हङकङ । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्सदाइ० र उहाँको नेतृत्वको अन्तर्राष्ट्रिय आरोही टोलीको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। कार्यक्रममा सहभागीहरूले पुर्जाको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले उहाँलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुपर्ने माग गरेका छन्।

हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (एचके नुट्रा)को आयोजनामा जोर्डनस्थित याक्थुङ चुम्लुङको सभाहलमा सम्पन्न कार्यक्रममा दिवंगत आरोहीहरूको सम्मानमा दीप प्रज्वलन, पुष्पाञ्जली तथा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा एचके नुट्राकी सहसचिव सुष्मा गुरुङले दुर्घटनामा ज्यान गुमाएका १० जना आरोहीको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो। हिमपहिरोमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित अमेरिका, ओमान, पाकिस्तान र चीनका चार आरोहीको निधन भएको थियो।

शोकसभामा बोल्दै हङकङस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले राज्यस्तरबाट हुनुपर्ने श्रद्धाञ्जली कार्यक्रम प्रवासी नेपाली संस्थाले आयोजना गर्नु प्रशंसनीय भएको बताउनुभयो।

एचके नुट्राका सल्लाहकार राजकुमार राईले निर्मल पुर्जाले पर्वतारोहणमार्फत नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँ केवल सफल पर्वतारोही मात्र नभई लेखक, सामाजिक अभियन्ता तथा बेलायती गोर्खा सेनाका पूर्वविशेष फोर्स सैनिकसमेत रहेको स्मरण गराउनुभयो।