धरान / फ्युल फर फेथ र धरान उपमहानगरपालिका वडा नं‍. १५ को साझेदारीमा एकदिने करेसाबारी तथा कौसीबारी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ। असार ४ गते वडा नं. १५ मा आयोजित तालिममा २७ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता फ्युल फर फेथका अध्यक्ष केफास रणपहेलीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. १५ का वडा अध्यक्ष नरेश इवराम सहभागी हुनुभएको थियो। संस्थाले किसानका लागि राम्रो काम गरेको वडाध्यक्ष इवारामले बताउनु भयो ।  वडा अध्यक्ष नरेश इवरामले आफ्नो १९ वर्षको सामाजिक यात्रामा यस्ता प्रकृतिको कार्यक्रम पहिलोपटक अनुभव गर्न पाएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सामग्रीको सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय सरकारले पनि यस्ता प्रयासलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजिकरण धरान उपमहानगरपालिकाको कृषि शाखाका कृषि अधिकृत नगेन्द्र तामाङले गर्नु भएको थियो । “घर–घरमा पोषणयुक्त तरकारी, स्वस्थ परिवार र आत्मनिर्भर समुदाय” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई घरायसी तरकारी उत्पादन, पोषण सुरक्षा तथा सीमित स्थानको प्रभावकारी उपयोगबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

karesa bari

कार्यक्रममा सहभागी प्रत्येक व्यक्तिलाई करिब ९ हजार रुपैयाँ बराबरका कृषि सामाग्री, बीउ, बिरुवा तथा आवश्यक कृषि उपकरणहरू वितरण गरिएको संस्थाका अध्यक्ष केफास रणपहेलीले जानकारी दिनु भयो । 

संस्थाका सल्लाहकार गजेन्द्र लाम्जेलले विभिन्न व्यक्ति तथा निकायको सहयोग र सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनहरूमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

यसै गरि शुक्रबार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१, जण्डौल मा पनि वडा अध्यक्ष मोहम्मद सब्जुल खलिफाको प्रमुख आतिथ्यतामा सोही प्रकारको एकदिने करेसाबारी तथा कौसीबारी खेती तालिम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो।

संस्थाका कोषाध्यक्ष अमृत राना मगरका अनुसार दुवै कार्यक्रम करिब ५ लाख रुपैयाँको बजेटमा सम्पन्न भएका हुन्। फ्युल फर फेथले हाल धरान–१५, काठेपुल स्थित आफ्नै संगीत विद्यालय सञ्चालन गरिरहेको छ। संस्थाका सचिव प्रतिशा लाम्जेलका अनुसार संस्थाले संगीत, सञ्चार तथा सीपमूलक कार्यक्रममार्फत युवा, महिला तथा आवश्यकतामा रहेका समुदायका व्यक्तिहरूलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

संस्थाले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार तालिम, क्षमता विकास तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

12