धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब ४७ लाख ८८ हजार ७ सय रुपैयाँ बराबरका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग प्राप्त भएको छ । पेष्ट प्रो सोलुसन प्रा.लि. ले सोमबार एक औपचारिक कार्यक्रममार्फत उक्त सामग्री प्रतिष्ठानलाई साेमबार हस्तान्तरण गरेको हो ।

प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सहयोगको अपिल गरेपछि कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको जनाएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठलाई कम्पनीकी प्रोपाइटर सुप्रिया माझी (वनेपाली) र उहाँका श्रीमान दिपक वनेपालीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नु भएकाे थियाे । 

सहयोग अन्तर्गत अस्पताल, क्लिनिक तथा प्रयोगशालामा प्रयोग हुने १८ प्रकारका उपकरण तथा तिनका पार्ट्सहरू प्रदान गरिएको छ । जसमा बिरामीलाई अक्सिजन उपलब्ध गराउन प्रयोग हुने फ्लोमिटर, कफ तथा थुक निकाल्ने सक्सन मेसिन, स्टेरिलाइजेसनका लागि प्रयोग हुने अटोक्लेभसम्बन्धी उपकरण, प्रेसर गेज, विभिन्न साइजका ड्रेसिङ ड्रम, सर्जरी तथा जाँचका लागि आवश्यक ह्यालोजन बत्ती, प्रयोगशालामा प्रयोग हुने टेस्ट ट्युब स्ट्यान्डलगायत सामग्रीहरू रहेका छन् । साथै उपकरण सञ्चालनमा आवश्यक पर्ने विभिन्न इलेक्ट्रिकल पार्ट्सहरू पनि सहयोगमा समेटिएका छन् ।

प्रतिष्ठानका अनुसार हालसम्म प्राप्त सहयोगमध्ये यो सबैभन्दा ठूलो मूल्य बराबरको सहयोग हो । विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको र यसले सेवा प्रवाहमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

उपकुलपति श्रेष्ठले प्रतिष्ठानको विकास र सुदृढीकरणका लागि आन्तरिक मात्र नभई बाह्य समुदायको समेत साथ आवश्यक रहेको बताउनु भयाे । उहाँले नगरबासी तथा सरोकारवालासँग गरिएको आह्वान सकारात्मक रूपमा परिणत भइरहेको बताउनु भयाे । 

प्रतिष्ठानलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित यस्ता सहयोगहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएकाे  दिपक बनेपालीले बताउन ुभयाे ।