• डा अभय यादव

अस्पतालको अर्थोपेडिक्स विभागमा धेरै मानिसहरु ढाड तथा र घुँडा दुख्ने समस्या लिएर आउने गर्छन् । करिब ७० प्रतिशत बिरामी यस्ता हुन्छन् । यस्तो समस्या सबैभन्दा बढी  उमेरका कारण हुने गर्छ । जति उमेर बढ्दै गयो भने हड्डी उति खिइँदै जान्छ । ढाडको हड्डी  खिइएर नशा च्यापिन्छ।

नशा च्यापिने कारण धेरै हुन्छन् । हड्डी खिइएर या साना–साना हड्डी पलाएर नशा च्यापिन सक्छ भने पछाडितिरबाट पनि नशा च्यापिन्छ । यस्तै चोटपटकले गर्दा हड्डीले नशा च्यापिन सक्छ । मेरुदण्डको क्षयरोग तथा ट्युमरले पनि नशा च्यापिने हुन्छ।

किन हुन्छ ढाडको समस्या ?  

ढाडको समस्या खासगरी उमेरका कारण (एजिङस्पाइन)ले गर्दा हुने हो । तर, आजभोलि १७–१८ वर्षका किशोरमा पनि नशा च्यापिएको देखिन्छ । किन यस्तो हुन्छ भन्ने कारण अहिलेसम्म पत्ता लागेको छैन । अर्थात्, आजकाल नशा च्यापिने समस्या बढ्दै गइरहेको छ । खेलकूदमा बढी सरिक हुने बालबालिकामा नशा च्यापिनु स्वभाविक हो । तर खेलकुद नगर्नेमा पनि यस्तो समस्या हुने गरेको छ  । २५ देखि ४० वर्षबीचका मानिसमा पनि यो समस्या बढ्दैछ । 
धेरैजसो एउटै आसनमा धेरैबेरसम्म बसेर काम गर्नेमा पेशा भएका मानिसमा यो समस्या देखिन्छ । कम्प्युटरमा धेरै काम गर्ने मान्छेलाई ढाड दुखाई बढी हुन्छ । एउटै पोजिसनमा धेरै समयसम्म बसेर हुने समस्यालाई मेकानिकल पेन भनिन्छ । मेकानिकल पेन सामान्य अभ्यासले ठीक हुन्छ । ठीक नभएमा सिटि स्क्यान, एमआरआइसमेत गरेर हेर्नुपर्छ । रोग पहिचान भएपछि त्यही हिसाबको उपचार गर्नुपर्ने हुन्छ।

कसरी थाहा पाउने ? 

ढाड दुख्नासाथ नशा च्यापियो कि भनेर सोच्छौं । नशा च्यापियो भने कहिलेकाहीँ  खुट्टामा प्यारालाइसिस हुनेदेखि दिसापिसाबसमेत रोकिन सक्छ । जसको उपचार गर्न मुस्किल हुन्छ।

नशा च्यापिँदा खुट्टासम्म दुख्ने हुन्छ । यस्तो अवस्थामा कहिले ढाडमात्र र कहिले खुट्टामात्र दुख्ने हुन्छ । नशा च्यापिएकामध्ये ८५ प्रतिशत बिरामीलाई अपरेशन गर्नुपर्दैन । औषधि र शारीरिक कसरतले मात्र निको हुन्छ । १५ प्रतिशत नशा च्यापिएका बिरामीको मात्र अपरेसन गर्नुपर्ने हुन्छ । जस्तो खालको रोगले नशा च्यापिएको हुन्छ, त्यस्तै किसिमको उपचार गर्नुपर्ने हुन्छ । 

घुँडाको  समस्या  

उमेरको हिसाबले घुँडा खिइने हुन्छ । प्रायः जनसंख्यामा यस्तो समस्या देखिन्छ । २५ वर्षसम्मको उमेरसम्म कुनै समस्या देखिँदैंन । ३० वर्ष लागेपछि अलिअलि खिइन्छ । ५५ देखि ६० वर्षमा ५५ देखि ६० प्रतिशत मानिसको घुँडाको हड्डी खिइन्छ । रोगको समस्या हेरेर घुँडा फेर्न पनि सकिन्छ।

कुरकुरे हाडले गर्दा हड्डी खिइन सक्छ । कहिलेकाहीँ चोटपटकले गर्दा पनि लिगामेन्ट चुँडिने, च्यातिने हुन्छ । त्यसको बेग्लै किसिमको उपचार हुन्छ । यो समस्या जुनसुकै उमेरमा विशेष गरेर खेलकुद गर्ने मान्छेहरुमा समस्या हुन्छ।

हड्डीको कुनै हाड राम्रो छ भने पनि मेनस्कसचाहिँ च्यातिएको हुन सक्छ । कहिलेकाहीँ मेनस्कस सफा गरेर पनि दुखाइ कम गर्न सकिन्छ । मेनस्कस भनेको घुँडामा हुने नशा हो । यो च्यातिएर कहिलेकाहीँ घुँडा अड्कने समस्या पनि हुनसक्छ । यस्तो बेलामा पनि दुखाई हुन्छ । यो समस्या समाधान गर्न च्यातिएको नशालाई झिकेर मर्मत गर्न सकिन्छ । डिजेनेरेशन भएको छ भने उमेरको हिसाबले जोर्नीप्रत्यारोपण गर्न सकिन्छ।

हड्डीमा ट्युमर र क्यान्सर भने कम जनसंख्यामा मात्र देखिन्छ । यो २ देखि ३ प्रतिशत मानिसमा देखिने सम्भावना हुन्छ।