धरान । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा तत्कालिन मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाउनुभएको थियो । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याउनु भएको थिये ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ मत ल्याई विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहुले ८१६ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकतम प्रतिस्पधीै एमालेका सन्तु उरावले ७७० मत ल्याउनु भयो । यस अघि उक्त वडामा एमालेले जितेको थियो ।