- नगिता लेप्चा
जति रगड़िन्छु...उति उति निखार आउँछु
जति हेला होँचो उति उति आँधी हुन्छु
जस्तो साँचा मिल्छ त्यसैमा गाभिन्छु
कहिलै मैनबत्ती भएर पग्लिन्छु
कहिले दिपबाती भएर उज्यालो भइदिन्छु
कहिले चट्टान बनिदिन्छु कहिले पारस पत्थर
कहिले हातेमालो गर्ने
आवश्यक परे विद्रोहको शङ्खघोष गर्ने
म नारी...
फगत नारी ।
.................................
अबला नारी होइन म कदाचित
दबिएकी अवहेलित नारी हुँदैन होइन
स्वाभिमानले बाँच्ने अभिमानदेखि दस हात टाढ़ा बस्ने
म नारी...
फगत नारी ।
.............................................
म राधा हुँ...राधाभित्र रुक्मिणी हो
म मेनका हुँ... उर्मिला (लक्ष्मणकी श्रीमती) एक्ली
दुश्यन्तको शकुन्तला पनि हुँ फगत एक्ली
श्रापित अहिल्या हुँ म शीला बनी सहिबस्ने
रामकी जानकी म,
चौध-चौध वर्षसम्म कुरिरहने
बनवासी लक्ष्मणकी पत्नी हुँ
म भवानी नवग्रह हुँ, श्यामकी मीरा
म नारी...
फगत नारी ।
................................
कोमल भावनाकी नारी नम्र मेरो वाणी
कोमल भावनामा ठोस पुऱ्याए
शिवको आधा रङ् हुँ म ताण्डवलीला मच्चाउने
धरारुपधारिणी, सुभिषिनी, सुहासिनी
आदि हुँ म अन्त्य हुँ प्रेमकी खानी
म रणचण्डिके...हुङ्कार हुँ म
निःशब्दकी रानी
म नारी...
फगत नारी ।