• ओम गुरुङ

आज अगस्ट ९ अर्थात् साउन २४  विश्व आदिवासी दिवस हो । यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवर्द्धन गर्नु होे ।

त्यसका लागि संयुक्त राष्ट्र संघले आफू अन्तर्गतका विभिन्न निकायहरू, सदस्य राष्ट्रहरू तथा विभिन्न तहका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूलाई विशेष कार्यक्रम बनाई लागु गर्न आह्वान गरेको छ ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । 

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसङ्ख्या ५० करोड पुगेको छ, जुन विश्व जनसङ्ख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायका यी जनजातिहरू भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतको धनी समुदाय मानिन्छन् । तर, यिनीहरू अधिकार तथा आर्थिक विकासको दृष्टिकोणले संसारका सबैभन्दा उत्पीडित र विपन्न वर्ग समुदायमा पर्दछन् । यिनीहरू शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवा सुविधाबाट समेत वञ्चित छन् । त्यसैले संयुक्त राष्ट्र संघले आदिवासी जनजातिहरूको समग्र अवस्था अध्ययन गरी उनीहरूको अवस्था सुधारका लागि विशेष कार्यक्रम सिफारिस गर्ने उद्देश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १९८२ मf एउटा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगस्त ९ तारिखका दिन सम्पन्न भएको थियो । कार्यदलको पहिलो बैठक बसेका पहिला दिन अगस्त ९ विशेष स्मरणीय दिन भएकोले उक्त दिनलाइ संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस घोषणा गरेको हो । तर, संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस घोषणा गरेको ३० वर्ष पूरा भइसक्दा पनि विश्वका आदिवासी जनजातिहरूको अवस्थामा खासै फरक परेको छैन भन्ने समीक्षा विश्व आदिवासी दशकको मूल्याङ्कन गर्ने अध्ययनकर्ताहरूले गरेका छन् । यसको एउटा प्रमुख कारण डा. हर्क गुरुङ (२००४) ले भनेझै संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिहरूको समस्यालाई गम्भीर समस्या नठानेर एउटा झमेला मात्र ठान्नु हो भने अर्को कारण संयुक्त राष्ट्र संघ अन्तर्गत सन् २००० मा स्थापना भएको आदिवासी जनजाति समस्या हेर्ने स्थायी मञ्च (यूएनपीएफआईआई) लाई राष्ट्रसंघले अधिकार सम्पन्न नियोगको रूपमा मान्यता नदिएर एउटा सल्लाहकार मञ्चको रूपमा मात्र मान्यता दिनु हो तथा मञ्चलाई राष्ट्रसंघको नियमित बजेट नछुट्याएर स्वैच्छिक कोष मात्र खडा गरी काम चलाउनु हो । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रहरूले आदिवासी जनजातिका अधिकार सम्बन्धी घोषणा पत्र र जनजाति मामिला सम्बन्धी स्थायी मन्चका कार्यक्रमहरूलाई अनिवार्य कार्यको रूपमा नलिएर स्वेच्छिक र स्वविवेकी कार्यको रूपमा लिने हुँदा सरोकारवाला राज्य र सरकारका तर्फबाट विश्व आदिवासी दिवसको कार्यक्रमहरू इमान्दारिपूर्वक लागु भएका छैनन् । यसबाट संयुक्त राष्ट्रसंघ लगायत सरोकारवाला सदस्य राष्ट्रहरू आदिवासी जनजातिका समस्याप्रति कति गम्भीर छन् त भन्ने प्रश्न खडा भएको छ ।

नेपालमा जनजाति आन्दोलनको इतिहास निकै लामो छ । तर, आफ्नो पहिचान र अधिकारका लागि जनजातिहरूको सङ्गठित आन्दोलन सन् १९९१ पछि मात्र सुरु भएको हो । सुरुमा जनजाति आन्दोलन जनजातिहरूको पहिचान स्थापित गराउने मुद्दामा केन्द्रित थियो । जुनबेला नेपालका आदिवासी जनजातिहरूले जातीय पहिचानका लागि जनजाति आन्दोलन सुरु गरेका थिए, त्यहीबेला तत्कालीन संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आयोजनामा सन् १९९२ मा अष्ट्रियाको राजधानी भियनामा सम्पन्न शिखर सम्मेलनले १९९३ लाई विश्व आदिवासी वर्ष र अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणा गर्ने सिफारिस गर्‍यो । भियना शिखर सम्मेलनका सिफारिसको आधारमा सन् १९९४ मा संयुक्त राष्ट्र संघले सन् १९९५ देखि २००४ सम्मका वर्षहरूलाई पहिलो विश्व आदिवासी दशक र सन् २००५ देखि २०१५ सम्मका वर्षहरूलाई दोस्रो विश्व आदिवासी दशक घोषणा गर्‍यो । उक्त घोषणाबाट नेपालको जनजाति आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त भयो । विश्व आदिवासी दिवसको घोषणा र अन्तर्राष्ट्रिय समर्थनबाट उत्साहित नेपालको आदिवासी जनजाति आन्दोलन २००१ को दशकभरि उत्कर्षमा पुग्यो र महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल पनि भयो । जनजाति आन्दोलनको दवाबका कारण तत्कालीन नेपाल सरकार जनजातिहरूको माग र मुद्दाप्रति सकारात्मक देखिन थाले । जनजाति आन्दोलनको दवाबका कारण नेपाल सरकारले सर्वप्रथम नेपालमा भएका जनजातिहरूमध्ये ५९ आदिवासी जनजातिहरूको सूची तयार पारी त्यसलाई कानुनी मान्यता दियो । त्यसपछि सरकारले आदिवासी जनजाति विकास उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गर्ने, नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्ने, समानुपातिक निर्वाचन प्रणाली र समावेशी नीति अपनाउने, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि–१६९ र आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ लाई संसदबाट पारित गर्ने, आदिवासी जनजातिसँग २० बुँदे सहमति गर्ने, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा जनजातिका लागि आरक्षणको विशेष व्यवस्था गर्ने, मातृभाषामा शिक्षा लागु गर्ने जस्ता काम गर्‍यो । यी सबै सरकारले जनजातिका लागि गरेका सकारात्मक कार्यहरू हुन् भने निश्चय नै यी कार्यहरू जनजाति आन्दोलनका महत्वपूर्ण उपलब्धिहरू पनि हुन् । जनजाति आन्दोलनको दवाबका कारण सरकारले अपनाएको समानुपातिक निर्वाचन प्रणाली र समावेशी नीतिको परिणाम स्वरूप सन् २००८ मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभाको कुल सिट सङ्ख्या ६०१ मध्ये २१८ जनजाति उम्मेदवारहरू निर्वाचित हुन सफल भए । यसलाई जनजाति आन्दोलनको ऐतिहासिक उपलब्धि मान्न सकिन्छ । यी उपलब्धिका आधारमा नेपालका जनजाति आन्दोलन अन्य देशका आदिवासी जनजाति आन्दोलनका तुलनामा निकै उपलब्धिमूलक मानिन्छ ।

तर, विस्तारै नेपालमा जनजाति आन्दोलन कमजोर हुँदै जान थालेपछि जनजाति आन्दोलनले प्राप्त गरेका धेरैजसो उपलब्धि अहिले कानुनी दस्तावेज र सम्झौता पत्रमा मात्रै सीमित भएका छन, कार्यान्वयन भएका छैनन् । जनजातिहरूका अधिकार र सेवासुविधा सम्बन्धी सरकारले बनाएका नीति नियम र सरकारले गरेका सहमति सम्झौता कार्यान्वयन नभएपछि र सरकारले गरेका बाचा पूरा नभएपछि जनजाति आन्दोलनले प्राप्त गरेका उपलब्धिको खासै अर्थ रहँदैन । अहिले आदिवासी जनजातिहरूप्रति राज्यले गर्ने जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विभेदको पुनर्वृत्ति भएको छ । जनजातिहरूले मागेको जातीय पहिचानसहितको संघीयता प्राप्त भएको छैन । संविधान समावशी हुन सकेन । नेपालका अतिवादी हिन्दू शासकहरूले नेपालको अन्तरिम संविधानले सुनिश्चित गरेको धर्म निरपेक्षताबारे २०७२ सालमा जारी भएको नेपालको संविधानमा व्याख्यात्मक टिप्पणी गर्न लगाएर तथा गाईलाई राष्ट्रिय जनावरको मान्यता दिन लगाएर नेपाललाई पुनः हिन्दू राज्यतिर फर्काउने दुष्प्रयास गरेका छन् भने नेपाली भाषालाई सरकारी कामकाजी भाषाको विशेष अधिकार प्रदान गराएर नेपालका अन्य भाषाको अपमान गरेका छन् ।

अहिले राज्यको अन्याय, अत्याचार, शोषण, दमन, हत्या, हिंसा, विभेद र वहिष्करणबाट नेपालका अदिवासी जनजातिहरू आक्रान्त बनेका छन् । तर, राज्यले गर्ने यस्ता सबैखाले हर्कत विरुद्ध हिजोको दिनमा सशक्त किसिमले उठेको जनजाति आन्दोलन अहिले सेलाएको छ । अहिले जनजातिका संघ÷सस्थाहरू निस्कृय छन् भने जनजातिका नेता तथा कार्यकर्ताहरूले पनि मौनता साँधेका छन् । उनीहरू जनजातिका हकअधिकारका लागि भन्दा आफ्ना व्यक्तिगत स्वार्थसिद्धका लागि राजनीतिक दल र सरकारका पछि दौडधुप गरेको देखिन्छ । जनजाति अधिकारका लागि आन्दोलनको विकल्प छैन भन्ने ओठे नाराको रटान दिने गर्छन्, तर इमान्दारी साथ आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने वातावरण तयार गर्नतिर अहिलेका जनजाति नेताहरू प्रतिवद्ध देखिँदैनन् । त्यसैले जनजाति आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको छ । यस्तो अवस्थामा राज्यले हेप्नु र हिजोका जनजाति आन्दोलनबाट प्राप्त भएका उपलब्धि गुम्दै जानु कुनै अनौठो होइन । नेपालका आदिवासी जनजातिहरूमाथि राज्यले यस्तो अन्याय, अत्याचार, शोषण, दमन, हत्या हिंसा, विभेद गर्दा र बहिष्करणमा पार्दा पनि आफ्नाआफ्ना व्यक्तिगत स्वार्थका लागि जनजातिहरू चुप लागेर बस्ने हो भने नेपालका आदिवासी जनजातिहरूको अधिकार र सेवासुविधा खोसिने मात्र होइन, उनीहरूको पहिचान र अस्तित्व नै गुम्ने खतरा बढेर गएको छ ।

अन्तमा, उत्पीडित आदिवासी जनजातिहरू विश्वभरि जहाँ भए पनि उनीहरू शोषित पीडित हुन् र उनीहरूको समस्या एउटै प्रकृतिको छ । त्यसकारण आफ्नो हकअधिकार र मुक्तिका लागि विश्वभरिका उत्पीडित आदिवासी जनजातिहरू आफैले कठोर संघर्ष गर्नु पर्दछ । तर, यस्तो संघर्ष जनजाति एक्लैले मात्र गरेर सफल हुँदैन । त्यसका लागि आफूहरूजस्तै उत्पीडनमा परेका अन्य वर्ग र समुदायसँग पनि एकता गर्न जरुरी हुन्छ । विश्व आदिवासी दिवस विश्वभरिका उत्पीडित जाति र उत्पीडित वर्ग समुदायहरूलाई एकतावद्ध रूपमा सङ्गठित गरी उनीहरूका हकअधिकार तथा मुक्तिका लागि संयुक्त संघर्ष गर्न प्रेरणादायी बनोस् भन्ने शुभकामना छ ।