धरान । धरान उपमहानगरपालिका वडा नम्बर –७ का सुत्केरी महिलाका लागि  वडा कार्यालयले ‘सुत्केरी प्रोत्साहन भत्ता  र नवजात शिशु वैंक खाता’सन्चालनमा ल्याएको छ ।

वडा कार्यालयले वडाका सुत्केरी महिलालाई नगद ५ हजार सत्केरी भत्ता र नव जात शिशुलाई बैंकमा ३ हजार रुपैंया जम्मा गरिदिएर वैंक खाता सन्चालन गर्दै आएको हो । 

वडा कार्यालयले सुत्केरी प्रोत्साहन भत्ता नव जात शिशु बैंक खाता वि.सं २०७५ सालदेखि नै शुरु गरेको थियो । हाल सम्म १ सय भन्दा वढी सुत्केरी र नवजात शिशुले सो कार्यक्रमबाट लाभान्वित भइसकेको धरान उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जीवनराज सुवेदीले वताउनु भयो । आफ्नै कार्यकालमा सो कार्यक्रम वडाध्यक्ष सुुबेदीले सुरुवात गर्नु भएको थियो । सोही कार्यक्रमलाई फेरी निर्वाचित भएर आएपछि निरन्तरता दिदैं प्रोत्साहन भत्ता पनि वृद्धि गर्दै कार्यक्रमलाई थप प्रभाकारी वनाउनु भएको हो । 

शुरुमा १ हजार ५ सय रुपैयाँबाट शुरुवात गरेको भएपनि कार्यक्रम प्रभावकारी वन्दै गएकाले प्रोत्साहन भत्ता वढाएर हाल ५ हजार रुपैयाँ र नव जात शिशुका लागि ३ हजार रुपैयाँ पुर्याएको वडाध्यक्ष सुवेदीको भनाई छ ।

उहाँले भन्नु भयो,‘जनप्रतिनिधी मार्फत नै सो कार्यक्रम वडावासीका लागि सन्चालन गर्यौ,यो प्रभावकारी कार्यक्रम भयो,सोही अनुसार हामीले कार्यक्रमलाई निरन्तरता दिदैं आएका छौं,विशेषतः यो कार्यक्रमबाट गरिब र विप्पन वर्गलाई राहत मिलेको छ।’

 वडा कार्यालयले सुत्केरी भत्ता संवन्धित महिलालाई नै प्रदान गर्दै आएको छ भने नव जात शिशुको लागि भने ग्लोबल वैंक धरानमा खाता खोलिदिने गरेको छ ।

आफ्ना वालवालिकालाई शिक्षा प्रदान गर्नको लागि वचत गर्ने वानीको विकासका लागि  प्रोत्साहन कार्यक्रम वडा कार्यालयले सन्चालन गरेको जनाइएको छ  ।