धरान । यलम्बर सामुदायिक ब्याडमिन्टन समूह, धरान–८ को आयोजनामा स्वर्गीय चन्द्रप्रसाद संयक र बुकुलमाया चेम्जोङको स्मृतिमा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
पुरुषतर्फ अशोक तामाङ र सञ्जय मगरको जोडीले बुद्ध तामाङ र तेज आम्बुहाङको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो। यस्तै महिलातर्फ मञ्जु राई र प्राप्ती राईको जोडीले कविता राई र याङला शेर्पाको जोडीलाई २१–१४ र २१–३ को फराकिलो अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भयो।
यस्तै पुरुषबाट तेश्राे स्थान प्रदिप राई र विधान लिम्बू तथा याेगराज लिम्बू र अनिल राईकाे समुह हुनु भयाे । महिला तर्फ सविना राई र विशका राई तथा सर्मिला राई र हेमा गुरुङ तेश्राे हुनु भयाे ।
प्रतियोगितामा महिलाका ८ टिमसहित कुल २४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख मीन कार्की, प्रायोजकका तर्फबाट समाजसेवी सूर्य पन्ध्याक, समूहका अध्यक्ष मुगाधन राई, कोषाध्यक्ष योजराज राई तथा प्रायोजक पुष्पा संयकलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मीन कार्कीले खेलकुदले स्वस्थ जीवनशैलीसँगै अनुशासन, आपसी सद्भाव र सामाजिक एकतालाई बलियो बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समुदायमा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न स्थानीय स्तरमा यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।

समूहका अध्यक्ष मुगाधन राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी खेलाडी, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र बृहत् बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
समापन समारोहमा प्रायोजकका तर्फबाट समाजसेवी सूर्य पन्ध्याकले प्रतियोगितालाई आगामी वर्ष अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै समुदायमा खेलकुदको विकासका लागि आफ्नो सहयोग निरन्तर रहने बताए।
आइतबार यलम्बर सामुदायिक वन उपभोक्ता समूहको हलमा सम्पन्न प्रतियोगिताको प्रायोजन स्वर्गीय दम्पतीकी छोरी पुष्पा संयकले गर्नु भएको थियो । कार्यक्रम समूहका अध्यक्ष मुगाधन राईको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको संयोजन रामकृष्ण राई र मनिष मगरले गर्नु भएको थियो ।




















