हङकङ / — किरात याक्थुङ चुम्लुङ हङ्कङको १४औँ महाधिवेशन सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न भएको छ। महाधिवेशनले चार्टर्ड इन्जिनियर श्याम कुमार इङ्नामलाई प्रथम वरियताको अध्यक्ष र लक्ष्मी पन्दाकलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

संस्थाका सदस्यहरूबीच भएको आपसी समझदारी र सहमतिअनुसार नेतृत्वको कार्यविभाजन गरिएको हो। जसअनुसार पहिलो १८ महिनासम्म लक्ष्मी पन्दाकले संस्थाको दैनिक कार्यसञ्चालन तथा कार्यकारी जिम्मेवारी सम्हाल्नुहुनेछ भने दोस्रो १८ महिनामा श्याम कुमार इङ्नामले नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ। आगामी १५औँ महाधिवेशनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी गरिएको यो सहमतिलाई संस्थाभित्रको एकता, सहकार्य र समझदारीको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।

नवनिर्वाचित प्रथम वरियताका अध्यक्ष श्याम कुमार इङ्नाम हङ्कङ पोलिटेक्निक युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरेका अनुभवी इन्जिनियर हुनुहुन्छ। उहाँले कतार, बेलायत र हङ्कङलगायतका देशमा अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा इन्जिनियरिङ क्षेत्रमा लामो समय काम गर्नुभएको छ।

हाल हङ्कङमा चार्टर्ड इन्जिनियरका रूपमा कार्यरत इङ्नाम सन् २०१४ देखि आफ्नै ‘Summan Engineering Company’ का चार निर्देशकहरूमध्ये एकका रूपमा कार्यरत हुनुहुन्छ। साथै, Ocean Building को २५औँ तल्लामा रहेको SHEQ Academy Training Centre का निर्देशकसमेत रहनुभएका उहाँले निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न ट्रेड तालिम सञ्चालन तथा दक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने कार्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ।

इङ्नाम लामो समयदेखि किरात समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान र हकहितका क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँको व्यावसायिक अनुभव, सामाजिक सक्रियता र समुदायप्रतिको प्रतिबद्धताले चुम्लुङको संस्थागत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस्तो छ नयाँ कार्यसमिति

महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिमा अध्यक्षहरूबीच कार्यकाल र जिम्मेवारी बाँडफाँट गरिएको छ।

अध्यक्ष (प्रथम वरियता): श्याम कुमार इङ्नाम

अध्यक्ष: लक्ष्मी पन्दाक

वरिष्ठ उपाध्यक्ष: खगेन्द्र लावती

उपाध्यक्ष: रुबि मादेन

उपाध्यक्ष: मनिता साम्बा

महासचिव: मौसम इम्बुङ (फुलन्देको बाउ)

सचिव: हाङ्स्रोङ युन्छोमा आङ्बुहाङ रामकुमारी

कोषाध्यक्ष: रविन कुमार नाल्बो

सह–कोषाध्यक्ष: भक्तराज वनेम

सदस्यहरू: हेमराज आङ्छङ्बो लिम्बु, माया खापुङ, बसन्त आङ्बुहाङ, दिलु थेवे, चेन्द्रु मोराहाङ, लोकेन्द्र हुक्पाचोङ्बाङ, भिम तुम्बाहाङ्फे, सुदिप थक्लुङ र हाङ चेम्जोङ रहेका छन्।

महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन हुनुले चुम्लुङ हङ्कङभित्रको आपसी एकता र सहकार्यलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्। नयाँ नेतृत्वले याक्थुङ भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै समुदायको सामाजिक तथा संस्थागत विकासमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

इङ्नाम र पन्दाकको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले संस्थालाई अझ एकताबद्ध, सबल र प्रभावकारी बनाउँदै हङ्कङस्थित याक्थुङ समुदायको हित र पहिचान संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गर्ने विश्वास समुदायले लिएको छ।

IMG-20260819-WA0001