झापा / पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा विहिबारदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।
एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो । उहाँले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गर्नुभएको हो ।
रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । उहाँले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताउनुभयो ।
“काम सुरु गर्न रुख नै बाधक थियो”, उहाँले भन्नुभयो, “रुख काट्ने अनुमति हिजो आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।” उहाँले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विजुलीको खम्बा हटाइने बताउनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएकोे छ ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।