हिन्दूहरुको महान चाड बडादसैंको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ । धार्मिक आस्थासँग जोडिएकाले नै घटस्थापनादेखि धार्मिक विधिहरु अपनाएर यो चाड मनाइन्छ । दसैंमा विभिन्न शक्तिपीठमा निश्चित विधि तथा परम्पराअनुसार शक्तिको पूजा गरिन्छ । नौ स्वरुपकी भगवतीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूमाण्डा, स्कन्दमाता, कार्यायनी, कालरात्रि, महागौरी एवं सिद्धिदात्रीलाई मानिन्छ । तिनै नौ स्वरुपकी भगवतीलाई समग्रमा नवदुर्गा भनिन्छ । घटस्थापनादेखि मुलुकभरका शक्तिपीठहरुमा भक्तजनको ओइरो लाग्छ ।
यी पीठहरुमा पूजा गर्नको पछाडि अनेकौ धार्मिक विश्वास र किंवदन्ती जोडिएका छन् । पूजा गर्न शक्तिपीठहरुमा जाने चलन भए पनि सवै शक्तिपीठको परम्परा भने एउटै छैनन । एकथरी मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थान नै शक्तिपीठ हो । रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्न तर्कपनि अर्कातिर छ । त्यसैले शक्तिपीठहरुका बारेमा एउटै धारणा पाइँदैन ।
काठमाडौंमा यस्ता शक्तिपीठहरु धेरै भए पनि राजाको सवारी हुने नौ वटा मन्दिरलाई शक्तिपीठ मानिँदै आएको छ । उपत्यकाबाहिर पनि थुप्रै शक्तिपीठ छन् । यी शक्तिपीठहरुमा दसैंमा विशेष पूजा गरी बलि दिने चलन छ ।
छिन्नमस्ता भगवतीः सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने छिन्नमर्ता भगवतीको मन्दिरमा वर्षैभरि बलि दिइन्छ । यहाँ दसैंमा विशेष भीड लाग्छ । छिन्नमस्ता भगवतीप्रति नेपाल–भारतका जनताको ठूलो आस्था छ ।
दन्तकालीः सुनसरी जिर्लाको धरानमा दन्तकालीको मन्दिर छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । दन्तकालीमा घटस्थापनादेखि नै विशेष पूजा–आराधना हुन्छ । यो अवसरमा स्थानीय भक्तजनहरुको ठूलो भीड लाग्छ ।
त्रिवेणीः यो मन्दिर उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा छ । यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ । त्रिवेणीमा दसंैको अष्टमीमा नुहाउने चलन छ ।
कोडकडेनीः ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगादेखि ८ किलोमिटर पूर्वा छ–कोडकडेनी मन्दिर । यो मन्दिर पृथ्वीनारायण शाहका फौजी रामकृष्ण कुँवरले निर्माण गर्न लगाइएको मानिन्छ । आफ्नो पूर्वविजय अभियानअन्तर्गत यही मन्दिरमा देवीको उपासना गरी उनी विजययात्रामा निस्किएका थिए ।
छिन्ताङः धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो–छिर्ताङ । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ दसंैमा भव्य मेला लाग्छ ।
कालिकास्थानः विराटनगरस्थित कालिकास्थानमा दसैंमा विशेष चहलपहल देखिन्छ । यो दसैंमा पूजा हुने महत्वपूर्ण मन्दिर हो । यहाँ नवरात्रभरि भीड लाग्छ ।
पाथीभराः ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरुको महत्वपूर्ण धार्मिक स्थल हो । यहाँ सुकेटार एयरपोर्टबाट २ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि मेला लाग्छ ।
जालपादेवीः जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा छ । त्रिशूली नदीको किनारमा रहेको जालपादेवीको मन्दिर रहेको स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व छ । यहाँ घटस्थापनादेखि नै भक्तजनको ओइरो लाग्छ ।
छत्रेश्वरीः सल्यान जिल्लाको छायाक्षेत्रस्थित छत्रेश्वरी मन्दिरमा सतीदेवीका शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ । त्यसो त छत्रेश्वरी नेपालका सबै शक्तिपीठमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो । सबैभन्दा पहिले अष्टभैरवले पूजा गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन । पूजाकै लागि यहाँ छिमेकी जिल्लाहरुबाट पनि भक्तजनको भीड लाग्छ ।
मनोकामनाः गोरखाको मनोकामना पनि महत्वपूर्णदेवीस्थान मानिन्छ । दसैंमा पूजा गर्न आउनेहरुको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ । पैदल यात्रा गर्न रुचाउनेहरु आबुखैरेनीबाट ४ घण्टाको उकालो हिँडेर मनोकामना पुग्छन् ।
कमलाक्षीः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षीको मन्दिर छ । यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम योगमार्गीहरुले पूजा–आराधना गरेका थिए । एउटा पहाडका रुपमा रहेको यो मन्दिरमा करङको आकृति देखिन्छ ।
गलेश्वरीः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा छ–गलेश्वरी मन्दिर । यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा–आराधना गरेको मानिन्छ ।
बागेश्वरीः बाँके जिल्लाको नेपालगञ्जस्थित यो मन्दिर रहेको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम किन्नरहरुले पूजा–आराधना गरेका थिए । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा गाभिएपछि मात्र पत्ता लागेको हो ।
होदेवलहाट मन्दिरः बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरुले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरुले असत्यमाथि विजय गर्न पाउन भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन ।
गजरा मन्दिरः दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्वपूर्णकाम गर्नप¥योे भने अछामवासीहरु यो मन्दिरमा पूजा गछन् ।
मालिकादेवीः बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा मालिकादेवीको मन्दिर छ । यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रुपमा पूजा गरिँदै आएको छ ।
कालिकादेवीः लमजुङको बेसीसहरबाट २ घण्टा उकालो चढेपछि पुगिने कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई लमजुङ कालिका पनि भनिन्छ ।
बडी मालिकास्थानः कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसंै र चैते दसैंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ ।
माईपोखरीः इलामको उत्तरी क्षेत्रमा माईपोखरी रहेको छ । यसको नवरात्रसँग नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरुपका रुपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरुद्वारा सप्तशती पाठ गरिन्छ ।
कर्काई माईः झापाको प्रसिद्ध मन्दिर हो–कर्काई माई । यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर–पश्चिम दिशामा छ । पूर्वाञ्चलका भक्तजनहरुले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादसंैका दिन माई नदीमा नुहाएर दर्शन गर्छन् ।
स्वर्गद्वारीः प्यूठानको खलङ्गाबाट २६ किलोमिटर पश्चिममा छ–स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरुमध्ये एक मानिन्छ यो मन्दिरलाई । यहाँ परापूर्वकालमा ऋषिहरु बसेर तपस्या गर्थे ।
विन्दवासिनी भगवतीः यो मन्दिर पर्साको वीरगन्जबाट १० किलोमिटरको उत्तर–पश्चिममा छ । यो मन्दिरलाई रणबहादुर शाहले स्थापना गरेका हुन । यहाँ काटमार बढी हुन्छन् ।