धरान /   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सरकारले तयारी गरेको बताउनुभएको छ । 

विहीबार सुनसरीस्थित इनरुवा सबस्टेसन ४००, २२०, १३२ र ३३ केभी प्रशारण लाइनको उद्घाटन कार्यक्रममा उहाँले यसलाई सुनौलो दिन भएको बताउनु भएको छ । उहाँले नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको बताउनुभएको छ । घर र बस्तीमा बत्ती बाल््न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।, उहाँले भन्नुभयो ।

 विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको पनि उहाँले स्मरण गराउनु भएको थियो । उहाँले देशभित्र उत्पादित विद्युत यही खपत गर्नका लागि सरकारले केही दिन अघि मात्र विद्युत खपत वृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको पनि जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले नदीबाट विद्युत उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु¥याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना हुदैं गरेको बताउनुभएको छ ।  

वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको उहाँले बताउनु भयो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युतको अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा उहाँ को भनाई छ । 

उद्घाटन पछि उहाँको सुनसरीका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो ।

उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।