावाना ज्यादा हुन्छ।
यो जीवाणूले कहिलेकाहीँ सामान्य मान्छेमा संक्रमण भएर पनि स्वास्थ्यमा कुनै लक्षण नदेखाई बस्न सक्छ। यस्तो अवस्थालाई ’ल्याटेन्ट’ भनिन्छ। यो अवस्थामा क्षयरोगको जीवाणू अरुमा पनि सर्न सक्दैन र रोगका लक्षण पनि देखिँदैनन्। तर पछि जुनसुकै बेलामा पनि क्षयरोग देखिन सक्ने भएकाले यो अवस्थालाई समयमै पत्ता लगाई उपचार गर्नु जरुरी हुन्छ।
लक्षणहरु
तीन हप्ता वा सो भन्दा लामो समय खोकी लागिरहनु, छाती दुख्नु, खोक्दा खकारसँगै रगत देखापर्नु, कमजोर हुनु वा छिट्टै थकाइ लाग्नु, खान मन नलाग्नु र तौल घट्दै जानु, साँझ र रातिपख हलुका ज्वरो आइरहनु, शरीरमा भएका ग्रन्थीहरु सुनिनु, क्षयरोग लागेका व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट यो रोग सर्न सक्छ। क्षयरोगीले बोल्दा, गाउँदा, हाच्छिउँ गर्दा, खोक्दा हावामार्फत् नजिकको व्यक्तिमा पुनः श्वासप्रश्वासको माध्यमबाट यी जीवाणू फोक्सोमा प्रवेश गर्दछन्। फोक्सोमै पनि यसले आफ्नो बासस्थान बनाउन सक्छ भने रगतको माध्यम हुँदै शरीरका अन्य भागमा पनि संक्रमण गराउन सक्ने चिकित्सक बताउँछन् ।