धरान । प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि जितेको छ।
डिपो माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगिताको फाइनलमा प्रभातले इटहरीको पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अंकले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।
फाइनल खेलको पहिलो क्वाटर प्रभातले ५–४ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो क्वाटर ११–१० ले पाराडाइजको पक्षमा गए पनि प्रभातले तेस्रो क्वाटर ७–३ तथा चौथो क्वाटर १६–१२ ले जित्दै समग्रमा आठ अंकको अग्रता बनायो।
उपाधिसँगै प्रभातले २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता पाराडाइजले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। विजता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य ताथ पूर्व सामाजिक विकास मन्त्री पाँचकर्ण राईले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भयो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रभातका नेमसाङ मगर म्यान अफ द म्याच घोषित हुनु भयो। त्यसैगरी प्रतियोगिताभरको प्रदर्शनका आधारमा पाराडाइजका सक्षम तामाङ उदयमान खेलाडी, प्रभातका शुसान्त उराव सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) तथा हिमालयन मेघा कलेजका संगम ठाकुर सर्वाधिक अंककर्ता घोषित हुनु भयो।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको थियो।
स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजित प्रतियोगिता डिपो माध्यमिक विद्यालयका पूर्वअध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष लिम्बूप्रति सम्मानस्वरूप प्रत्येक वर्ष आयोजना हुँदै आएको विद्यालयका प्रिन्सिपल राजकुमार राईले जानकारी दिनु भयो । लिम्बुको विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीका कारण २०७८ साउन १५ गते उनको निधन भएको थियो।



















