धरान । धरानमा पहिलोपटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला फुटबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले डी–१९ क्लब धरान–१९ ले यही कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको एक टोलीसहित आठ टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा एपीएफ क्लब, नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ ।

डी–१९ क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले धरानलाई महिला फुटबलको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताले धरान तथा कोशी प्रदेशका महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर दिनेछ ।

‘स्थानीय खेलाडीले स्तरीय खेलाडीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दा उनीहरूको क्षमता विकासमा ठूलो सहयोग पुग्छ,’ राईले भन्नु भयाे, ‘प्रतियोगिताले महिला खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढ्न पनि प्रेरित गर्नेछ ।’

रात्रिकालीन खेलका कारण प्रतियोगिताले धरानमा महिला फुटबलप्रतिको आकर्षण बढाउने र खेल पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने आयोजकको अपेक्षा छ ।