- शुभमकुमार अग्रवाल
मेडिकल असिसर, पासर अस्पताल विराटनगर
धरान घोपा युनाइटेड लायन्स क्लबमा युवा डाक्टरहरको समुह छ । यो समुह गाउँगाउँमा डाक्टरको अनुहार नदेखेका विरामीहरुको उपचार गर्ने, रोगको पहिचान गर्ने काम गरिरहेको हुन्छ । गएको शुक्रबार हामी साँगुरीगढी गाउँपालिकाको वडा नं. ५ मा शनिवार शिविरका लागि जादैं थियौं । धरानदेखि केही माथि निशाने खोला नजिक बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे अवस्थामा भएको भेट्यौं । उहाँहरुको उद्धार गर्नु पहिलो कतव्र्य ठानेर हामी उद्धारमा खट्यो ।
हाम्रो टिममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक नीजी अस्पालमा कार्यरत साथीहरु डा.राहुल, श्रवणकुमार मण्डल र डा. मधुसुदन माधव हुनुहुन्थ्यो । मधुमेह, उच्च रक्तचाप, दृष्टि समस्या, मुखको स्वास्थ्य र पाठेघरको क्यान्सर सम्बन्धि लायन्स क्लब अफ धरान घोपा युनाइटेडको लायन्स डाक्टर्स अन डोर्स घुम्ती स्वास्थ शिविर प्रोजेक्ट आरोग्यः मुभ फर हेल्थ अन्तर्गत शिविरका लागि हामी त्यस तर्फ जादैं थियौं । एउटा आपतकालीन अवस्थाले हाम्रो यात्रा अवरुद्ध भयो । दुर्गम गाउँमा कार्यान्वयन गर्न जाँदै गरेको प्रोजेक्टले सडकको बीचमा आफुहरुले राखेको प्रोजेक्टको नामको सामना गर्नेछ भन्ने हामीले कहिल्यै अनुमान गरेका थिएनौं ।
हामीहरु अचानाक एउटा दर्दनाक दुर्घटना दृश्यमा ठोक्किऔं । दुईजना व्यक्तिहरू पहाडी सडकको बीचमा गम्भीर घाइते अवस्थामा थिए । रगत बगिरहेको थियो । जाँच गर्दा उहाँहरूको शरीरमा टेम्पोरोमन्डिबुलर जोइन्ट(च्यापुको जोर्नी), घुडामुनीको हड्डी(टिबिया) र फिबुलालगायत हड्डीहरु भाँचिएका पायौं । डोरी रुमाल प्रयोग र लौरो प्रयोग गरेर भाचिएका स्थानलाई सुरक्षित बनाऔं ।
उहाँहरु भारतको फार्मेसगञ्जबाट भेडेटार पुगी दुई वटा मोटरसाइकलमा फर्कदै गरेको थाहा भयो । दुई जना एउटा मोटरसाइकलमा र एक जना एउट मोटरसाइकलमा थिए । तराईमा बस्ने मानिस पहाडमा असजिलो भएर पहाडमा ठोक्किएर दुर्घटनामा पर्नु भएको थाहा भयो ।
हामीले उहाँहरुलाई समयमा नभेटेको भए उहाँहरुको ज्यान बाटो मै जाने निश्चित थियो । दुर्घटना भएर मान्छे लडिरहेका बेला अचम्मको कुरा के थियो भने यस्तो आपतकालीन अवस्थाको बीचमा सबै मान्छे रमिते बनेका थिए । कुनै पनि दर्शक सहयोगको लागि अगाडि आएका थिएनन् । सहायताको अभावबाट पनि लायन डाक्टरहरूले आफ्नो चिकित्सिय विशेषज्ञता र स्रोतसाधन प्रयोग गरेर घाइते व्यक्तिहरूको रक्तस्राव रोक्न र भाच्चिएका हड्डिहरुलाई स्प्लिन्ट गरि महत्वपूर्ण प्राथमिक उपचार प्रदान गर्न सफल भयौं । हाम्रो उत्कृष्ट प्रयासको बावजुद, अवस्थाको गम्भीरताले टर्सियरी अस्पतालको चिकित्सा सुविधामा तत्काल पुर्याउन आवश्यक थियो । त्यसका लागि हाम्रो प्रयास जारी रहयो ।
सडकमा कुदिरहेका धेरै चार पाङ्ग्रे सवारी साधनहरूलाई हामीले अनुरोध गर्यौं । तर कोही पनि सहयोगका लागि अगाडी सरेनन् । धनकुटाबाट धरानतिर नेपाल टेलिकमको सरकारी पिकअप गाडी गइरहेको थियो । एक जना महिलासहित चार जना निकै ठूलै पदमा रहेका जस्ता देखिने महासयहरु हुनुहुन्थ्यो । गम्भीर घाइते बिरामीहरुको ज्यान बचाउनका लागि पिकअप गाडीको पछाडिको खाली भागमा राखेर घाइतेहरुलाई नजिकैको मेडिकल सेन्टरमा र्पुयाउन मद्दत गर्न मैले अनुनय विनय गरे । तर उहाँहरु मानवीय पीडामा मलम लगाउन तयार हुनु भएन । निरन्तरको अनुरोध र बिन्ती पनि गरे तर गाडी भित्र बसेका कसैले मान्नु भएन । सरकारी गाडी थियो । त्यो गाडीको डालामा हालेर उहाँहरुलाई धरानको अस्पतालसम्म पुर्याइदिएको भए हुने थियो तर विडम्बना उहाँहरु तयार हुनु भएन् । हामी सडकमा हिड्ने प्रायः सबै गाडीमा अनुरोध गरिरयौं । सहयोग गर्न कोही तयार नभए पछि एम्बुलेन्सलाई खवर गर्यौं । ट्राफिक प्रहरीलाई सूचित गरे पछि उहाँहरु घटना स्थलमा आउनुभयो ।
कमजोर नेटवर्क कनेक्टिभिटी र ६० मिनेट बित्दा समेत एम्बुलेन्स नआइ पुग्दा हामी निकै निराँससमेत भयौं । उहाँको जीवन कसरी बचाउने भन्नेमा हाम्रो चिन्ता जारी थियो । हामीहरुले केही व्यक्तिहरूको सहयोगमा टेम्पोमार्फत दुबै घाइते व्यक्तिहरूलाई थप उपचारका लागि नजिकैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा पठाउन सफल भयौं । ट्राफिक प्रहरी अधिकारीहरूले लायन डाक्टरहरूलाई उनीहरूको असाधारण समर्पण र यस्तो चुनौतीपूर्ण परिस्थितिमा जीवन बचाउन लागेको प्रति धन्यवाद दिनुभयो ।
डाक्टरहरूले दर्शाएको अरूको कल्याणको लागि निस्वार्थ प्रतिबद्धताले परोपकार, करुणा र समर्पणको चम्किलो उदाहरणका रूपमा काम गरेको छ । हामी सबैलाई थप समानुभूति र सहयोगी समाजको निर्माणका लागि प्रयास गर्न प्रेरित गर्दछ । हाम्रोे निःस्वार्थ कार्यले जीवन मात्र बचाएन तर संकटको समयमा करुणा र एकताको महत्वपूर्ण महत्वको पनि दर्सायो । आफ्नो समुदायको भलाइका लागि लायन्स डाक्टरहरूको अटुट समर्पणले लायन्स क्लबको मुल नारा वि सर्भ र चिकित्सा सेवाको मर्ममा रहेको सेवाको उदाहरण दिन्छ ।
नेपाल टेलिकमको गाडी चढेर जो हिडिरहनुभएको थियो । यस्तो आपत उहाँहरुलाई पनि पर्छ जरुर । त्यस बेला कुनै सडकमा हिडने गाडीले सहयोग गरेनन् भने कस्ता लाग्छ आफूलाई । यसबारे तपाईहरुले सोचिदिनु होला । दुई दिनेको जीवनमा मावन सेवा वा अरुलाई परेका बेला सहयोग गर्न सकिएन भने हाम्रो जीवन के जीवन । हामी बाचेको के बाँचेका हौर । सार्थक जीवन जीउन त अरुको घाउमा मलम पट्टी लगाउन सक्नु पर्छ । यो अप्ठ्यारो समयमा सहयोग गर्ने ट्याम्पो चालकलाई धन्यवाद दिन चाहान्छौं । समन्वय र सहजिकरणका लागि प्रहरीहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।
यस्तो संसारमा जहाँ उदासीनता प्रायः व्याप्त हुन्छ । हामी सबै आशा र मानवताको ज्योति बन्ने प्रयास गरौं । खाँचोमा परेकाहरूलाई आशा बनौं । समस्यामा परेकालाई आफुले सक्ने सहयोग गरौं । मानवियता नविर्साै ।