धरान /  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सरकारको गलत नीतिले प्रतिष्ठानको आम्दानी गुमाउनु परेको बताउनु भएको छ ।  पछिल्लो समयमा आएर नेपाल सरकारको नीति बमोजिम चिकित्सा शिक्षा ऐन लागु भए पश्चात् तत्कालिन संसदबाट स्वायत्त संस्थाको रुपमा स्थापित प्रतिष्ठानको विद्यार्थी भर्ना स्वायत्तता हनन भएको उहाँले बताउनु भएको छ । 

सोमबार ३१ औं विपी प्रतिष्ठानकाे स्थापना दिवसकाे अवसरमा आयोजित कार्यक्रममा उहाँले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ ले एक स्वायत्त संस्थाको रुपमा विकास एवं विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको संस्थाको विकास गर्ने परिकल्पना विपरित प्रतिष्ठानको अधिकार कटौती हुदा आर्थिक नोक्सानी वेहोर्नु परेको बताउनु भयो । 

प्रतिष्ठानमा विदेशी विद्यार्थीहरुको चाप हुने गरेको थियो । मुख्य आम्दानीको श्रोत पनि विदेशी विद्यार्थीहरु थिए । तर सरकारले कोटा निर्धारण गरे पछि आम्दानी घटेको छ । प्रतिष्ठान एउटा स्वायत्त संस्था भएता पनि यस संस्थाले नेपाल सरकारले लागू गरेका नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै जानु पर्ने हुन्छ । जस अनुसार प्रतिष्ठानले विगतमा आफै शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गर्ने, विदेशी विद्यार्थीको कोटा तोक्ने तथा शुल्क निर्धारण गर्ने गरेको भएता पनि विगतका केहि बर्षदेखि यी सबै कार्यहरु नेपाल सरकारको चिकित्सा शिक्षा आयोगबाट हुने गरेको छ । 

प्रतिष्ठानले भर्ना गर्ने विदेशी विद्यार्थीको कोटा निकै कम भएकोले प्रतिष्ठानको आर्थिक अवस्थामा निकै नराम्रो असर परेको प्रतिष्ठानका रजिष्टार प्राडा. सूर्यप्रसाद संग्रोलाले जानकारी दिनु भयो । उहाँले आफ्नो मन्तव्यको क्रममा प्रतिष्ठानको विकासको साथ साथै यसका चुनौतिहरु बढेको बताउदैं प्रमुख चुनौतिको रुपमा आर्थिक संकट रहेको उल्लेख गर्नु भयो । 

हाल प्रतिष्ठान १ अर्व २५ करोड ऋणात्मक अवस्थामा रहेको उहाँले उजागार गर्नु भयो । ऋणमा भएका कारण चिकित्सक शिक्षक कर्मचारीको केही सेवा सुविधा कटौती गर्नु परेको उहाँले सुनाउनु भयो । 

काठमाण्डौं बाहिर Non-Practicing Institute मा कार्यरत शिक्षक कर्मचारीहरुका छोराछोरीहरुका लागि चिकित्सा शिक्षाका विभिन्न विधामा निर्धारित आरक्षीत सीटहरु समेत गुम्न गएको कारणले शिक्षक÷कर्मचारीहरुमा निराशा छाएको बताउदैं उहाँहरुले पाउने सेवा सुविधा दिलाउन संचालक परिषद्को ४५औं सभाबाट निर्णय भई  शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानात्मक काम गदैं आएको यस विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ ले एक स्वायत्त संस्थाको रुपमा विकास एवं विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको Center of Excellence को  रुपमा विकास गर्ने परिकल्पना गरिएको थियो । सा्ही बमोजिम प्रतिष्ठानको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने सन्दर्भमा वेल्जियम स्थित इष्टिच्युट अफ टोपिकल मेडिसिन एन्टवर्प (Institute of Tropical Medicine, Antwerp) संस्थासँग कालाजार रोग नियन्त्रण र निवारणमा पुनः ५ वर्षको लागि सम्झौता नविकरण  गरिएको उपकुलपति डा. गिरीले बताउनु भएको छ । अनुसन्धात्मक गतिविधि एवं शैक्षिक उन्नयनका लागि  नेदरल्याण्डको मास्टिक विश्वविद्यालयMaastrict University) सँग सहकार्य गर्नका लागि विलाटेरल सम्झौता नविकरणको प्रक्रिया अगाडी बढाइएको छ । साथै हालै मात्र  बेलायतकाे Bolton University सँग शैक्षिक तथा अनुसन्धात्मक सहकार्यका लागि सहमति भएको डा. गिरीले जानकारी दिनु भयो । 

उपकुलपति डा. गिरिले बीपीमा आइसियुको कमीका कारण बिरामीले सास्ती भोग्नु परेकोमा चालु आर्थिक वर्ष भित्र क्षमता बिस्तार गरी १५० वटा आइसियु बेड सञ्चालन ल्याइने बताउनु भएको छ । 

स्थापना दिवसको अवसरमा प्रकाशित विज्ञप्तिमा १५० बेडको अस्पतालबाट सुरु भएको प्रतिष्ठानमा हाल ९१३ बेडको क्षमतामा सञ्चालन रहेको उल्लेख गरिएको छ । मेडिकल तथा डेन्टलमा विशेषज्ञ चिकित्सक सेवा, मुटु रोगको क्याथ ल्याब, शल्य चिकित्सा सेवा प्रतिष्ठानमा उपलब्ध भएको बताइएको छ ।

डा. गिरीका अनुसार आइसियु बेडको कमी भएकोमा थप ३० वटा बेड थपिएको, डायलासिस सेवामा २० बेड थपिएको छ । इमर्जेन्सी कक्षमा मनिटर थपेर स्तरोन्नति गरिएको छ । निर्माणाधीन इमर्जेन्सी भवन सम्पन्न हुँदा अक्सिजन पाइप लाइन सहित थप ३० वटा जनरल बेड ४ वटा आइसियुरएचडियु सेवा विस्तार हुनेछ ।

बन्द रहेको फार्मेसी सेवा समेत सुचारु भएको छ । फार्मेसी भवन निर्माण सम्पन्न भई हस्तान्तरण बाँकी छ । विपीमा २५६ स्लाइसको सिटी स्क्यान सञ्चालनमा छ । यो प्रविधि नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको प्रतिष्ठानले दावी गरेको छ । 

टेस्लाको एमआरआई मेशिन खरिदको प्रक्रिया अघि बढाइएको छ । अल्ट्रासाउण्ड, एक्स रे, मेशिनहरू मर्मत सुधार गरी चलाइएको छ । अत्याधुनिक प्रविधिको अल्ट्रासाउण्ड मेशिन सञ्चालनमा छ । वीपीमा २० हजार लिटरको लिक्युड अक्सिजन टयाङकी सञ्चालनमा छ । प्रतिष्ठानको डेन्टलमा पुराना ६० वटा हाईड्रोलिक डेन्टल चेयरलाई प्रतिस्थापन गरी पहिलो चरणमा ३० वटा नयाँ ईलेक्ट्रोनिक डेन्टल चेयर सञ्चालनमा छ । मातृ शिशु विशेषज्ञ उपचारका लागि ४०० बेडको अस्पताल आउँदो मङ्सिर सम्म हस्तान्तरण हुनेछ ।

क्यान्सर अस्पतालमा २०० बेडको अंकोलोजी सेन्टर, रोगको २०० बेडको कार्डियोलोजी सेन्टर निर्माण कार्य गर्न बजेट सुनिश्चितताका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले ३१औँ स्थापना दिवस तथा १११ औँ वीपी जयन्तीको अवसरमा आयोजित समारोहमा भारतको जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका अध्यक्ष प्रा.डा. विवेकानन्द झा प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, प्रतिनिधी, सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख एवं प्रतिनिधीहरु, विभिन्न शिक्षण संस्थाहरुका प्रतिनिधीहरु, नागरिक समाजका विशिष्ट व्यक्तित्वहरु लगायत प्रतिष्ठानका विभागिय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, चिकित्सक, कर्मचारी एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

नेपाल भारतको मैत्रिपूर्ण सहयोगमा २०५० सालमा तत्कालिन स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको मात्र नभएर दक्षिण एशियाकै स्वास्थ्य केन्द्रको एक प्रतिष्ठित संस्थाको रुपमा रहेको छ । यहां भारत लगायत पूर्वी नेपालका चारहजार भन्दा बढि विरामीहरुले दैनिक रुपमा स्वास्थ्य सेवा लिइरहेका छन् । अनुभवी र विज्ञ चिकित्सकहरुद्वारा सेवा प्रदान हुने यस प्रतिष्ठानमा विश्वसनीय स्वास्थ्य उपकरणहरुबाट रोग परिक्षण र निदानका उपायहरु पत्ता लगाइने भएकाले पनि विरामीहरुको विश्वासको केन्द्र बन्दै गएको प्रतिष्ठानले जनाएको छ । 

 विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उपकुलपति  डा.  ज्ञानेन्द्र गिरीले दिनु भएकाे  मन्तव्य  

http://

 विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  रजिष्टार प्राडा.  सूर्यप्रसाद स‌ग्राैलाले  दिनु भएकाे  मन्तव्य  

http://