हङकङ / हङकङमा रहेका धरानेहरूको हकहितका लागि सन् १९९९ मा स्थापित धरान हङकङ मञ्च(फोरम) को १२औँ अधिवेशन आइतबार( २८ जुन) सम्पन्न भएको छ। हङकङको जोर्डनस्थित किरात याक्थुम चुम्लुङको हलमा आयोजित अधिवेशनले संजोक राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष रविन तामाङ, सचिव विकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई (सन्जु) निर्वाचित हुनुभएको छ। यसैगरी, कार्यसमिति सदस्यहरूमा रोशन लिम्बू, किशोर लिम्बू, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बू, खगेन्द्र लिम्बू (कैलास) र उदय लिम्बू रहनुभएको छ।
अधिवेशनमा मञ्चका संस्थापक इन्द्र वनेमको संयोजकत्वमा पूर्व अध्यक्ष विष्णु पाख्रिन र नानीचन्द्र लिम्बु सम्मिलित निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हाे । शपथ ग्रहणपश्चात् नवनिर्वाचित अध्यक्ष संजोक राईले हङकङमा रहेका धरानेहरूलाई एकताबद्ध गर्दै संस्थालाई थप उचाइमा पुर्याउने र धरानको विकासका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङले धरानको ऐतिहासिक महत्त्व र फोरमको भूमिकाको प्रशंसा गर्नुभयो। महासंघकी पूर्व अध्यक्ष रिता गुरुङले धरान हङकङ फोरमलाई महासंघको मेरुदण्डको संज्ञा दिनुभयो। महासंघका अर्का पूर्व अध्यक्ष प्रदीप थापाले धरानको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा फोरमसँग सहकार्य गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो।
कार्यक्रममा धरान युथ एशोसिएसनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष शमसेर लिम्बू, धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राई र जीवन यात्रा समूहका प्रतिनिधि विक्रम आलेलगायतको उपस्थिति थियो।



















