धरान । गोर्खा सेमिट्रिज ट्रष्ट हङकङको आयोजनामा यही जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुन गइरहेको सातौँ गोर्खा ट्रेलब्लेजर रनमा नेपालबाट धरानका दुई खेलाडी सहभागी हुने भएका छन्। तेस्रो गोर्खा ट्रेलब्लेजर धरानका महिला तथा पुरुष विजेता पुष्पा लिम्बु किराँति सेर्मा र सरोज लिम्बु उक्त प्रतियोगितामा सहभागिता जनाउन हङकङ प्रस्थान गर्ने गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ र प्रशासन विभाग प्रमुख भोजानन्द राईले शुक्रबार खेलाडीहरूलाई शुभकामना दिँदै बिदाइ गर्नु भयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताले देशको पहिचान र गौरव बढाउने उपाध्यक्ष आचार्यले विश्वास व्यक्त गनुृ भयो । ।
बिदाइ कार्यक्रममा गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र प्याराग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भूपाल चाम्लिङ राईको पनि उपस्थिति रहेको थियो।
वीर गोर्खाहरूले देश र विश्वका विभिन्न स्थानमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको सम्मान र स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर रनको यो सातौँ संस्करण हो। यस प्रतियोगिताले गोर्खा इतिहास र साहसिक परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका सचिव विकास चाम्लिङ राईले बताए ।
यता गोर्खा सेमिट्रिज ट्रष्ट नेपालले विगत तीन वर्षदेखि धरानमा समेत गोर्खा ट्रेलब्लेजर आयोजना गर्दै आएको छ। धरान–१८ स्थित रत्न चोकबाट सुरु भएर धरान–२० स्थित गोर्खा स्मृति पार्कमा समापन हुने यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्दै आएको छ।
तेस्रो संस्करणका विजेता महिला र पुरुष धावकहरु हङकङमा हुने प्रतियोगितामा सहभागी हुन लागेका हुन्। औपचारिक रूपमा धरानमै बिदाइ कार्यक्रम आयोजना गर्ने तयारी भए पनि खेलाडीहरूको भिसा ढिलो लागेका कारण धरानबाट बिदाइ गर्न नसकिएको गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिनु भएको छ । अन्य दुई जना धावको भने भिसा नलागेका कारण प्रतियोगितामा सहभागी हुन नपाएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा धरानका खेलाडीहरूको सहभागिताले स्थानीय खेल क्षेत्रलाई थप उत्साह र प्रेरणा दिने अपेक्षा गरिएको छ। ३० र १२ किलोमिटर विधामा शनिबार बिहान हङकङको न्यु टेरिटोरिजस्थित लाउसुइ हेङ कन्ट्री ट्रेलमा दौड सुरु हुने छ ।
गोर्खा ट्रेलब्लेजरको पृष्ठभूमि
हङकङमा प्रत्येक वर्ष आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर रन केवल एक खेल प्रतियोगिता मात्र होइन, यो वीर गोर्खा सैनिकहरूको साहस, त्याग र योगदानप्रति समर्पित स्मरण र सम्मानको कार्यक्रम भएको यस प्रतियोगिताका संस्थापक देवराज राई बताउनु हुन्छ । । गोर्खा सेमिट्रिज ट्रष्ट हङकङको आयोजनामा हुने यो अन्तर्राष्ट्रिय ट्रेल रनले खेल, इतिहास र स्मृतिलाई एउटै मञ्चमा जोड्ने विशिष्ट पहिचान बनाएको छ।
उहाँका अनुसार गोर्खा ट्रेलब्लेजरको सुरुवात हङकङमा कार्यरत पूर्व गोर्खा सैनिक तथा उनीहरूसँग सम्बन्धित समुदायको पहलमा गरिएको हो। बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिकहरूले हङकङको सुरक्षा, विकास र शान्तिमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको सम्झनामा यो दौड आयोजना गरिँदै आएको छ। प्रतियोगिता गोर्खा समाधिस्थल आसपासका ऐतिहासिक र चुनौतीपूर्ण ट्रेलहरूमा सञ्चालन हुन्छ।
गोर्खा ट्रेलब्लेजर सामान्य सडक दौडभन्दा फरक, ट्रेल रन हो। उकालो–ओरालो, जंगल, पहाडी बाटो र प्राकृतिक ट्रेल हुँदै दौडिनुपर्ने भएकाले यसमा शारीरिक क्षमता, सहनशीलता र मानसिक दृढता आवश्यक पर्छ। विभिन्न उमेर समूह र क्षमताअनुसार दूरी निर्धारण गरिन्छ, जसमा पुरुष र महिला दुवैको सहभागिता रहने गर्दछ।
यस प्रतियोगितामा हङकङसहित नेपाल, बेलायत तथा अन्य देशबाट खेलाडीहरूको सहभागिता रहँदै आएको छ। विशेषगरी नेपालका ट्रेल रनरहरूका लागि गोर्खा ट्रेलब्लेजर अन्तर्राष्ट्रिय अनुभव लिने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ।
गोर्खा ट्रेलब्लेजर केवल प्रतिस्पर्धा मात्र नभई एक स्मृति यात्रा हो। दौडसँगै गोर्खा सैनिकहरूको इतिहास, उनीहरूको बलिदान र अनुशासनको चर्चा गरिन्छ। यसले नयाँ पुस्तालाई गोर्खा पहिचान र योगदानबारे जानकारी गराउने माध्यमको रूपमा पनि काम गर्दै आएको छ।
"Run to Remember" भन्ने भावनासँग जोडिएको गोर्खा ट्रेलब्लेजरले खेलमार्फत इतिहास जोगाउने, सम्मान प्रकट गर्ने र युवा पुस्तालाई साहसिक खेलतर्फ आकर्षित गर्ने सन्देश बोकेको छ। यसले गोर्खा समुदाय मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ।
हङकङमा हुने गोर्खा ट्रेलब्लेजर रन आज एक अन्तर्राष्ट्रिय पहिचान बोकेको स्मृति–दौडको रूपमा स्थापित भइसकेको छ, जहाँ प्रत्येक पाइला वीर गोर्खाको इतिहाससँग जोडिन्छ।




















