धरान । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ७५३ वटै पालिकामा एकै समय विश्व क्यान्सर दिवसको अवसर पारेर कक्षा कक्षा ६–१० सम्मका हरेक विद्यालयहरुमा खोप केन्द्र राखेर खोप लगाउने तयारी भएको छ । विद्यालय बाहिर रहेका किशोरीहरुका लागि पनि छुट्टै खोप केन्द्र बनाइने प्रमुख मेहताले जानकारी दिनु भयो । धरानमा विद्यालय स्तरमा ७ हजार ७ सय किशोरीहरु अध्ययनरत भएको तथ्याङ्क रहेको छ । विद्यालय बाहिर रहेकाहरुलाई समेट्न २ हजार ३ सय खोप थप गरि ८ हजारको विवरण केन्द्रलाई पठाइएको प्रमुख मेहताले बताउनु भएको छ ।
कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ । आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।
प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरुलाई मङ्सिर २३ देखि २६ गतेसम्मभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ ।
आगामी माघको ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत योजनासहित अभिमुखीकरण गरिने योजना छ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिने भएको छ ।
आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयम्सेविकाहरुमाझ अभिमुखीकरण कार्यक्रम तय भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पु¥याइसकिने खोप अधिकृत भण्डारीको भनाइ छ । सुनसरीका सबै पालिकाहरुमा प्रचार सामग्रीहरु पुगिसकेको बताइएको छ ।
खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशानलय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणका लागि जिल्लाहरुमा परिचालन गरिसकिएको बताइएको छ ।
विद्यालयबाहिर रहेका किशोरीहरु अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोगका अपेक्षासमेत गरिएको छ ।