धरान / दार्जिलिङका डाँडाकाँडा बिहानको घामसँगै उज्यालिँदा त्यहाँका चियाबारी, बाटाघाटा र बस्तीमा एउटा नाम पनि स्मृतिको उज्यालोसँगै फैलिन्छ । जीवन छोटो थियो, तर उनको सम्झनाले बोकेको यात्रा लामो छ। उनको शारीरिक उपस्थितिको अन्त्य भएको तेह्र वर्ष बितिसक्दा पनि उनको नाम केवल परिवारको स्मृतिमा सीमित छैनः त्यो दार्जिलिङको नेपाली साहित्यिक गतिविधि, सिर्जना र नयाँ पुस्ताका प्रतिभाको सम्मानसँग जोडिएको छ। उनी हुन इजा हाङ्मा सुब्बा।

हरेक वर्ष अगस्ट महिनामा दार्जिलिङमा आयोजना हुने इजा स्मृति दिवस आज एउटा साहित्यिक उत्सवको रूप लिइसकेको छ। एउटा आमाले छोरीको सम्झनालाई आँसुमा मात्र सीमित नराखी अक्षर, पुस्तक, सिर्जना र सम्मानमा रूपान्तरण गरेकी छन्। त्यसैले इजाको कथा एउटा असामयिक मृत्युको कथा मात्र होइन, मृत्युलाई स्मृतिमा र स्मृतिलाई सिर्जनामा बदल्ने आमाको अद्भुत प्रयत्नको कथा पनि हो।

इजा हाङ्मा सुब्बाको जन्म १३ अगस्ट १९९२ मा भएको थियो। उनको निधन ६ फेब्रुअरी २०१३ मा भयो। जीवनको गणितमा हेर्दा उनी केवल बीस वर्षको उमेर आसपासमै संसारबाट बिदा भइन्। जुन उमेरमा भविष्यका सपनाहरू आकार लिँदै हुन्छन्, त्यही उमेरमा उनको जीवनयात्रा टुङ्गियो। तर उनको जीवनलाई केवल उमेरको छोटो रेखाले नाप्न सकिँदैन।

उनकी आमा मञ्जुला तामाङका अनुसार इजा बाल्यावस्थादेखि नै छात्रावासमा बसेर अध्ययन गर्थिन्। उनी परिवार र आफन्तबीचको सम्बन्धलाई महत्त्व दिने, टाढा रहेका आफन्तलाई पनि सम्बन्धको डोरीले जोडिराख्न चाहने स्वभावकी थिइन्। उनको सपना आफ्नो अध्ययन पूरा गरेपछि आफ्नै थलो दार्जिलिङमा आफ्नै समुदायका लागि स्वावलम्बी भएर केही गर्ने थियो। त्यो सपना पूरा हुन पाएन।

मानिसको मृत्युले उसको शरीरलाई संसारबाट हटाउँछ, तर उसका सपना, सम्बन्ध र स्मृतिलाई हटाउन सक्दैन। इजाको जीवनमा पनि यही भयो। उनी आफैँ आफ्नो सपना पूरा गर्न फर्किन सकिनन्, तर उनका अधुरा सपनाहरूलाई उनकी आमाले साहित्यिक कर्ममार्फत निरन्तरता दिइरहेकी छन्।

इजाको निधनपछि मञ्जुला तामाङ र नवीन सुब्बाले इजाको स्मृतिमा इजा हाङ्मा प्रेयर हल निर्माण गरे। त्यसपछि २०१४ देखि साहित्यिक कार्यक्रम, बालपत्रिका र विभिन्न लेखकका पुस्तक प्रकाशन गर्ने काम सुरु भयो। यही क्रमले पछि इजा प्रकाशनको रूप लियो। मञ्जुला तामाङले  इजा प्रकाशन स्थापना गर्नुको मूल उद्देश्य साहित्य सेवा गर्नु र छोरीका अधुरा इच्छालाई पूरा गर्ने माध्यम खोज्नु रहेको बताएकी छन्।

इजा अब घरको एउटा कोठामा राखिएको तस्बिर मात्र रहिनन्। उनी पुस्तकका पानामा आउन थालिन्। कविताका हरफमा भेटिन थालिन्। नयाँ स्रष्टाका सपनामा मिसिन थालिन्। पुरस्कार पाउने युवा कविको उत्साहमा उनको नाम सुनिन थाल्यो। एउटा आमाको निजी दुःख विस्तारै सामूहिक साहित्यिक स्मृतिमा परिणत भयो।

सामान्यतः स्मृति दिवसहरू बितेका व्यक्तिलाई सम्झने औपचारिक अवसर बन्छन्। तर इजा स्मृति दिवसले स्मरणलाई सिर्जनात्मक कर्ममा परिणत गरेको देखिन्छ। यसैले यो दिवस केवल श्रद्धाञ्जलीको दिन नभई नेपाली भाषा र साहित्यका लागि एउटा सक्रिय मञ्च बनेको छ।

इजा प्रकाशनको यात्राबारे प्रकाशित सामग्रीअनुसार विगतका वर्षहरूमा यस संस्थाबाट विभिन्न साहित्यिक कृति प्रकाशित भएका छन् र थुप्रै स्रष्टा तथा प्रतिभालाई सम्मान गरिएको छ। २०२६ को १३ औँ इजा स्मृति दिवससम्म आइपुग्दा इजाको स्मृतिमा प्रकाशनबाट १६ वटा कृति प्रकाशित भइसकेका थिए। १३ संस्करणको पुरस्कार वितरण पनि यही अगस्त १० मा सम्पन्न भएको छ । 

दार्जिलिङको नेपाली साहित्यिक परिवेशमा नयाँ पुस्ताका स्रष्टालाई मञ्च दिनु आफैँमा महत्वपूर्ण काम हो। विशेषतः साहित्यिक गतिविधिमा निरन्तरता, प्रकाशनको अवसर र युवा प्रतिभाको पहिचान आवश्यक रहेको अवस्थामा इजा प्रकाशनले एउटा फरक बाटो रोजेको देखिन्छ।

इजा प्रकाशनको उद्देश्य व्यापारिकभन्दा साहित्यिक र सामाजिक प्रकृतिको रहेको संस्थापक मञ्जुला तामाङको भनाइबाट पनि बुझिन्छ। उनले साहित्यलाई ‘अमृत’सँग तुलना गर्दै केही थोपा साहित्यले पनि आत्मसन्तुष्टि प्रदान गर्ने बताएकी छन्। त्यसैले इजा नाम एउटा व्यक्तिको नाममा सीमित छैन। त्यो माया, स्मृति र साहित्यको त्रिकोण बनेको छ।

१२ औँ इजा स्मृति दिवसमा पनि यही भाव स्पष्ट देखिएको थियो। कार्यक्रममा ‘इजा स्मृति युवा साहित्य सम्मान’ आसामका युवा स्रष्टा सन्तोष राउतको ‘ऐन फ्रेङ्को देशमा’ कृतिलाई प्रदान गरिएको थियो। यसअघि कालेबुङकी निर्दोषिका तामाङ र दार्जिलिङका कर्ण विरहले पनि इजा स्मृति युवा साहित्य सम्मान प्राप्त गरिसकेका थिए।

यस वर्ष भने इजा स्मृति दिवसको १३औँ संस्करणमा राजकुमार तिम्सिनालाई चौथो इजा स्मृति युवा साहित्यिक पुरस्कार प्रदान गरिएको छ। कवयित्री मञ्जुला तामाङ सुब्बाको कविता सङ्ग्रह ‘सुत्केरी सडक’ पनि यही अवसरमा लोकार्पण गरिएको छ। बरिष्ठ साहित्यकार सुभद्रा बम्जनले लोकार्पण गरेकी थिइन ।

यसले एउटा सुन्दर परम्परालाई निरन्तरता दिएको छ—इजालाई सम्झने, नयाँ सिर्जनालाई जन्माउने र नयाँ पुस्तालाई हौसला दिने। 

इजाको स्मृति स्थिर छैन। त्यो हरेक वर्ष नयाँ पुस्तक, नयाँ लेखक र नयाँ सम्मानका रूपमा चलायमान भइरहेको छ।

दार्जिलिङ नेपाली भाषा र साहित्यको इतिहासमा लामो परम्परा बोकेको भूगोल हो। साहित्यको संरक्षण केवल पुराना पुस्तक जोगाएर हुँदैन। त्यसका लागि नयाँ लेखक जन्मिनुपर्छ, उनीहरूले लेखेका कुरा छापिनुपर्छ, पाठकसम्म पुग्नुपर्छ र सिर्जनशील युवालाई समाजले सम्मान गर्नुपर्छ। इजा स्मृति दिवसले यही कामलाई एउटा संस्कारमा बदलिरहेको छ। 

इजाले आफ्नो समुदायका लागि केही गर्ने सपना देखेकी थिइन्। उनी आफैँले त्यो सपना पूरा गर्न पाइनन्। तर उनको नाममा भएको साहित्यिक अभियानले आज अरूलाई केही गर्ने अवसर दिइरहेको छ।

एक युवतीको जीवन अधुरै रोकियो, तर उनको नामबाट सुरु भएको साहित्यिक यात्रा निरन्तर अघि बढिरहेको छ। एउटा परिवारले भोगेको निजी पीडा अहिले एउटा ठूलो भाषिक समुदायको साझा सांस्कृतिक सम्पत्ति बन्दै गएको छ।

इजाको जीवनको सबैभन्दा ठूलो परिचय सायद यही हो—उनी आफैँले धेरै सिर्जना गर्न पाइनन्, तर उनको स्मृतिले धेरै सिर्जनालाई जन्म दिने वातावरण बनाइरहेको छ।

इजाको स्मृतिमा आयोजित कार्यक्रमहरूमा मञ्जुला तामाङको भावुक उपस्थिति बारम्बार देखिन्छ। १२औँ स्मृति दिवसमा पनि उनले छोरीको सम्झना गर्दै बोल्दा कार्यक्रमस्थल भावुक बनेको थियो। उनले छोरीका लागि स्मारक बनाउनु मात्र पर्याप्त नहुने, बरु छोरी किताबका पाना, कविताका हरफ र पाठकका मनमा बाँचिरहोस् भन्ने आफ्नो चाहना व्यक्त गरेकी थिइन्।

ढुङ्गाको स्मारक समयसँगै पुरानो हुन सक्छ। धातुको मूर्ति खिया लाग्न सक्छ। तस्बिर धमिलो हुन सक्छ। तर अक्षरमा बाँचेको स्मृति पुस्तौँसम्म यात्रा गर्न सक्छ।

आज इजा हाङ्मा सुब्बालाई सम्झँदा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—बीस वर्षको छोटो जीवनले कसरी तेह्र वर्ष लामो स्मृति जन्मायोरु

उत्तर सायद उनको व्यक्तिगत उपलब्धिमा होइन, उनको स्मृतिलाई परिवारले दिएको अर्थमा खोज्नुपर्छ। दार्जिलिङका पहाडमा हरेक वर्ष अगस्ट आउँदा इजाको स्मृति फेरि जाग्छ। सभाहलमा दीप बल्छ, तस्बिरमा फूल चढ्छ, कविता सुनिन्छ, पुस्तक सार्वजनिक हुन्छ, कुनै युवा स्रष्टाले पुरस्कार ग्रहण गर्छ। अनि लाग्छ—इजा कतै गएकी छैनन्।

ejaa