• बज्रकुमार राई

हङकङ /  युवा कवि उत्तम लिम्बुको एकल काव्य प्रस्तुति ‘कविता कन्सर्ट’ आगामी जुलाई ५ मा हङकङमा हुने भएको छ। जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टमा हुने कार्यक्रमको आयोजना द नेप्लिज एसोसिएसन हङकङले गरेको हो। आयोजकले कार्यक्रम व्यावसायिकभन्दा पनि कविताको सिर्जना, प्रस्तुति र साहित्यिक संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ।

धनकुटाको कुरूलेतेनुपामा जन्मिएका लिम्बुले कवितालाई पर्फर्मेन्स पोएट्रीको शैलीमा प्रस्तुत गर्दै आएका छन्। वि।सं। २०७३ मा प्रकाशित उनको कविता सङ्ग्रह ‘क्यालिग्राफी’ चर्चित कृतिमध्ये एक हो। उनले नेपालका विभिन्न सहरमा कविता कन्सर्ट गरिसकेका छन्। सन् २०१७ मा आयोजित सार्क साहित्य सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व पनि गरेका थिए।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति दुई सय हङकङ डलरको लन्च कुपन लिनुपर्ने व्यवस्था गरिएको छ। उक्त रकम कविको साहित्यिक अभियान र संस्थाका आगामी साहित्यिक गतिविधिमा खर्च गरिने जनाइएको छ।

कार्यक्रमको संयोजनमा द नेप्लिज एसोसिएसन हङकङका अध्यक्ष प्रदीप थापासँगै साहित्यकार बालिका बान्तवा र रोशन यक्सो सक्रिय छन्।

कवि लिम्बु सम्भव समूह, नेपालसँग आबद्ध छन्। आयोजकले हङकङमा रहेका नेपालीभाषी साहित्यप्रेमीलाई कार्यक्रममा सहभागी भई कविको सिर्जनात्मक यात्रालाई साथ दिन आग्रह गरेको छ।