धरान / नेपाल चेम्बर अफ कमर्स, हङकङले नेपाली महावाणिज्य दूतावास हङकङको परिसरमा गौतम बुद्धको प्रतिमा स्थापना गरेको छ । केही दिन अघि कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि मूर्ति स्थापना गरिएको हो ।
बुद्ध प्रतिमा स्थापना समितिका संयोजक मनोज गौतमले दूतावासमा बुद्ध प्रतिमा स्थापनाले नेपालको पहिचान गराउनु भएको जानकारी गराउनु भएको छ । उहाँले गौतम बुद्धका शान्ति, करुणा र सहिष्णुताका सन्देशलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाह गर्न प्रतिमा स्थापना गरिएको बताउनु भयो ।
कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले दूतावासमा बुद्ध प्रतिमा स्थापना हुनुले सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गर्नु भयो ।
नेपाल चेम्बर अफ कमर्स, हङकङका अध्यक्ष शशी मदन राईले करिब ४० हजार हङकङ डलरको लागतमा बुद्ध प्रतिमा स्थापना गरिएको जानकारी दिनु भएको छ । कार्यक्रममा चेम्बरका उपाध्यक्ष धिराजकुमार साम्पाङ, चेम्बरका संरक्षक बेद खड्का, सल्लाहकारद्वय कुलप्रसाद गुरुङ र प्रितम श्रेष्ठ, नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगर, हङकङ नेपाली महासंघकी सल्लाहकार रिता गुरुङलगायत नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको चेम्बरका सदस्य बज्रकुमार राईले जानकारी दिनु भयो ।
औपचारिक कार्यक्रमपछि बौद्ध धर्मगुरु खेन्पो कर्मा ग्याल्पो लामा र टासी लामाद्वारा बुद्ध प्रतिमामा विधिवत् प्राण प्रतिष्ठा गरिएको थियो । तस्विरः सौजन्यः बज्रकुमार राई÷हङकङ



















