अलङ्कार-
परिचयाङ्कन, अलङ्कार शब्दको अर्थ, अलङ्कार र अलङ्कार्य, अलङ्कार विषयक चिन्तनको विकासक्रम, अलङ्कारको मनोवैज्ञानिक पक्ष, काव्य्मा अलङ्कारको स्थिति, भूमिका र मूल्य, शब्दालङ्कार र अर्थालङ्कारको सोदाहरण अध्ययन , अलङ्कारवादी प्रमुख आचार्यहरू ।

परिचयाङ्कन -
अलङ्कारको सामान्य अर्थ हुन्छ सजाउने वा सज्जित गर्ने / गराउने वस्तु । अलङ्कारले कुनै पनि वस्तुलाई चिरिच्याँट्टै र बान्किलो बनाउँछ । यसको कोशगत अर्थ हुन्छ हार गहना आदिको सामुदायिक नाम, बालाबाजु आदि आभूषण, सिङ्गार पटार, सजिसजाउ आदिको सामग्री र त्यही काम । त्यसरी नै काव्य कवितामा अलङ्कारलाई चमतकारिलो वर्णन, अर्थ  वा शब्दद्वारा साहित्यको गहक र महक बढ़ाउने तत्त्वको अर्थमा लिइन्छ ।
अलम् + कृ + घञ् धातुबाट अलङ्कार शब्द बनेको हो । निम्न प्रकारले अलङ्कार शब्दको व्यत्पत्तिगत अर्थ -
(क) अलं क्रियते अनेन इति - अलङ्कारः । (अलंपूर्वक कृ - धातुदेखि करणमा 'घञ' प्रत्यय। (ख) अलङ्कृति अलङ्कारः
(अलंपूर्वक कृ - धातुदेखि भावमा 'घञ' प्रत्यय लागेर बनेको शब्द) ।
(ग) अलं-भूषणं पर्याप्त रोति - इतिः अलङ्कारः
(अलंपूर्वक कृ - धातुदेखि नै कर्ममा 'अर' प्रत्यय भएर) ।
आचार्च भरतले उनको 'नाट्यशास्त्र'-मा अलङ्कारलाई काव्यको एउटा अङ्गको रुपमा स्वीकार्दै प्रथमोप्रथम अलङ्कारको चर्चा गरेका हुन् । आचार्च भामहले अलङ्कारको विस्तृत र व्यापक रुपमा चर्चा गर्दै अलङ्कारलाई सर्वोच्च मूल्य प्रदान गरेपछिदेखि नै यिनलाई अलङ्कारका प्रमुख प्रवर्त्तक रुपमा पगरी गुँध्यायाइएको छ ।
अलङ्कारवादी अनि ध्वनिवादी दुवै थरीका आचार्यहरूले पनि अलङ्कारलाई आ-आफ्नै पाराले चहकिलो र गहकिलो  मनतव्य गरेको पाइऩ्छ । अलङ्कारवादी भामह, दण्डी, उद्भट, रुद्रट, जयदेव आदि आचार्यहरूले अलङ्कारलाई काव्यको शोभा, काव्यको गहना मान्नुका साथै काव्यात्मा पनि भनेका छन् भने ध्वनिवादीहरूमध्ये आनन्दबर्धन, वामन, कुन्तक (कुन्तल?), मम्मट, विश्वनाथ, पण्डित जगन्नाथ आदिले काव्य सौन्दर्यको साधन मात्र मान्दै भए पनि अलङ्कारलाई महत्त्व प्रदान गरेका छन् ।

अलङ्कार शब्दको अर्थ -
'अलम् + कृ + घञ्' धातुबाट बनेको अलङ्कार शब्दको सामान्य अर्थ गहना वा आभूषण हुन्छ। जसरी कुनै पनि स्त्रीजातिलाई राम्रा-राम्रा आभूषण पहिराउँदा उसको रुप विछट्टै राम्रो देखिन्छ, उसरी नै भाषालाई पनि उपमा, अनुप्रास, रुपक आदि अलङ्कारयुक्त गराइदिएमा काव्यको सौन्दर्यवृद्धि हुन्छ । त्यसैले अलङ्कारलाई काव्यको गहना भनिन्छ ।

परिभाषा -
बिभिन्न आचार्यहरूले अलङ्कारको परिभाषा यसरी दिएको पाइन्छ -  
१. 'अलङ्क्रियते अनेन इति अलङ्कारः' -भामह (जसले अर्काका शोभा बढ़ाउँछ त्यसलाई अलङ्कार भनिन्छ ।
२. 'काव्यसोभाकरान्धर्मानलङ्कारारान्प्रचक्षते' - दण्डी (काव्यादर्श) काव्य शोभाकारक धर्मलाई अलङ्कार भनिन्छ ।
३. 'अभिधान प्रकार विशेष एवं  आलङ्कारान्प्रचक्षते' - रुद्रटालङ्कार (विशेष प्रकारको काव्य नै अलङ्कार हो ।
४. काव्यशोभाकरान्धर्मानलङ्काराप्रचक्षते
'अलङ्कारिष्णवस्ते शब्दमर्थुमुभौ त्रिधा' -अग्निपुराण (काव्य शोभाकारक धर्मलाई अलङ्कार भनिन्छ र अलङ्कारले शब्द, अर्थ र शब्दार्थमयलाई अलङ्कृत पार्छ )।
५. 'काव्यं ग्राह्यमलङ्कारात्, सौन्दर्यमलङ्कार, अलङ्कृतिरलङ्कार ।
करणव्युत्पत्त्या पुनरलङ्कारशब्दो यमकोमलङ्कारदिषु वर्त्तते ।।' - वामन (काव्यालङ्कारसूत्रवृत्ति) अलङ्कार भएमा मात्र काव्य ग्राह्य हुन सक्छ र सौन्दर्य नै अलङ्कार हो ।
६. 'अलङ्कारशून्य काव्य असम्भव छ र आकर्षणरहित अलङ्कारको कल्पना पनि असम्भव छ' -कुन्तक ।
७. 'अलङ्कारो हि वाह्यलङ्कारसाम्यदङ्गिनश्चारूत्चेहेतुरुच्यते' - आनन्दबर्धन (ध्वन्यालोक) अलङ्कार भनेको लौकिक आभूषण झैं अङ्गी (रस) को सौन्दर्य साधन हो ।
८. शब्दार्थयोरस्थिरा यो धर्मा शोभातिशायिन
रसादीनुपकर्वन्तोSलङ्कारा स्तोSङ्गदादिवत् ।। - विश्वनाथ (साहित्य दर्पण) (सौन्दर्य बढ़ाउने र रसको उपकार गर्ने शब्दार्थका जुन अस्थिर धर्म हुन् ती अलङ्कार हुन् र बाला आदि झैँ आभूषण हुन् ) ।
९. काव्यात्पनो व्यङ्ग रमणीयताप्रयोजना अलङ्कारा निरुप्यन्ते - जगन्नाथ (अलङ्कार काव्यात्मा रसका सौन्दर्यका कारण नै अलङ्कार हुन् ) ।
१०. उपकुर्वन्ति न सन्तमङ्गद्वारेण जातुचित
हारादिवदलङ्करा स्तेSमुप्रासोपमादय - मम्मट (काव्य प्रकाश ) (अङ्ग शब्द र अर्थद्वारा रसको उपकार (सौन्दर्य वर्णन) गर्ने अनुप्रास, उपमा आदि अलङ्कार हुन् र ती हार आदि जस्तै आभूषण हुन् ) ।
अलङ्कारवादी, ध्वनिवादी, रीतिवादी आचार्यहरूले अलङ्कारसम्बन्धी दिवएका परिभाषाहरूको आधारमा अलङ्कारलाई यसरी पनि परिभाषित गर्न सकिन्छ, काव्यशरीर अर्थात् भाषालाई शब्दार्थबाट सुसज्जित तथा सुन्दर बनाउने चमत्कारपूर्ण मनोरञ्जक ढङ्गलाई अलङ्कार भनिन्छ ।

अलङ्कार र अलङ्कार्य -
काव्यमा अलङ्कारको भूमिका मनोरम हुन्छ भन्ने कुरामा नाकनिक गर्ने विद्वान् तथा अध्येताहरू विरलाकोटि पाइएलान । काव्यमा अलङ्कारको मह्त्वपूर्ण स्थान देखिन्छ भन्ने कुरो सत्य हो । अलङ्कारको प्रयोग नितान्तै आवश्यक पनि छ । खासै कुरा भन्नु हो भने, सौन्दर्य नै अलङ्कार हो । सैन्दर्यले काव्यशरीरलाई रमणीय, आकर्षणीय बनाउँदछ । कुनै तथ्य, काव्यका आन्तरिक उपकरणहरू (अनुभूति, घटना, रसभावादि)-को प्रभावपूर्ण अभिव्यक्तिको निम्ति अलङ्कार प्रयोग गरिन्छ ।
अलङ्कार र अलङ्कार्यलाई पर्याय रुपमा हेर्दा भाववाचक निषपन्न अलङ्कार शब्दको साधारण अर्थ जुनै पनि सौन्दर्य भन्ने  बुझिन्छ । आचार्य बामनले उनको काव्यलङ्कारसूत्रवृत्तिमा यिनै साधारण सौन्दर्यलाई अलङ्कारको रुपमा उल्लेख गरेका छन् । लौकिक व्यवहारमा पनि अलङ्कार भन्दा सज्जा वा सजाउने प्रक्रिया बुझिन्छ । अमरकोश-मा भनिएको छ - "भूषणम् स्याद् अलङ्क्रिया" अर्थात्, भूषण भन्नाले अलङ्कार्य वा सजाउने क्रिया बुझिन्छ ।
तर अलङ्कार साधारण कथन मात्र नभएर उक्ति वैचित्र्य हो भने भाव, रस, वर्ण्य विषयादि अलङ्कार्य हो । यसैबाट अलङ्कार र अलङ्कार्यमाझ अन्तर-भेद् छ्याङ्गै हुन्छ । अलङ्कार्यले अलङ्कारलाई उत्कृष्टता प्रदान गर्दछ । अलङ्कार र अलङ्कार्यका दुइवटा बेग्ला-बेग्लै र स्वतन्त्र सत्ता हुन्छ भन्ने डा. कृष्ण देव शर्माको भनाइ देखिन्छ । तर व्यवहारको दृष्टिले यी दुइलाई छट्याउन भने सकिँदैन । डा. शरामाले अलङ्कार र अलङ्कार्यको कथित भेदलाई व्यावहारिक नामनेर तात्त्विक मानेका छन् ।
अलह्कार र अलङ्कार्यको स्थिति यसैले अभेद देखिन्छ, यो प्रथमतः नयाँ कुरो होइन । ध्वनिकार आनन्दवर्धनले अलङ्कार्यलाई रसको मान्यती दिँदै रस स्वादिलो बनाउनमा अलङ्कार्यको मह्त्त्वपूर्ण भूमिका हुन्छ भन्ने उनको मत रहेको देखिन्छ ।
अलङ्कार र  अलङ्कार्यबारे आचार्यद्वय मम्मट र विश्वनाथको भनाइ तर प्रायः एउटै-एउटै देखिन्छ । यी दुइमाझ भेद देख्छन यी दुइ आचार्यतहरू । अलह्कार र अलङ्कार्यको  भेद  स्पष्ट पार्दै उनीहरू भन्छन् - "गहना आदि आभूषणले शरीरलाई प्रत्यक्ष रुपमा सुशोभित पारी आत्मालाई उत्कृष्टता प्रदान गरे झैँ अलङ्कारले प्रत्यक्ष शब्दार्थलाई भू।षित गर्छ । यो भूषित क्रियाले खासमा रस य़उपकृत हुन्छ ।
अलङ्कार र अलङ्कार्यमझ अभेद सम्बन्ध रहने कुरामा अभिव्यजनावादी क्रोचेको भनाइ पनि ठुङमार्दो नै देखिन्छ । पश्चिमी काव्यशास्त्री अलङ्कार र अलङ्कार्यक अभेद सम्बन्ध रहने कुरालाई प्रमाणित गर्न भन्छन् - "कला विशेष सहजानुभूति तथा आफ्से आफ् प्रकाशित हुने ज्ञान हो, सहजानुभूति र अभिव्यञ्जनासित अभिन्न सम्बन्ध छ जुन अभियञ्जना मूर्त हुँदैन त्यो सहजानुभूति नभएर संवेदन वा प्रकृत विकार हुन्छ । सहजनाभूतिसित अभिन्न भएकोले अभिव्यञ्जना अखण्ड हुन्छ ।" क्रोचेको दृष्टि तात्त्विक भएकोले उनले अलङ्कार र अलङ्कार्यमा अभेद रहेको कुरा प्रमाणित गरेका छन् ।
अलङ्कार र अलङ्कार्यको सम्बन्ध अभेद रहे पनि यी दुइमाझ व्यावहरिक भेद् पनि अवश्यै लक्ष्य गर्न सकिन्छ । डा. कृष्ण देव शर्मा भन्छन् - "न ता अलङ्कार अलङ्कार्यदेखि बेग्लै वाह्य तत्त्व हो न ता त्यो अलङ्कारभित्र समन्वित भएर आफ्ना अस्तित्त्व गुमाउने आन्तरिक तत्त्व नै हो । वास्तवमा त्यो अलङ्कार्यको यस्तो आन्तरिक तत्त्वसाधन हो जसले त्यससित अटुट सम्बन्ध राख्दछ।"

अलङ्कार विषयको चिन्तनको विकासक्रम -
भारतीय काव्यशास्त्रीय परम्परामा व्यापक र विस्तृत रुपमा झ्याङिेएर गरिमानय स्थानमा अलङ्कृति हुन पुगेको अलङ्कारले सिङ्गो संसारकै प्राचीनतम ग्रन्थ "ऋग्वेद"-को कोखबाट आफ्नो यात्रा आरम्भ गरेको देखिन्छ । वैदिक युगदेखि नै बामे सर्दै आएको अलङ्कारले "ऋग्वेद"-मा अलङ्कार नै भनेर ठाउँ नै नपाए पनि "अरङ्कृत" शब्द मार्फत् आफ्नो बामे सराइ आरम्भ गरेको हो भन्ने विद्वानहरूको भनाइ छ । पछि यो "अलङ्कृत" शब्दबाट "र" झिकेर "र"-को ठाउँमा "ल" थपेपछि "अलङ्कार" शब्द हुन गएको हो भन्ने भाषाविद्हरूको भनाइ देखिन्छ । ऋग्वेदमा यही शब्दहरू "अरङ्कृत" / "अरङ्कृता" / "अरङ्कृति" आभूषण र शोभावर्द्धनको उद्देश्यमा प्रयोग भएको देखिन्छ ।  यजुर्वेद, सामदेव, अथर्ववेदमा अनुप्रास, यमक, श्लेष, रुपक, अतिशयोक्तिजस्ता अलङ्कारको प्रयोग भएको देखिन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्वमावेदमा अनुप्रास, यमक, श्लेष, रुपक, अतिशयोक्तिजस्ता अलङ्कारहरूको प्रयोग भएको विद्वानहरूको खोज र भनाइबाट छ्याङ्गै हुन सकिन्छ । वैदिककालको व्याकरणमा पनि अलङ्कारलाई गोहार माग्दै उमान, उपमेयेजस्ता शब्दहरूको प्रयोग गरिएको पाइन्छ । व्याकरणाचार्य पाणिनीले कर्मधारय समासका सम्बन्धमा "उपमानानि सामान्यवचने" भनी उपमा समासको सङ्केत गरेको पाइन्छ । यसबाहेक पनि सूत्रकार, वार्त्तिककार र भाष्यकारजस्ता वैयाकरणहरूलेसमेत उपमा अलङ्कारको चर्चा गरेको पाइन्छ ।  आचार्य भरतभन्दा पहिल्यै यास्कले निरुक्तमा निपातबारे विवेचना गर्ने क्र्ममा आलङ्कारिक प्रतिको अवधारणाबारे अवधारणाबारे उपमा अलङ्कारको स्वरुप र तिनका भेद्हरूबारे उल्लेख गर्दै पूर्वपर्त्ती गार्ग्य आदि आचार्यरूको सन्दर्भ झिकी अलङ्कारलाई प्रतिष्ठापित गर्ने प्रयास गरेको देखिन्छ ।
भारतीय काव्यतत्त्वमा अलङ्कारले व्यापक महत्त्व हत्याएको थियो । सबभन्दा पहिले कुरा ता, ध्वनिवाद, रसवाद आदिका प्रतिष्ठापन  हुनभन्दा पहिल्यै अलङ्कारतत्त्वबारे व्यापक रुपमा चर्चा भएको पाइन्छ  र पछि -पछि पनि त्यो चर्चा यथावतै रहेको पाइन्छ । ध्वनिकार आनन्दवर्धनभन्दा अघिका अलङ्कारवादी आचार्यहरू कसैले पनि काव्यालोचना गर्ने समयमा अलङ्कारको महत्त्वलाई अस्वीकार गरेको देखिँदैन । आचार्य भरतले उनको "नाट्यशास्त्र"-को सत्रौं अध्यायमा नाट्य नाट्य अन्तर्गत वाक्यको गुण दोष सँगसँगै अलङ्कारबारे चर्चा गर्ने क्रममा अलङ्कारलाई काव्यलक्षणको संज्ञा दिएको पाइन्छ । खासै कुरा भन्नुपर्दा, भारतीय काव्यशास्त्रमा आचार्य भरतको नाट्यशास्त्रमा अलङ्कारले महत्त्वपूर्ण ठाउँ पाएको नै प्रथम हो भन्ने कुरो ढुक्कैले भन्न सकिन्छ । हुन ता नाट्यशास्त्र देखा पर्नुभन्दा पहिल्यै अलङ्कारको रमरम चर्चा हुँदै आएको कुरा टार्न सकिँदैन । नाट्यशास्त्रमा  आचार्य भरतले अलङ्कारलाई काव्यकै अङ्ग ठानी काव्यशास्त्रीय सैद्धान्तिक दृष्टिले व्याख्या-विश्लेषण-विवेचना गरेपछि काव्यशास्त्रीय फाँटमा अलङ्कारले मान्यता पाएको हो ।
आचार्य भरतभन्दा पहिल्यै अलङ्कारबारे वा अलङ्कारलाई च्याँखे थापेर आचार्यहरूले उपमा अलङ्कारको रुपभेदबारे नालीबेली लाए पनि वैयाकरणहरूले अलङ्कारलाई वैयाकरणको आभूषणले सिँगार्ने प्रयास गरे पनि अलङ्कारलाई भारतीय काव्यशास्त्रमा भरतले उपमा, रुपक, दीपक र यमक गरी चार प्रकारका अलङ्कारहरूको उल्लेख गरेका छन् ('उपमादीपकञ्चैवयमकरुपकस्तया'') । यिनले नाट्यशास्त्रमा अलङ्कारलाई सर्वोच्च स्थान नदिएर रसलाई अलङ्कारभन्दा कता हो कता धेर काखी च्यापेका छन् ।
वैदिक साहित्यबाटै अलङ्कारविषयक चिन्तनको विकासक्रमको घड़ेरी बनिँदै आचार्य भरतसम्म आइपुग्दा यो सैद्धान्तिक परम्पराभित्र सहृदयजन रम्न-रमाउन थालेको देखिन्छ । यसरी अलङ्कारको इतिहास निकै पुरानो भए पनि सैद्धान्तिक परम्पराको थालनी भने आचार्य भरतबाट भएो पाइन्छ । भरतपछि अग्निपुराणले अलङ्कारको चर्चालाई विस्तृत बनाउन गरेको जमर्कोले अलङकारविषय चिन्तनको विकास हुनमा गतिलो भूमिका निर्वाह गरेको देखिन्छ ।
यसपछि आठौं शताब्दीमा भारतीय काव्यचशास्त्रलाई महत्त्वपूर्ण स्थानमा ठाउं गिएर अलङ्कारलाई विशिष्ट स्वरुपको परिचय गराउन आचार्च मामह देखा पर्छन् । यिनीबटै प्रतिष्ठित हुन्छ अलङ्कारवाद वा अलङ्कारसम्प्रदाय । काव्यलङ्कार नामक ग्रन्थमा यिनले विभिन्न प्रकारले अलङ्कारलाई परिभाषित गर्दै आलङ्कारिक भेद् लगायत उदाहरण समेत दिएर अलङ्कारले साहित्यिक सौन्दर्य बढ़ाउँछ भन्ने कुरामा जोड़ दिँदै अलङ्कारको चर्चा गरेको पाइन्छ । यसैकारण, आचार्य भामहलाई अलङ्कारका प्रवर्त्तकका आसनमा विराजमान गराएको छ । अलङ्कार  प्रवर्त्तकका रुपमा मान्यता पाए पनि उनीबाटै अलङ्कारको आरम्भ भएको हो भनी  भन्न सकिन्न । उनले ता 'अन्यैः अपरै' लेखेर उनीभन्दा पहिल्यै अलङ्कार प्रचलित भएर चपनि ख्याति प्राप्त गरिसकेको हो भन्ने कुरा स्वीकार्नममा कुनै कसर् राखेको देखिँदैन ।
सातौँ /आठौं शताब्दीमा, दोस्रो अलङ्कारवादी आचार्यका रुपमा दण्डीको आगमन हुन्छ । आचार्य भामहको अवधारणामाथि यिनले आफ्नो विरोध नदेखाए पनि भामहका केही अलङ्कारतहरूलाई पन्छाएर नयाँ अलङ्कार थै-थाप गर्दै जम्मै अलङ्कारलाई स्वभोक्ति र वक्रोक्ति गरी दुइ भागमा विभाजित गरी दुइ भागमा बिभाजित गरेका देखिन्छ । अलङ्कारलाई व्यापक महत्त्व दिन दण्डीले अलङ्कार सँगसँगै गुण र रीतिको पनि चर्चा गर्दै रीतिवादी मार्गलाई पनि फाँटिलो बनाउने जमर्को गरेका देखिन्छ । तिनमध्ये काव्यलङ्कारका टीकाकार उद्भट, रुद्रट र जयदेव प्रमुख देखिन्छन् । अलङ्कारवादका प्रबल यी पृष्ठपोषकहरूले अलङ्कारवादी चिन्तन परम्परालाई विकासको शिखरमा पुऱ्याउन गतिलो पाराले सहयोग पुऱ्याउने काम गरेका देखिन्छ ।
नवौं शताब्दीका अलङ्कारवादी आचार्य रीतिवादका प्रतिष्ठाता वामनले अलङ्कार 'सौन्दर्य' रुपमा प्रतिष्ठा पन गर्न खोज्ने क्रममा अलङ्कारलाई 'सौन्दर्यम् अलङ्कारम्' भनेका छन् । यी अलङ्कारवादी आचार्य वामनले अलङ्कारवादलाई समर्थन गर्दै आफ्नो 'काव्यलङ्कारसूत्रवृत्ति' ग्रन्थमा अलङ्कारले काव्य ग्राह्य हुनाका साथै अलङकार सौन्दर्य हो भन्ने तर्कद्वारा चिन्तन विकास परम्परालाई व्यापक र विस्तृत बनाउनमा गतिलो भूमिका निर्वाह गरेको देखिन्छ ।
दशौं शताब्दीका अलह्कारवादी आचार्य राजशेखरले आफ्नो 'काव्यमीमांशा'-मा अलङ्कारशास्त्रलाई 'सप्तम वेदाङ्ग' नाम दिएको पाइन्छ । बाह्रौं शताब्दीमा देखापरेका अलङ्कारवादी मम्मटले 'काव्यप्रकाश'-मा अलङ्कारले मात्र काव्यको काव्यत्व देखिन्छ भनी अलह्कारको समर्थन गर्नु मात्र होइन यसको विकास परम्परामा महत्त्वपूर्ण काम गरेको पाइन्छ ।
अलङ्कार विषयक चिन्तनको विकासक्रमलाईअलङकारवादी आचार्यहरूले धेर-थोर चर्चा-परिचर्चा गरेबाट उनीहरू सबै नै अलङ्कारबारे सचेत  समर्थक र प्रचारक थिए भन्ने बुझिन्छ। काव्यसृष्टि गर्ने क्रममा अलङ्कारले आवश्यकता वा महत्त्व सबै आचार्यहरूले कुनै न कुनै प्रकारले स्वीकार गरेका देखिन्छ । यसरी अलङ्कार विषयक चिन्तनको विकास गर्ने क्रमलाई हेर्दा भरतपछि भामह, वामन, दण्डी, उद्भट, रुद्रट आदि आचार्यहरूले काव्यशास्त्रमा अलङ्कारलाई अधिक मह्त्त्व दिनाका साथै यसको विकासलाई फैलाउनमा बिर्सिनै नसकिने काम गरेका देखिन्छ ।

अलङ्कारको मनोवैज्ञानिक पक्ष्-
मनोवैज्ञानिक दृष्टिबाट परख गर्दा अलङ्कारको भूमिका महत्त्वपूर्ण देखिन्छ । यसै पनि अलह्कारमा मनोविज्ञानले अहम् भूमिका निर्वाह गरेको हुन्छ ।  सौन्दर्यका पूजारी नहुने मानिस विरलाकोटि पाइएलान् । संसारमा भएर समस्त सौन्जदर्यका वस्तुतहरूप्रति आकर्षित हुनु उसको जन्मजात स्वभाव हो । उसको आँखाले भ्याएसम्म देखि नै सौन्दर्यप्रति मक्ख मात्र नभएर ऊ आफू पनि सुन्दर हुन चाहन्छ ता'कि उसको सुन्दरता अरू पनि मक्ख र पक्क परोस् । तर शारीरिक सौन्दर्यमात्रै पनि सुन्दरताको परिभाषा होइन । मीठो बोल्नु, मनभित्रबाट सौन्दर्यवाणी अभिवयक्त गर्नुजस्ता कुराहरू मानिसका स्वाभाविक प्रवृत्ति हुन् । जस्तै, "आमा"-लाई स्नेहपूर्वक "आमा" भनी बोलाउँदा वा सम्बोधन गर्दा र उनै आमालाई "औ बाबुकी स्वास्नी" वा "ए बाबुकी बूढ़ी" भनिदिँदा बोली (वाणी)-मा सौन्दर्य वा खस्रोपना मात्र होइन आमालाई सम्बोधन गर्ने व्यक्तिको मनोविज्ञान समेत उदाङ्गो हुन्छ । मीठो बोली भनेको बुच्ची तरुणीलाई गहना (अलङ्कार)-ले सिँगारिएको जस्तै हो भने खस्रो बोली भनेको लाशलाई अलङ्कार (गहना)-ले सिंगारेजस्तै हो । यी सबै मानवीय प्रवृत्ति हुन् र यसमा मनोवैज्ञानिक पक्ष टड़कारो देखिन्छ ।
त्यस्तै प्रकारले काव्य (साहित्य)-मा पनि कवि / लेखक (सर्जक ?)-द्वारा अभिव्यक्त गरिने अभिव्यक्तिहरूमा कहीँ न कहीँ ;  केही न केही रुपमा अलह्कार प्रयोग गरिएको पाइन्छ । यसैले अलङ्कारयुक्त काव्यलाई बोली (वाणी)-को अलङ्कार मानिएको छ । झर्झराउँदो यौवनको डिलमा पुगेकी अत्यन्तै रुपवती, विछट्टै राम्री, सर्वाङ्ग सुन्दरी, हेरुँ-हेरुँ लाग्ने, जति हेऱ्यो पनि धितै नमर्ने युवता ता छिन् नि तर मन्दबुद्धि लाटी छिन् भने ?
सोही प्रकारले काव्यसर्जक (कवि / लेखक)-हरूले आफ्ना काव्यमा विविघ शैली प्रयोग गरी उक्ति वैचित्र्यलाई समेटी आलङ्कारिक प्रयोग गरेको हुन्छ । निजी विशिष्ट शैली सौन्दर्यका माध्यमले काव्यमा सहज एवम् स्वाभाविक अलङ्कार प्रयोग गर्नु पनि कविताप्रतिभायुक्त प्रवृत्ति हो । यो सहजता र स्वाभाविकताको गर्भमा सौन्दर्यको सर्वोत्कृष्ट रुप लगायतका जीवनका सम्पूर्ण सौन्दर्य लुकेर बसेको हुन्छ ।
जे जस्तो भए पनि, अलङ्कारको सतहमा कल्पना  ओतप्रोत हुन्छ । मनो आवेग, अभिव्यक्तिलाई कल्पनाले अहर्निश हुट्हुटी लाइरहेकै हुन्छ । यिनै कल्पनाले उपमान-योजनाको घरेटी तयार पार्दै अतिशय, विरोध वा वक्रता (व्यङ्ग्य ध्वनि)-का जलपले काव्यलाई जीवन्त बनाउँदछ। यिनै कल्पनाले काव्यको आत्मालाई उपकार गर्छ । यिनै कल्पनाकै पछ्यौरा समातेर विविध अनुभूतिहरू बिटा पारी कविले काव्यमा अभिव्यक्त गर्छ । मनोविज्ञानका आधारमा कल्पनाका दुइ सम्बन्ध भेद देखिन्छन् - प्रत्यक्ष सम्बन्ध र विम्बात्मक सम्बन्ध । यी दुवै सम्बन्धद्वारा अलङ्कारले मनको कल्पनालाई बान्किलो बनाउँछ र अ।लङ्कारिक प्रयोगद्वारा काव्यमा गाँसिएको सौन्दर्यले काव्यलाई रमणीयता र प्रभावकारीता बनाउनका साथै सम्प्रेषणीय समेत बनाएर काव्यकार स्वयम् मात्रले होइन पाठकको अवचेतन मनमा सुषुप्त भएर बसेको मानसिक भावहरू  जागेर काव्यको रसास्वादन गर्नमा तल्लीन हुन पुग्छन् । यसैकारण मनोविज्ञानको दृष्टिले काव्यमा अलङ्कारको महत्त्व उत्कृष्ट देखिन्छ ।
भावहरूको अभिव्यक्ति गर्ने साधन हो अलङ्कार । यी भावहरू भाषाद्वारा व्यक्त गरिन्छ ।  यसैकारण अलह्कारलाई वाणीको बिभूषण भनिएको हो । कुनै तथ्य, अनुभूति, घटना या चरित्रको प्रभावपूर्ण अभिव्यक्ति गर्नेलाई नै कविले आफ्नो काव्यमा अलङ्कार प्रयोग गर्दछन् । यिनै भावहरू कविको अन्तरमनमा वालछ्याल भएर समुद्रको छालजस्तो उर्लिन थालेपछि कवि हृदयबाट काव्य प्रक्षेपण हुन्छ । यो कुरो निर्विवाद सत्य हो सबै मानवीय भावहरूमा उद्दीपनले वास गरेको हुन्छ  - त्यही उद्दीपनले अलङ्कार झल्किन्छ । यसरी अलङ्ारमा कविका अनुभूतिहरू छचल्किएर पोखिएपछि पाठकका मनका भावहरू पनि उद्वेलित हुनु पुग्नु मानवीय प्रवृत्ति हो अतः अलङ्कारमा मनोविज्ञानको भूमिका गतिलो र महत्त्वपूर्ण देखिन्छ ।

काव्यमा अलङ्कारको स्थिति, भूमिका र मूल्य -
भारतीय काव्यशास्त्रको गोरेटो पहिल्याउने आचार्य भरतदेकि आरम्भ गरेर आचार्य जगन्नाथसम्म आउपुग्दा अलङ्कारशास्त्रल भारतीय काव्यशास्त्रको फाँटमा ईर्ष्णीय भूमिका वहन गरेको कुरा टार्न सकिन्न । यसै पनि वैदिक साहित्यदेखि नै अलङ्कारको प्रभाव / प्रयोग रहिआएको देखिन्छ ।
काव्यशास्त्रीय इतिहास पल्टाएर हेर्दा भरतदेकि भामह अनि भामहदेखि जगन्नाथसम्मले काव्यतत्त्वको सौन्दर्य बढ़ाउन सक्छ भने एकमात्र अलङ्कारले नै बढ़ाउन सक्छ भन्ने स्वीकारेको पाइन्छ । अग्निपुराणले ता अलङाकबिनाको काव्य सिन्दूर पुछिएकेी झर्झराउँदी विवाहित रमणीको ओभोनो सिउँदोसित तुलना गरेर काव्यको महत्त्व र मूल्यलाई उचित सम्मान दिएको पाइन्छ । ॉ
हुन ता ऋग्वेद आदि ग्रन्थहरूमा ब्राह्मण, अरण्यक वा उपनिषद्, स्रोत वा घर्म सूत्रादिमा अलङ्कारशास्त्रमाथि कुनै उल्लेख पाइन्न तापनि यास्कको निरुक्तिमा उपमाको सामान्य उल्लेख पाइन्छ । यिनले गागर्यको उपमा लक्षणको विशेष प्रसङ्गवश उल्लेख गरेका छन् । यस लक्षणबारे गागर्यको भनाइ यस्तो देखिन्छ - "जब दुइवटा विभिन्न वस्तुलाई एक खाले गुणसित तुलना गरिन्छ त्यसलाई  उपमा भनिन्छ ।" गागर्यको यसै उपमालक्षण नै उपमाको सर्वप्रथम लक्षण मानिलिएको छ । यसै समयदेखि नै उपमालाई वाच्यालङ्कार रुपमा स्वीकारेको हुनसक्छ । त्यसपछि व्याकरणाचार्य पाणिनीको सूत्रमा, कात्यायनको वृत्तिमा, शान्तवनको फिट् सूत्रमा र महाभाष्यमा उपमान र उपमेयका र उपमेयका विभिन्न सम्बन्ध विषयमा चर्चा गरिएको पाइन्छ ।
"अलम्" शब्दको अर्थ "भूषण" (गहना) हो । aurum (सम्भवतः यही शब्दबाट अलम् शब्द आएको हुनसक्छ) शब्दको अर्थ हुन्छ सुन । उहिले शायद गहनाको रुपमा सुन व्यवहार गरिन्थ्यो । यसैकारण, "अलम्" अर्थ गहना भएको हुनुपर्छ । इतिहास साक्षी छ, महेञ्जोदाड़ो सभ्यतादेखि नै (वा त्यसभन्दा पहिले पनि हुनसक्छ) सुनलाई अलङ्कारको रुपमा प्रयोग गरिन्थ्यो । तर पछि पछि सुन मानिसको शरीरमा गहना हुन्छ भने वाक्यांशमा पनि यस्तै गहनाजस्तो शब्द प्रयोग गर्दा वाक्य सुन्दर हुनसक्दैन र (?) भन्ने प्रश्नले शब्दविद्हरूलाई कोपरिरह्यो कि ?
अलङ्कारवादका कट्टरविरोधीआनन्दवर्घनाचार्यसमेतले "काव्य सौन्दर्यको कारण हो" भन्ने मनतव्य जाहेर गर्दै वाक्यको अर्थ दुइवटा बताएका छन् - एउटा अर्थले साधारण रुपमा पदसमष्टिलाई परस्पर (syntatic order = एक पदसित अर्को पदको सम्बन्ध) गरेर पाइन्छ अनि अर्को, तर धेरै समयमा पदसमष्टिलाई अन्वय गर्दा जुन गर्दा जुन अर्थ पाइन्छ त्यसबाट सम्पूर्ण बेग्लै  रुप पाइन्छ अनि अर्कोले सहृदय व्यक्तिको हृदयलाई उद्वेलित पार्छ ।  पहिलोलाई वाच्यार्थ र दोस्रोलाई प्रतीयमान भन्न सकिन्छ । विछट्टै सुन्दरी युवतीको शारीरिक गठनमा साधारण सुन्दरताबाहेक पनि स्वतन्त्र रुपमा एउटा अनिर्वचनीय लावण्य ओतप्रोत देखिन्छ । त्यसरी नै कविहरूले पनि एउटा विशेष केही पाउँदा (देख्दा ?) त्यो साधारण अर्थभन्दा बेग्लै हुन्छ कविको निम्ति । यसको निम्ति स्वतन्त्र प्रतिभाको आवश्यक हुन्छ । जोसित त्यस्तो प्रतिभा हुन्छ तिनीहरूले मात्र महाकविले प्रतिपादन गरेका शब्दलाई कुनै नयाँ व्सतुलाई इङ्गित गरेको हो भन्ने बुझिन्छ । उज्यालो खोज्नलाई जसरी पूल्ठो बाल्नै पर्ने हुन्छ ठीक त्यसरी नै वाच्यार्थका सहायताले नै प्रतीयमान शब्दको अर्थ खोज्न सकिन्छ ।
यसरी उपमा, वाय्चार्थ, प्रतीयमान शब्दसितको साँठगाँठले अलङ्कारको स्थिति. महत्ता र स्थान फराकिलो र फाँटिलो हुँदै गएपछि अन्यान्य रीतिवादी, वक्रोक्तिवादी आदि प्रायः सबै भरत, भामह, दण्डी, उद्भट, वामन, रुद्रट आदि आचार्यहरूले अलङ्कारको महत्त्वलाई स्वीकार्दै त्यसको स्थिति, मह्त्व, स्थान र मूल्यलाई बलियो पार्न आ-आफ्नै पाराको थप सिद्घान्त प्रतिपादन गर्न थालेको देखिन्छ ।
यसरी हेर्दा, भारतीय विभिन्न अलङ्कारवादीहरूले अलङ्कारबारे घेरथोर भए पनि चर्चा गरेबाट यिनीहरू सबै नै अलङ्कारसम्बन्धी सचेत मात्र होइन यसका खाँटी एवम् सच्चा पक्षधर हुन् भन्ने बुझ्न गाह्रो पर्दैन । काव्यसिर्जनामा अलङ्कारको आवश्यकता र महत्त्वबारे प्रायः सबैले अलङ्कारवादलाई स्वीकारेको देखिन्छ ।
आच्रार्य भरतले काव्यशास्त्रमा अलङ्कारलाई काव्यात्मा नभने पनि काव्यलक्षण भनी अलङ्कारलाई मह्त्त्व दिएको पाइन्छ । काव्यलाई रसको बीउ भन्दै आचार्य भरतले जसरी बीउबाट कोपिला, कोपिलाबाट फूल र पछि त्यसमा फल लाग्छ त्यसरी नै कविको अन्तर्निहित रसको बीउ उसको अन्तःस्करणबाट शब्द. अर्थ र अलङ्कार रुपमा प्रष्फुटित भन्ने उनको मत देखिन्छ । रसलाई अलङ्कारसित सामञ्जस्य देखाएर भरतले अलङ्कारलको महत्त्व, मूल्य र स्थितिलाई यथार्थ स्थानमा सुरक्षित राखी सम्मान गरेको पाइन्छ ।
आचार्य भामहले ता सुन्दर मुहार जतिसुकै सुन्दर किन नहोस् गहना नभए त्यो ठ्याम्मै सुन्दर हुन (देखिन ?) सक्दैन भन्ने कुरा राख्दै गाव्यमा अलङ्कारको पनि तरुणीहरूले लाउने गहनाजस्तै मह्त्त्व र मूल्य छ भन्ने कुरा देखाउन हिचकिचाएका छैनन् । वामनले ता अलङ्कारलाई सौन्दर्य मानेका छन् । काव्यमा निहित कुनै पनि प्रकारको सौन्दर्य नै अलङ्कार हो भन्ने उनको मान्यता देखिन्छ ।
यसरू विभिन्न आचार्यहरूले आ-आफ्नै सिद्घान्त प्रतिष्ठापित गर्दै अलङकारलाई स्नेहपूर्वक स्वीकार गरेबाट अलङ्कारको स्थिति, महत्त्व र मूल्यप्रति सश्रद्धा सम्मान जनाएका देखिन्छ ।
तर अलङकारबारे नाक खुम्च्याउनेे केवि, समालोचकहरू पनि हिजोआज (आधुनिक काल) नदेखिएका होइनन् । यिनीहरू अलङ्कारविरोधी ता होइनन् तरै पनि अलङकारलाई पुरानो वस्तु ठानी अप्रत्यक्ष रुपमा उपेक्षा गर्ने तर्फ अग्रसर भएको देखिन्छ । हिजोआजका कविता-काव्यहरूमा विम्ब-प्रतीकमा अलङकारको रमरम छाप पाइन्छ ।
नेपाली काव्यजगतमा छन्दशास्त्र ओइलिएर गए पनि लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, रिमाल, भूपी, मोहन कोइराला, शङ्कर कोइराला, पारिजात, वल्लभ, अगमसिंह गिरी, वीरन्द्र, मोहन ठकुरी, जस योञ्जन "प्यासी", मनप्रसाद सुब्बा आदिले आफ्ना काव्यमा अलङ्कारको प्रयोग नगरे तापनि विम्ब-प्रतीकद्वारा उक्ति- वैचित्र्य आदि प्रयोग गरेर अलङकारको आँत पूरा गर्ने गरेका छन् ।
टिष्टा-रङ्गीत वा काली-गण्डीको पानी बगेर जहाँसुकै पुगोस् पानीसितै बगेर जहाँसुकै पुगोस् पानीसितै बगेर टिष्टा-रङ्गीत वा काली-गण्डकी नदी बग्ने होइन, त्यसरी नै काव्यजगतमा जतिसुकै वाद वा सिद्घान्त छप्छप्ती होस् तर अलङकारको महत्त्व, मूल्य ठ्याम्मै घट्ने होइन । किनभने वर्तमानमा देखिएका वाद र सिद्घान्तहरू बगी जाने खोला हो भने अलह्कारसिद्घान्त चाहिँ खोलाको छेउमा गजधम्म भएर बसेको विराट् अनि विशाल चट्टान । यसैकारण अलङकारको मूल्य, स्थिति, मह्त्त्व र मूल्य आजको दिनसम्म पनि बेजोड़ छ अनि भोलि पनि यो यथावत् नै रहनेछ ।

अलङकारहरूका भेदोपभेदहरूो सोदाहरण अध्ययन -
शब्दालङकार र अर्थालङकारहरूो सोदाहरण अध्ययन गर्नुभन्दा पहिले आरम्भमै अलङकारको सङ्ख्याबारे चर्चा गर्नु उचित देखिन्छ । अलङकारको सङ्ख्या यति नै हो भनेर तोकिहाल्नु गाह्रै पर्छ । अलङकार परिभाषाबारे पनि विभिन्न आचार्यहरूको मत आ-आफ्नै पाराको देखिए जस्तै अलङकारको भेद-उपभेदबारे पनि आचार्यहरूमाझ मतैक्य पाइन्न । यद्यपि विभिन्न आचार्यहरूले तोकेका वा निर्धारित शब्दालङकार र अर्थालङकारहरूको तालिका यहाँ दिइन्छ -
अलङकार सङ्ख्या निर्धारक शब्दालङ्कार अर्थालङ्कार मोठ अलङ्कार  १. भरत     -     -     ०४
२. भामह     -     -     ३८
३. दण्डी     -     -    ३६
४. उद्भट     -     -     ४०
५. वामन     -     -     ३३
६. रुद्रट         ०५     ५०    ५५
७.भोज     २४     २४       ४८
८. मम्मट     ०८     ६२     ७०
९ रुय्यक     -     -     ८४
१० वाणभट्ट     ०४     ३५     ३९
११. हेमचन्द्र     ०६     २०     ३५
१२. जयदेव     ०८     ८२     ९०
१३ विश्वनाथ     -     -     ९०
१४ अप्पय दीक्षित     -     -    १२५
१५ जगन्नाथ     -     -    १८०
यसरी हेर्दा, भरतकै समयदेखि भामह अनि भामहको समयदेखि आरम्भ गरेर जगन्नाथको समयसम्म आइगुग्दा अलङकार सङ्ख्या ०४ देखि १८० सम्म पुगेको देखिन्छ ।
आचार्य भरतले ४ वटा अलङकार मानेर अलङकारको पसल खोले पनि यिनले शब्दका ३६ वटा लक्षण मानेको देखिन्छ । ३६ वटा बाहेक पनि दण्डीले अलङकारको केही भेद-उपभेद बताएकाले  उनको अलङ्कार सङ्ख्या बढ़ेको देखिन्छ । यसरी अलङ्कारको सङ्ख्या घट्-बढ़ भइरहेको देखिन्छ । समुच्चामा भन्नुपर्दा, अलङ्कारको सङ्ख्या यति-उति भनेर तोक्न गाह्रो र अप्ठ्यारो काम भए पनि अलङ्कारको भेदोपभेद तीन प्रकारको देखिन्छ - (क) शब्दालङ्कार, (ख) अर्थालङ्कार, (ग) उभयालङ्कार ।
(क) शब्दालङ्कार - राजा भोजले आफ्नो "सरस्वतीकण्ठामरण" ग्रन्थमा शब्दालङ्कारको परिचय यसरी दिएका छन् -
"ये व्युत्पत्त्यदिना शब्दमलङ्कर्त्तुमिह क्षमाः
शब्दालङ्कारसंज्ञास्ते।।"
अर्थात्, जसले व्युत्पत्ति आदिद्वारा शब्दलाई अलङ्कृत पार्दछन् ती शब्दालङ्कार हुन् ।
यसरी शब्दका माध्यमबाट चमत्कार एवम् वैचित्र्य प्रकट भए काव्यलाई अलङ्कृत पार्दछ भने त्यसलाई शब्दालङ्कार भनिन्छ ।
यस अलङकापरमा शब्द फेरेर पयार्यवाचक शब्द राख्न सकिँदैन; यही नै यसको विशेषता हो । अर्थात् शब्द परिवर्तन सहँदैन शब्दालङ्कारले । यस शब्दालङ्कारले शब्दराशिलाई सुन्दर बनाउँछ । शब्दलङ्कारको क्षेत्र सानो भएकाले यसका सामान्तय चार भेद देखिन्छन् -
(१) अनुप्रास अलङ्कार, (२) यमक अलङ्कार, (३) श्लेष अलङ्कार  र (४) वक्रोक्ति अलङ्कार ।
(१) अनुप्रास अलङ्कार - "अनु+प्र+आस" शब्दहरूको योगबाट बनेको अनुप्रास शब्दको "अनु" शब्दले अघिल्तिर प्रयोग हुने उपसर्ग, "प्र" शब्दले निकटता अनि "आस" शब्दले घरिघरि (पटकपटक /बारम्बार) भन्ने बुझाउँछ । अनुप्रास शब्दको शाब्दिक अर्थ हो घरिघरि रखाइ । कुनै व्यञ्जनवर्ण विशेष पटकपटक दोहोरिनुलाई अनुप्रास भनिन्छ । यसलाई यसरी पनि परिभाषित गर्न सकिन्छ, कुनै वाक्य / पङक्तिमा एउटै वा धेरै व्यञ्जन वर्ण पटकपटक (घरिघरि) दोह्रोरिए वा आवृत्ति भए अनुप्रास अलङ्कार बन्दछ । जस्तै -
(क) "कैले पुग्छू कहाँ छन् भनिकन मनले दश् दिशा दृष्टि दीँदै ।" - भानुभक्त
यस पङ्क्तिमा "द" - "द" - "द" वर्ण दोहोरिएर अनुप्रास भएको छ ।
(ख) "पोखराजका पिता पुष्पजीवी । पिल्पिलाउँदो पिलन्धरे । पूँवाले पगरी, पछ्यौरा र पटुका त्यसका परापूर्वको पहिरन ।" - रुपनारायण सिंह
यस वाक्यपङ्क्तिमा "प" - "प"- "प" पटकपटक दोहोरिएकाले अनुप्रास अलङकार परेको छ।
अनुप्रास अलङ्कारका पाँच भेद मानिन्छन् - (अ) छेकानुप्रास अलङ्कार, (आ) वृत्यनुप्रास अलङ्कार, (इ) लाटानुप्रास, (ई) श्रुत्यनुप्रास अलङ्कार र (उ) अन्त्यानुप्रास अलङ्कार ।
(अ) छेकानुप्रास अलङ्कार - छेक शब्दको अर्थ प्रिय हो । यसैकारण यसलाई "प्रिय अनुप्रास" पनि भन्ने गरिएको पाइन्छ । धेरै व्यञ्जनवर्णहरु एकपल्ट दोहोरिएमा छेकानुप्रास अलङ्कार हुन्छ । जस्तै -
"सारा सागरको खार चालने चालनी सरी,
घुम्दै स्वादिलो पानी मेघ छर्दछ छर्छरी ।। " -लेखनाथ पौड्याल
यस पङ्क्तिमा "सा-सा" - "चा-चा" र "छर्-छर्"-को शब्द अघिल्ला क्रममा "ल-ल"-को शब्द माझ क्रममा र "नी-नी" र "री-री"-को शब्द पछिल्ला क्रममा एक एक पटक मात्र दोहोरिएकोले छेकानुप्रास अलङ्कार बनेको छ ।
(आ) वृत्त्यनुप्रास अलङ्कार - एक वा एकभन्दा घेरै व्यञ्जनवर्णहरू धेरैपटक दोहोरिँदा वृत्त्यनुप्रास अलङ्कार हुन्छ । जस्तै -
"गरीब भन्छौ सुखको म झैं धनी
मिल्दैन संसारभर कतै पनी ।
विलासको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम ।।" देवकोटा
यस पङ्क्तिमा "म", "न" र "स" व्यञ्जनवर्ण धेरै चोटि दोहोरिएकाले वृत्त्यनुप्रास अलङ्कार देखिएको छ ।
(इ) लाटानुप्रास अलङ्कार - वर्तमान गुजरात प्रान्तको लाट देशका कविहरूद्वारा यो अलङ्कारलाई प्रयोगमा ल्याइएको हुनाले यसलाई लाटानुप्रास अलङ्कार भनिएको हो । यसलाई पदानुप्रास पनि भनिन्छ । अर्थ एउटै तर तात्पर्य अर्कै भएमा शब्द दोहोरिँदा लाटानुप्रास अलङ्कार बन्दछ । जस्तै -
"रामको करुणा पाएर गुड गोबर बन्दछ
त्यो नपाए पनि हेर ! गुड गोबर बन्दछ ।। " कुलचन्द्र गौतम ।
उपरोक्त पङक्तिमा गुड़ र गोबर शब्दले वाच्यार्थ एउटै भए पनि (गोबरले झैं तुच्छले सक्खरजस्तै असल हुनु र सक्खर झैं  असलले गोबर झैं तुच्छ हुनु) तात्पर्य भेद देखिएकाले यहाँ लाटानुप्रास अलङ्कार प्रदर्शित भएको छ ।
(ई) श्रुत्यनुप्रास अलङ्कार - एउटै उच्चारण स्थानबाट उच्चारण हुने व्यञ्जनवर्णहरू पटकपटक दोहोरिए श्रुत्यनुप्रास अलङ्कार हुन्छ । जस्तै -
"वनै घनक्क घन्किने कपाल आज सकियो
म जान्न जान्न है प्रभो ! म खान्न खान्न है हवा । " देवकोटा ।
यस पङ्क्तिमा "घ - क" कण्ठ, "प - व" ओष्ठ्य, "न" दन्तमूल, "ह" कोमल र "प" तालव्य स्थानका वर्णहरू पटकपटक दोहोरिएकोले श्रुत्यनुप्रास अलङ्कार पर्न गएको छ ।
(उ) अन्त्यानुप्रास अलङ्कार - कुनै पनि श्लोक वा कविताको विश्राम स्थान (पाउको अन्त्यमा) समान वर्ण वा वर्णसमूह दोहोरियो भने अऩ्त्यानुप्रास अलङ्कार हुन्छ । जस्तै -
"तरवार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुकसम्म भिरी ।
अति शुर र वीर भरी नगरी
छ त कुनसरि कान्तिपुरी नगरी ।।" भानुभक्त ।

(२) यमक अलङ्कार - यमकको अर्थ जोड़ी हो । दुइ-तीनवटा स्वर र व्यञ्जन वर्णहरू पहिलेकै क्रमानुसार दोहोरिएको खण्डमा यमक अलङ्कार बन्दछ । जस्तो -
"सब हिमाल हिमालयका खुले, नस सरोज-सरोजलमा फुले ।
अब पलाश-पलाशमहाँ चढ़े, तप अशोक-अशोक भई बढ़े ।।" सोमनाथ ।
यस पङ्क्तिमा उस्तै-उस्तै स्वरव्यञ्जन समूह भएका पदहरू वा अक्षरहरू गोहोरिए तापनि "हिमाल-हिमाल" तथा "सरोज-सरोज"-मा अघिल्लो पद सार्थक र पछिल्लो पद निरर्थक छ भने "पलाश - पलाश" तथा "अशोक-अशोक"-मा दुवै स्थानमा दुवै पद सार्थक छन् र यमक अलङ्कार पर्न गएको छ ।
(३) श्लेष अलङ्कार - एउटै श्लिष्ट ( = मिल्नु / एकभन्दा धेर अर्थ मिलेको शब्द) शब्दमा दुइ वा दुइभन्दा धेर अर्थ लुकेका भए श्लेष अलङ्कार हुन्छ । जस्तै -
"पल्टन्छ जस्को बलियो शत्रु, को अघि सर्दछ ।
पल्टन् छ जस्को बलियो, शत्रु, को अघि सर्दछ ।।"
यस पङ्क्तिमा "पल्टन्छ" शब्दले जाइ लाग्नु अनि "पल्टन्" शब्दले फौज जस्ता दुइ-दुइवटा अर्थ यसैले यो दुइ किसिमको हुन्छ - (अ) शब्दश्लेष अलङ्कार र (आ) अर्थश्लेष अलङ्कार ।
(अ) शब्दश्लेष अलङ्कार - एउटै शिष्ट पदबाट धेरै अर्थ निस्कने शब्दलाई शब्दश्लेष अलङ्कार भन्दछन् । अथवा शब्द परिवर्तन गर्न नमिल्ने गरी रहेका श्लिष्ट पदबाटै शब्दश्लेष अलङ्कार बन्दछ । जस्तै -
"तँ अड़िने साहसै छैन खुला भएसम्म गलेबन्द
खुला दोकान को राख्छ गलेबन्द भए कुनै ।" लेखनाथ पौड्याल ।
माथिका पङ्क्तिमा एउटै "दोकान" शब्दले दुइवटा अर्थ (एउटा दुइ कान र अर्को पसल) दिएकाले शब्दश्लेष अलङ्कार हुन गएको छ ।

(आ) अर्थश्लेष अलङ्कार - शब्द परवर्तन गर्दा वा अर्को पर्यायवाची शब्द राख्दा पनि अनेकार्थ नखमजिने गरी बनेको श्लेषलाई अर्थश्लेष भनिन्छ । जस्तै -
"कलाले पूर्ण तेजस्वी रसीला रामचन्द्र हुन् ।"
यहाँ रामचन्द्र शब्दले राम र चन्द्रमा दुवै अर्थ दिएकाले यो अर्थश्लेष अलङ्कार हुन गयो ।

(४) वक्रोक्ति अलङ्कार - बोल्नेले एउटा अर्थमा भनेको कुरा सुन्नेले अर्कै अर्थ लाएर उत्तर दिएमा वक्रोक्ति अलङ्कार हुन्छ । बाङ्गो वा घुमाउरो भनाइ सोझो अर्थमा नै विशेष व्यङ्ग्य लुकेको उक्ति नै वक्रोक्ति हो । वक्रोक्ति अलङ्कार दुइ प्रकारले हुने गरेको पाइऩ्छ - (क) श्लेषवक्रोक्ति अलङ्कारद्वारा, (ख) काकूवक्रोक्ति अलङ्कारद्वारा । श्लेषवक्रोक्ति अलङ्कार, समङ्ग वक्रोक्ति अलङ्कार, अ्मङ्ग वक्रोक्ति अलङ्कार र समङ्गाभङ्ग वक्रोक्ति अलङ्कार गरी तीन थरीका हुन्छन् ।
(क) श्लेषवक्रोक्ति अलङ्कारद्वारा - निम्न पङक्तिमार्फत् श्लेषवक्रोक्तिद्वारा वक्रोक्ति हुने गर्दछ । जस्तो -
"पाएँ अभीष्ट अब रद्द गऱ्यौ मलाई
सद्दे छँदै कसरी रद्द भयौ त भाई ।।"
यहाँ मैले खोजेको अभीष्ट कुरा पाएँ, तिमीले मलाई रद्द (अतिप्रसन्न) पाऱ्यौ भनी प्रथम वक्ताले भन्दा फेरि दोस्रो वक्ताले प्रश्न गर्छ - तिमी सद्दे (असल) छँदाछँदैमा रद्द (निकम्मा) कसरी भयौ ? भनी श्लेषद्वारा वक्रोक्ति गरिएको छ ।
(ख) काकूवक्रोक्ति अलङ्कारद्वारा - काकूवक्रोक्ति अलङ्कारद्वारा हुने  वक्रोक्तिको उदाहरण "श्रीरामका चरणका भर नपर्नू ?"
यसमा काकूवक्रोक्ति अलङ्कारद्वारा "श्रीरामका चरणमा भरमा पर्नू" भन्ने अर्थ बुझिन्छ ।

२. अर्थालङ्कार - अर्थको चमत्कार देखाएर काव्यको सौन्दर्य बढ़ाउने कलालाई अर्थालह्कार भनिन्छ । रोजा भोजले अर्थालङ्कारलाई यसरी परिभाषित गरेका छन् -  "जसले व्युत्पत्तिद्वारा अर्थलाई विभूषित पार्दछन्, ती अर्थालङ्कार हुन् ।"
अर्थालङ्कार आश्रित हुने वा रहने अलङ्कारद्वारा भनिन्छ । एउटा वर्णका ठाउँमा अर्कै वर्ण राखे पनि वा पर्यायवाची शब्द राखे पनि नखजमिने किसिमको अलङ्कार नै अर्थालङ्कार हो । "लोचनका तारा" भने ेपनि "आँखाका तारा" भने पनि अर्थ एउटै हो र यी दुवै उपमा अलङ्कार हुन् । अर्थालह्कारले शब्द परिवर्तन सहन गर्छ ।  अर्थालङ्कारमा उपमा आदि अलङ्कार पर्दछन् भने यसको क्षेत्र शब्दालङ्कारजस्तो सानो नभएर ठूलो छ । यसैकारण अर्थालङ्कार थुप्रै छन् र तिनमध्ये केही प्रचलित अर्थालङ्कारहरूलाई मात्र यहाँ निम्नानुसार राखिएका छन् -
१. उपमा अलङ्कार - सम्पूर्ण अलङ्कारहरूमध्ये यस "उपमा अलङ्कार"-लाई अलङ्कारहरूका राजा वा माउ ठानिएको छ ।
"उपमा"-को अर्थ नजिक वा छेउ हो कुनै चिजलाई कुनै अर्को चिजको नजिक वा छेउमा राखेर त्यसको समानता वा असमानता देखाउनु वा प्रस्तुत गर्नु नै "उपमा अलङ्कार" हो । अर्थात् उपमा र उपमेयका बीच रुप, गुण, क्रिया आदिको समानता देखाउँदा वा दाँज्दा उपमा अलङ्कार हुन्छ । उपमा अलङ्कारका चार पक्ष छन् - (अ) उपमेय, (आ) उपमान, (इ) वाचक र (ई) धर्म (गुण, क्रिया) ।
(अ) उपमेय - जुन वस्तुको तुलना गरिन्छ त्यसलाई उपमेय भनिन्छ ।
(आ) उपमान - जेसित तुलना गरिन्छ त्यसलाई उपमान भनिन्छ ।
(इ) वाचक - जुन शब्दद्वारा तुलना गरिन्छ त्यसलाई वाचक भनिन्छ । जस्तै - झैं, तुल्य, यथा, सरि, समान, सरह, जस्तो, जस्तै इत्यादि  वाचक शब्द हुन्  ।
(ई) धर्म (गुण, क्रिया) - उपमेय र उपमानमा मिल्दो गुण, रुप, क्रियालाई धर्म (गुण, क्रिया) भनिन्छ । उदाहरण -
"घरमा मेरी जहान 1 यौटी बत्ती2 झैं3 बलेकी4 ।  - देवकोटा ।
१. जहान = उपमेय, २ बत्ती = उपमान, ३. झैं = वाचकशब्द,  ४. बलेकी (बल्नु) = धर्म ।
उपमा अलङ्कारका छब्बीस भेद मानिए तापनि मुख्य रुपमा यसका पाँच भेद मुख्य मानिन्छन् -
(क) पूर्णोपमा अलङ्कार, (ख) लुप्तोपमा अलङ्कार, (ग) उपमेयोपमा अलङ्कार,  (घ) रसनोपमा अलङ्कार र (ङ) मालोपमा अलङ्कार ।
(क) पूर्णोपमा अलङ्कार - उपमा अलङ्कारका चारैवटा पक्ष अथवा उपमेय, उपमान, वाचक र धर्म पूरा भए पूर्णोपमा अलङ्कार हुन्छ । जस्तो -
"घरमा मेरी छन् बूढ़ी आमा, ती सेतै फुलेकी ।
घरमा मेरी जहान1 यौटी ब्ती2 झैं 3 बलेकी4 ।।" - देवकोटा ।
(१. उपमेय, २. उपमान, ३. वाचकशब्द, ४. धर्म ।)
  (ख) लुप्तोपमा अलङ्कार - उपमा अलङ्कारका चार पक्षमध्ये उपमान र वाचकबाहेक अन्य कुनै पक्ष नहुँदा वा लोप भएमा लुप्तोमा अलङ्कार हुन्छ । जस्तो -
"मुख तिनको चन्द्रमाजस्तो, आँखा कमलपत्रजस्तो ।"
यसमा उपमेय, उपमान र वाचक पक्ष भए पनि धर्म (सुन्दर, खुलेको) लोप छन् ।
(ग) उपमेयोपमा अलङ्कार - उपमानलाई उपमेय र उपमेयलाई उपमा बनाएर देखाउँदा उपमेयोप अलङ्कार हुन्छ । जस्तो -
"मुख सुन्दर देखिन्छ पद्म झैं नित्य उज्जवल ।
पद्म देखिन्छ मुख झैं नेत्राञ्चल अचञ्चल ।।"
- गोविन्दप्रसाद भट्टराई (पूर्वीय काव्य सिद्धान्त)
यस पङ्क्तिमा मुखलाई पहिले पद्मजस्तै अनि दोस्रोचोटि पद्मलाई मुखजस्तै ठानी उपमेय र उपमानमा समानता ल्याई दाँज्ने काम भएको छ ।
(घ) रसनोपमा अलङ्कार - ऋृङ्खलाबद्ध रुपले उपमेय र उपमानलाई प्रस्तुत गरिएमा रसनोपमा अलङ्कार हुन्छ । जस्तो -
"पानी1 जस्तै छ त्यो ऐना, ऐना2जस्तो छ चन्द्रमा ।
चन्द्र3जस्तो छ वदन नित्य निर्मल सुन्दर ।।"
- गोविन्दप्रसाद भट्टराई (पूर्वीय काव्य सिद्धान्त)
(१. पानी एनाको = उपमान, २. ऐना = चन्द्रको उपमान, ३. चन्द्र = वदनको उपमान ।)
(ङ) मालोपमा अलङ्कार - एउटै उपमेयका साथ थुप्रै उपमानहरू गाँसिएर आएमा मालोपमा अलङ्कार हुन्छ  । जस्तो -
"मदन झैं अति सुन्दर रुपमा, शशीसरी अति शीतल नेत्रमा ,
रवि समान समुज्जवल तेजमा, ठहरिए रघुनायक लोकमा ।।"

२. स्वभावोक्ति अलङ्कार - कुनै पनि मानिस (बालक आदि) वा पशुपक्षीको व्यवहार वा रुपको वर्णन भएमा स्वभावोक्ति अलङ्कार हुन्छ । जस्तै -
"बालक बबुरो द्विज शुकनामा
हुँ म परेको छु पिंजरामा
मकन हरे ! शिव ! शान्ति छैन
सपना बिच पनि रतिभर छैन ।।" (लेखनाथ पौड्याल)
यस पङ्क्तिमा बन्दी सुगाको स्वभाव चित्रित हुँदा स्वभोक्ति अलङ्कार भएको छ ।

३. अतिशयोक्ति अलङ्कार - अतिशय + उक्ति = अतिशयोक्ति । 'अतिशयोक्ति'-को अर्थ ज्यादै बढ़ाइचढ़ाइ गरेको अनि 'उक्ति'-को अर्थ भऩाइ वा कथन भन्ने बुझिन्छ । यस अर्थमा भनाइलाई पनि असाधारण भनाइ वा ज्यादै मात्रामा बढ़ाइचढ़ाइ गरी भनिएकोमा अतिशयोक्ति अलङ्कार हुन्छ । जसतो -
"चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौशी र आकाश ।
स्वर्गको अटाली हाँस्छिन् यौटी, यौटी छन् उदाश ।।" - देवकोटा (मुनामदन)
यस पङ्क्तिमा उपमेय (मुना)लाई शब्दले नभनी वा उल्लेखै नगरी चन्द्रमा र मुनाको एकरुपता देखाइएको छ भने उसको उपमान (चन्द्रमा)-को मात्र उल्लेख गरिएको हुनाले अतिशयोक्ति अलङ्कार पर्न गएको छ ।
अतिशयोक्ति अलङ्कार सात प्रकारको छ - (अ) रुपकोतिशयोक्ति अलङ्कार, (आ) सापह्नुवातिशयोक्ति अलङ्कार, (इ) भेदकातिशयोक्ति अलङ्कार, (ई) सम्बन्धातिशयोक्ति अलङ्कार, (उ) चपलातिशयोक्ति अलङ्कार, (ऊ) अक्रमातिशयोक्ति अलङ्कार, (ऋ) अत्यन्तातिशयोक्ति अलङ्कार ।  
(अ) रुपकोतिशयोक्ति अलङ्कार - उपमान वा अप्रस्तुत कथन मात्र प्रयोग गर्दा उपमेय बुझिए रुपकोतिशयोक्ति अलङ्कार हुन्छ ।
(आ) सापह्नुवातिशयोक्ति अलङ्कार - यस अलङ्कारलाई केही आचार्यहरूले मात्र मानेका छन् । जसरी प्रथम रुप अतिशय रुपमा छ त्यसरी नै अपह्वत अतिशय रुपमा वर्णित हुन्छ ।  रुपकातिशयोक्ति र अपह्नतिको संयोग हो यो सापह्नुतिशयोक्ति अलङ्कार ।
(इ) भेदकातिशयोक्ति अलङ्कार - जहाँ हेतुको चर्चा वा ज्ञानमात्रले कार्य सम्भव हुन्छ भने अर्थात् भिन्न वस्तुमा पनि भेद देखिए भेदकातिशयोक्ति अलङ्कार हुन्छ ।
  (ई) सम्बन्धातिशयोक्ति अलङ्कार - सम्बन्ध नभएको वस्तुमा सम्बन्ध या योग्यता देखाइएमा सम्बन्धातिशयोक्ति अलङ्कार हुन्छ ।
(उ) चपलातिशयोक्ति अलङ्कार -जहाँ हेतुको चर्चा वा ज्ञानमात्रले कार्य सम्भव हुन्छ त्यहा चपलातिशयोक्ति अलङ्कार हुन्छ ।
(ऊ) अक्रमातिशयोक्ति अलङ्कार - जहाँ कारण र कार्य एकैचोटि हुन्छ   अक्रमातिशयोक्ति अलङ्कार
(ऋ) अत्यन्तातिशयोक्ति अलङ्कार - जहाँ कारणभन्दा पहिल्यै नै कार्य सम्पन्न गरिन्छ त्यहाँ अत्यन्तातिशयोक्ति अलङ्कार हुन्छ ।  
 ४. रुपक अलङ्कार -जहाँ प्रस्तुत उपमेयमा प्रस्तुत वा उपमानको प्रयोग हुन्छ त्यहाँ रुपक अलङ्कार हुन्छ । उपमानलाई एउटै रुपमा वर्णन गरिन्छ । जस्तै -
"नाट्यशाला छ आकाश नाचने बिजुली नटी ।
ताल दिन्छ तबल्ची भै मैघ धाकिटी धाकिटी ।।" - लेखनात पौड्याल ।
उपरोक्त पद्यांशमा आकाशलाई नाट्यशाला, बिजुलीलाई नटी र मेघलाई तबल्ची रुपमा अभेद आरोप गरी रुपक अलङ्कार सिर्जना गरिएको छ ।  रुपक अलङ्कारका तीन भेद छन् - (अ) माला रुपक अलङ्कार, (आ) परमरित रुपक अलङ्कार र (इ) सावयव रुपक अलङ्कार ।
(अ) माला रुपक अलङ्कार - एउटै उपमेयमा धेरै उपमानको आरोप गरिएमा माला रुपक अलङ्कार हुन्छ । जस्तो -
"उनै कर्द, खुर्पी, चुलेसी कटारी ।
सनासो हुँदै चक्र बन्ने मदारी ।।
रुपौला शतच्छिद्र घैला बनेर ।
सुधा विन्दु बसाउँछन् चन्द्र हेर ।।" - सोमनाथ सिग्द्देल ।
यस पङ्क्तिमा उपमेय- चन्द्र अनि उपमानहरू - कर्द, खुर्पी, चुलेसी, कटारी, सनासो, मदारी, रुपौला, शतच्छिद्र, घैला मालाजस्तै देखिएकाले माला रुपक अलङ्कार प्रदर्शित भएको छ ।
(आ) परमरित रुपक अलङ्कार - एउटा आरोपलाई निमित्त मात्र बनाएर अर्को आरोप गरिदिएमा परमरित रुपक अलङ्कार बन्दछ । जस्तो -
"रस वेतनको लोभी याद् वा भ्रमर शिक्षक ।
आफ्नू जीविका गर्छन् पढाई पुष्प बालक ।।" - लेखनाथ पौड्याल ।
यस पङ्क्तिमा भ्रमरमा शिक्षकको आरोप भएको रुपक गरी त्यसैलाई निमित्त बनाएर रसमा वेतनको र बालकको अभेद्य आरोप गरिएकोले परमरित रुपक अलङ्कार  बन्न गएको छ ।
(इ) सावयव रुपक अलङ्कार - उपमेयका विभिन्न अङ्गहरूसित उपमानरुपी अङ्गीहरूको अभेद्य आरोप गरिएमा सावयव रुपक अलङ्कार बन्दछ । जस्तो - "विवेक हो सत्य देह, आत्मा उज्जवल तेल हो ।
न्याय, सदधर्म हुन् बाहु, धैर्य, गाम्भीर्य पाउ हुन् ।।" - सोमनाथ सिग्द्देल  ।
यस पङ्क्तिमा. विवेकमा देहको, तेजमा आत्माको. न्याय, सदधर्ममा बाहुको र धैर्य गाम्भीर्यमा पाउको आरोप गरिएको छ ।

५. दीपक अलङ्कार - "दीपक" शब्दको कोशगत अर्थ हुन्छ बत्ती वा दीप । एउटा स्थानमा राखेको बत्ती वा दीपले झलमल्ल उज्यालो पारे झैं प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान रुपले वर्णन भने त्यो दीपक अलङ्कार हुन्छ थ। जस्तो -
"रातिमा सुर्जे, विदामा हाँसो कसोरि मिलाऊँ ।
जानु नै भए नछाड़ि जानुहोस् साथमा सुहाउ।।" - देवकोटा ।
यहाँ प्रस्तुत "विदामा हाँसो" र अप्रस्तुत "रातिमा सुर्जे" दुवैको धर्म मिलाउन नसकिने अर्थात् एकैसाथ हुन नसक्ने कुरा देखाउन यी दुइमाझ सम्बन्ध स्थापित गरिएको छ ।

६. कारकदीप अलङ्कार - एउटा कारकका धेरै क्रियाका साथ सम्बन्ध जोड़िएमा कारकदीप अलङ्कार हुन्छ । जस्तो -
"नौलो पथिकको हाट खोज्छ, सोध्दछ, देख्तछ ।" सोमनाथ सिग्द्देल

७. उत्प्रेक्षा अलङ्कार - कुनै एउटा वस्तुसित अर्को वस्तुको अभेद कल्पना गरे त्यहाँ उत्प्रेक्षा अलङ्कार हुन्छ । जस्तो -
"उनको रगत बिहान-बिहान चोर्दै सूर्यले बराबर
पश्चिमतिर लगेको तिमीले कलकत्तामा समेत देखेको हुनुपर्छ" - बालकृष्ण सम (मुकुन्द इन्दिरा)
उत्प्रेक्षा दुइ प्रकारको हुन्छ - (अ) वाच्योत्प्रेक्षा उत्प्रेक्षा अलङ्कार र (आ) प्रतीयमानोत्प्रेक्षा उत्प्रेक्षा अलङ्कार । यस्ता अलङ्कार कल्पना र सम्भावना गरिने हाँदा हो'कि, मानौं, झैं, प्रतीत हुने, झझल्को आउऩे शब्दको प्रयोग देखिन्छ ।

८. विरोधाभास अलङ्कार - साँच्चीकै विरोध नभए तापनि विरोधजस्तै बुझिए विरोधाभास अलङ्कार हुन्छ । जस्तो -
"होंचा भएर गिरिराज समस्त आए
गाम्भीर्य शून्य भइ सागर सात आए ।
वाचा खुलेन कविको उपमा नपाई
लाचार मै प्रभु अतुल्य भनेर गाए ।।" (कुलचन्द्र गौतम)
माथिका पङ्क्तिमा गिरिराजलाई होंचा र सागरलाई गाम्भीर्य भनिएकोले गुण सम्बन्धी विरोधाभास परेको छ ।

९. भ्रान्तिमान अलङ्कार - उपमेयमा उपमानको चमत्कारपूर्ण भ्रान्ति भएको खण्डमा भ्रान्तिमान अलङ्कार हुन्छ । जस्त -
"साँझमा कुल्चँदा डोरी, साँप नै कुल्चिएँ भनी ।
हरायो आत्तिँदा होश, फर्केर हेरिनँ भनी ।।"
यस पद्यांशमा अँध्यारोमा डोरी कुल्चँदा साँपको भ्रान्ति पर्ने गएकोले भ्रान्तिमान अलङकार भएको छ ।

१०. व्यतिरेक अलङ्कार - उपमेयलाई उपमानभन्दा धेर अथवा उपमानलाई उपमेयभन्दा थोर गराएर वर्णन गरेमा व्यतिरेक अलङ्कार हुन्छ । साहित्य दर्पणमा व्यतिरेक अलङ्कारलाई यसरी चिनाएको छ - "आधिक्यमुपमेयस्योपनान्नयूनुताथवाव्यतिरेक ।" जहाँ विपरीत वर्णन गरिन्छ त्यहाँ व्यतिरेक अलङ्कार बन्दछ । जस्तो -
  सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र ।
जूनमा हुन्छ कलङ्क हुन्न सतीको मनभित्र ।।" देवकोटा - (मुना मदन)
यस पङ्क्तिमा उपमान (जून)को अपेक्षा उपमेय (सती) मा गुणको आधिक्य देखाउँदै सतीको सर्वोत्कृष्टता सिद्धि गर्न खोजिएको छ भने उक्त सर्वोत्कृष्टता साबित गर्न निष्कलह्क रुप कारणलाई साक्षी राखिएकोले व्यतिरेक अलङ्कार बनेको छ ।

११. व्याजस्तुति अलङ्कार - 'व्याज'को कोशगत अर्थ हुन्छ छल । स्तुतिको वाक्यद्वारा निन्दा र निन्दाको वाक्यद्वारा स्तुति प्रकट भए व्याजस्तुति अलङ्कार बन्दछ । जस्तो -
"धिक्कार छ महाराज ! तिम्रो यो चातुरी पनि ।
वैरीलाई दिई स्वर्ग बस्यौं हामी उनै भनि ।" लेखनाथ पौड्याल
यहाँ राजाको स्तुतिद्वारा राजालाई नै निन्दा गरिएको छ । व्याजस्तुतिक चार रुप छन् - (क) निन्दाद्वारा स्तुति, (ख) स्तुतिद्वारा निन्दा, (ग) एउटालाई निन्दा गर्ने निहुँमा अरुलाई निन्दा गर्नु र (घ) एउटाले स्तुति गर्ने बहानामा अर्काको स्तुति गर्नु ।

१२. व्याजोक्ति अलङ्कार - संस्कृत भाषामा 'व्याजोक्ति' को अर्थ छलकपट, धोका, निहुँ, बहाना आदि हुन्छ । कुनै निहुँ वा बहाना गरेर अर्कै रहस्यमय कुरालाई व्यक्त गर्नुलाई व्याजोक्ति अलङ्कार भनिन्छ । जस्तो-
"शिवजीको हातमाथि पार्वतीको हात
हिमालले राखीदिए बड़ो खुशीसाथ ।
रोमाञ्चित भए शिव पार्वतीले छुँदा
जा़ड़ो भन्ने निहुँ गरी छिटो मागे विदा ।।थ" कुलचन्द्र गौतम
आफू रोमाञ्चित भएको कुरालाई शिवले जाड़ो भएको बहाना गरेकाले माथिको श्लोक व्याजोक्ति अलह्कार भएको छ ।

१३. अपन्हुति अलङ्कार - 'अपन्हुति' शब्दको कोशीय अर्थ हुन्छ लुकाउऩु ।  वर्ण्य वस्तुको निषेध गर्दै अन्य (अवर्ण्य) वस्तुको स्थापना गरिएमा अपन्हुति अलङ्कार हुन्छ । जस्तो -
"गाढ़ा भक्ति प्रथम यहि हो यो न भूतो भविष्य,
राजा होइनन्, त्रिभुवन यिनी देवता हुन् अवश्य ।।" भीमनिधि तिवारी
यहाँ राजा होइनन् भनेर निषेध गरेर देवताजस्तो उपमानको आरोप गरिएको छ। यसका छ भेद छन् -
(क) शुद्धापन्हुति अलङ्कार, (ख) हेत्वपन्हुति अलङ्कार, (ग) पर्यस्तापन्हुति अलङ्कार, (घ) भ्रान्त्यपन्हुति अलङ्कार, (ङ) छेकापन्हुति अलङ्कार र (च) कैतवापन्हुति अलङ्कार - ।
(क) शुद्धापन्हुति लङ्कार - जहाँ उपमेय र सत्य पदार्थलाई लुकाएर अर्को अप्रस्तुत स्थापना गरिन्छ त्यहाँ शुद्धापन्हुति अलङ्कार हुन्छ ।
(ख) हेत्वपन्हुति अलङ्कार - जहाँ उपमानलाई निषेध गर्दै निषेधको कारणलाई पनि स्पष्ट गरिन्छ त्यो  हेत्वपन्हुति अलङ्कार हुँदछ ।
(ग) पर्यस्तापन्हुति  अलङ्कार - जहाँ उपमेय वा वास्तविक घर्ममा विरोध गरी अन्त्यमा तिनको आरोप गरिन्छ  त्यहाँ पर्यस्तापन्हुति  अलङ्कार हुन्छ ।
(घ) भ्रान्त्यपह्नुति अलङ्कार  कुनै कारणबाट भ्रम हुँदा जब साँचो कुरा भनी भ्रममा निवारण गरिन्छ त्यतिबेला भ्रान्त्यपन्हुति अलङ्कार अलङ्कार हुन्छ ।
(ङ) छेकापन्हुति अलङ्कार - जहाँ वर्णन गर्दाको समयमा श्रोताले गुप्ति कुरा बुझ्दछ अनि तिनको चतुऱ्याइँले निषेध गरी ढाँट समाधान गरिन्छ भने त्यहाँ छेकापन्हुति अलङ्कार हुन्छ ।
(च) कैतवापन्हुति अलङ्कार - जहाँ प्रस्तुत प्रत्यक्ष निषेध नगरी चतुऱ्याइँले कुनै छल  (व्याज) आदि शब्दद्वारा निषेध गरिन्छ तब त्यहाँ कैतवान्हुति अलङ्कार हुन्छ ।

१४. दृष्टान्त अलह्कार - दृष्टान्त शब्दको अर्थ नै उदाहरण भएकाले एउटा उक्तिलाई अर्का उक्तिको उदाहरणबाट प्रमाणित गर्नु दृष्टान्त अलङ्कार हो । खासमा, उपमान र उपमेयमा साधारण धर्म विम्ब-पतिविम्ब भएमा दृष्टान्त अलङ्कार हुन्छ । जस्तो -
"उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ  छ ऱ ? - लेखनाथ (ऋतुवियार)
उपमेयलाई उपमानद्वारा पुष्टि गरिएको  छ यस पङ्क्तिमा । यहाँ गुणी व्यक्ति र फलको वृक्षको रूपमा धर्म नम्रता भएर उपस्थित छन् ।

१५. अर्थान्तरन्यास अलङ्कार - 'अर्थान्तर' भनेको एउटा भनाइको अर्को अर्थपूर्ण भनाइ । 'न्यास' भनेको राख्नु । सामान्य कथनलाई विशेषद्वारा तथा विशेषलाई सामान्यद्वारा समर्थन गर्नु नै अर्थान्तरन्यास अलङ्कारको उदाहरण हो । जस्तो -
"क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले हुँदैन ।
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।।" -
देवकोटा (मुनामदन)
यहाँ पहिलो पङ्क्तिको विशेष भनाइलाई दोस्रो वा अन्तिम अंशको सामान्य भनाइले पुष्टि गरेकाले अर्थान्तरन्यास अलङ्कार पर्न गएको  छ ।

१६. व्याघात अलङ्कार - एउटै वस्तु कसैका लागि प्रिय र कसैका लागि अप्रिय बन्छ भने तथा एउटा वस्तुबाट हुने कार्यलाई त्यही वस्तुबाट त्यसको विपरीत कार्य गरिँदा व्याघात बन्दछ । जस्तो -
(क) ''कसैको प्रिय कसैलाई अप्रिय हुने
       परदेश हुने कष्ट सुकुमारी ! घरै बस ।
       सुकुमारी म कसरी एक्लै घर कुरो भन ? - लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
(ख) विपरीत कार्य -
      "दृषटिले दग्ध ती काम दष्टिले नै जगाउने ।
       शिवलाई पनि  जित्ने कल्याण अम्बिके गरे ।।"
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)

१७. तुल्योगिता अलङ्कार - धेरै प्रस्तुत अथवा अप्रस्तुत मात्रैको एउटै धर्मद्वारा सम्बन्ध भए तुल्योगिता अलङ्कार बन्दछ । जस्तो -
'' हे मेरा राम ! हे मेरा कृष्ण ! जंगल पहाड़ ।
भीरका भोटे, वनका जन्तु, गाईको आहार ।।'' - देवकोटा (मुनामदन)
मदन भोट जाँदा बाटामा पर्ने सबै जङ्दगल, पहाड़, भीरका भोटे र वनका जन्तुमा प्रस्तुत वृतान्तहरू डरलाग्दा हुनु रुप एउटै धर्मद्वारा सम्बन्ध छुट्याइएकोले तुल्योगिता अलङ्कार पर्न गएको छ ।

१८. अनन्वय (अन्योन्य) अलङ्कार - अनन्वयको शाब्दिक अर्थ हुन्छ अर्का वा अन्य । उपमेयको अर्को उपमानसँग सम्बन्ध नभएमा अनन्वय (अन्योन्य) अलङ्कार हुन्छ । यो अलङ्कार दुइ प्रकारको हुन्छ - (अ) पूर्णानन्व्य अलङ्कार र (आ) लुप्तानन्वय अलङ्कार । जस्तो -
"हिमाल जस्तै छ सुन्दर हिमाल हाम्रो" - पूर्णानन्वय अलङ्कार
''हिमाल जस्तै छ हिमाल हाम्रो" - लुप्तानन्वय अलङ्कार

१९. प्रतीप अलङ्कार - प्रतीपको शाब्दिक अर्थ विपरीत वा उल्टो हो । प्रसिद्ध उपमानलाई उपमेय बनाएर दाँजिए प्रतीप अलङ्कार  हुन्छ ।जस्तो -
''यो गोरो मुखका समक्ष किन हो झुल्कीरहेको शशी?
हुन्छन् यो भ्रूकूटी समक्ष घनु ता कन्दर्य चैं व्यर्थ ली ।।
नीलो त्यो अरविन्द फुल्दछ वृथा यी नेत्रका सामुमा ।
ब्रह्माको पनि सृष्टि तर सम कतै देखिन्न यो लोकमा ।।" - लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यस पद्यांशमा मुखको भ्रूकूटीको, आँखाको उपमान भएका चन्द्र, कामदेवको धनु, अरविन्द (नीलकमल) सबै व्यर्थ भएका छन् र प्रतीप अलङ्कार भएको छ

२०. अनुमान अलङ्कार - कुनै कार्य (साध्य-साधनको ज्ञान, जस्तै धुवाँ देखेर आगोको ज्ञान हुनु) देखेर कारणको अनुमान गरिएमा अनुमान अलङ्कार हुन्छ । जस्तो -
  "देखिन्छन् विमिरा दुइ हृदयमा चोली उँभो टम्मको
   फुक्दो नित्य नितम्ब गम्म, कटि चैं झीनो हुँदै गैगयो ।
          पानीमा भुँवरी परे सरि भयो नामी गहीरा, अब
आए अंग अनंगमंगल हुँदै बालाविषे यी सब ।।''
लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यस पङ्क्तिमा बालाको यौवन अवस्था साध्य छ भने छातीमा विमिरा उठ्नु आदि नाभि गहिरिनुसम्मका कार्य साधन छैन र अनुमान अलङ्कार पर्न गएको छ ।

२१. परिणाम अलङ्कार - आरोप गर्न योग्य जुन उपमान छ त्यो आफै उपमेयको विषय भएर परिणत भए परिणाम अलङ्कार हुन्छ । जस्तै -
"भेटी मुसुक्कको हाँसो मलाई मित्रले दिए ।
     धेरै दिन बिताएर भेट्न जाँदा उहीं थिए ।।" -
लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
आरोप गर्न योग्य मुसुक्कको हाँसो नै उपमान छ यहाँ यस पङ्कितमा । त्यै हाँसोमा बदली भएकोले परिणाम  अलङ्कार भएको छ ।

२२. अत्युक्ति अलङ्कार - कसैको ढाँट वीरता, वियोग, उदारता, प्रेम, सुन्दरता, यश आदि ज्यादै मात्रामा बढ़ीब़ढ़ाइ वर्णन गरिएमा अत्युक्ति अलङ्कार हुँदछ । जस्तो -
''रथमाथि चढ़ी घुम्दा मनुजेन्द्र प्रियव्रत ।
धसिई रथका पाङ्ग्रा बने मात सात समुद्र नै ।"

२३. परिकर अलङ्कार - जहाँ क्रियालाई  विशेष रुपले प्रकट गर्ने कुनै विशेषण प्रयोग भएमा परिकर अलङ्कार हुन्छ । जस्तो -
"प्राणाधार ! विधाता ! जीवन सर्वस्व है नाथ ।
कसरी सहूँ विरह यो, सहेन दुर्दैयले साथ ।।'' - आदर्श राघव

२४. अर्थापत्ति अलङ्कार - एउटा वर्णन गर्दा अर्को पदार्थको वर्णन आफै सिद्ध हुन्छ भने त्यहाँ अर्थापति अलङ्कार हुन्छ । जस्तो -
"त्यस्ता धीर थिए अधीर वनमा ती राम भाई सँगै
   आँसू तर्र बगाउँदै वन-लतालाई सबै सोधदै ।।
सीते ! आज गयौ कहाँ ? किन तिमी, छोड़ी मलाई यहाँ
   भन्दै होश-बिनै रहे ठअब अरू होशी वियोगी कहाँ ?
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान) / वियोगमा राम पनि अधीर भए भने वियोगले कसलाई वियोगी बनाउँदैन भन्ने आशय यस पङ्क्तिको रहेकोले यो अर्थापति अलङ्कार भएको छ ।

२५. सम्भावना अलङ्कार - यो भएको भए यसो हुनेथ्यो भन्ने कल्पना गरेमा सम्भावना अलङ्कार हुन्छ । जस्तो -
"यो छाती मेरो चिरेर खोली नजर गराए ।
त्यो भन केही फर्कँदो होला, तस्वीर खोलाए ।।" - देवकोटा

२६. विषम अलङ्कार - जहाँ असमान र असङ्गतको सङ्घटन गरिन्छ त्यहाँ विषम अलङ्कार हुन्छ । जस्तो -
"गयौं रत्नाकर भनी समुद्र - तटमा जब ।
विगाऱ्यो नूनपानीले मुख मात्रै विशेषतः ।।'' (साहित्य प्रदीप)
रत्नाकरले रत्न दिनुपर्नेमा रत्न नदिएर  नुनिलो पानी मुखमा कोचरिदिएर मुख मात्रै बिगारेको कुरामा असमान र असङ्गत देखिएकोले विषम अलङ्कार पर्न गएको छ ।
विषम अलङ्कार 11 प्रकारको भए पनि यसका तीन भेद नै प्रमुख मानिन्छ -
(क) जहाँ असङ्गत समानतामा आश्चर्य वा अनौचित्यको भाव प्रकट हुन्छ,
(ख) जहाँ कार्य र रुप गुणको अनि कार्यभित्र रुप गुण देखिन्छ,
(ग) जहाँ राम्रो र अभीष्ट प्रयत्न गर्दा दुष्परिणाम र अनिष्टकारी फल प्राप्ति हुन्छ ।

२७.सम अलङ्कार - जहाँ क्रमशः गुणहरूका उत्कर्ष या अपकर्ष  दोस्रो वस्तुभन्दा भेद देखिन्छ त्यहाँ समअलङ्कार हुन्छ । जस्तो -
"चन्द्रमै चन्द्रिमा हुन्छे नदी सागर-गामिनी ।
योग्यमा योग्यकै हुन्छ समागम जहाँ पनि ।।" -
लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)

२८. लोकोक्ति अलङ्कार -प्रसङ्गवश कुनै लोकोक्ति, उखान-टुक्का आदिको प्रयोग भएमा लोकोक्ति अलङ्कार हुन्छ । जस्तो -
''अहिले ध्रुव मेरो आँखाको कसिंगर छ,
किन भन्छ्यौ कंका, त्यो हकदार हो ।
- बालकृष्ण सम (मुकुन्द इन्दिरा)
'आँखाको कसिंगर' जस्तो प्रसिद्ध वाग्धारा यहाँ प्रयोग भएकोले लोकोक्ति अलङ्कार बन्न गएको छ ।

२९. समासोक्ति अलङ्कार - समासोक्तिको अर्थ हो सङ्क्षिप्त कथन । सङ्क्षिप्त कथनबाट धेरै कुरा देखाउऩ खोज्दा अथवा प्रस्तुत वस्तुमा लिङ्ग, विशेषण र कार्यका आधारमा अप्रस्तु वस्तु पनि बोध भएमा समासोक्ति अलङ्कार बन्दछ । जस्तो -
"बजाई चौतर्फी विजय-नगरा त्यो घननन
उठी ठाड़ै गर्जी भुवनभर घुम्दै फनफन ।
खड़ा भै कृष्णारमा जलद तब केही बखतमा
बढ़्यो मेरो शोकाकुल मन खुशीको तखतमा ।।"
- लेखनाथ पौड्याल (तरुण तपसी)
यहाँ वर्णनीय बादलमा विशेषणको मात्र समानताले अवर्णीय विश्वविजयी वीरका व्यवहारको आरोप गरिएकोमा समासोक्ति अलङ्कार बन्न गएको छ ।

३०. काव्यलिङ्ग अलङ्कार - वाक्य वा पद जहाँ प्रमुख कारण बन्दछन्, त्यहाँ काव्यलिङ्ग अलङ्कार हुन्छ । जस्तो -
''तिम्रा नेत्र समान नील जलमा डुबे नि !!! इन्दीवर
छोप बागलले मुखाकृति लिने ती चन्द्रकै वैभव ।
तिम्रा ती गतिमा समान रहने ती हंस जम्मै गए
यी सादृश्य समेत हेर्न नदिने दुर्दैव मैमा फले ।।''
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
उपर्युक्त तीनवटै पदहरू चौथो पदका निम्ति कारण (हेतु) भएकाले काव्यलिङ्ग अलङ्कार पर्न गएको छ ।

३१. निदर्शन अलङ्कार - निदर्शनको स्वरुप दृष्टान्तकै झै हुन्छ । विम्ब-प्रतिविम्बको भावले कुनै कुरा सम्झाउँदा निदर्शन हुँदछ । वस्तुहरू माझ सम्बन्ध नभए पनि एकार्काका साथ विम्ब-प्रतिविम्ब भाव भएमा निदर्शन अलङ्कार हुन्छ। जस्तो -
"दिने नाना दुःख-प्रखर करले भूमिभरमा
चिरस्थायी को भो ? यति पनि नबुझ्ने किन अब ?
         दिने नाना दुःख प्रखर कस्तो ग्रीष्म दिनमा
     यही भन्दै लगे रवि पनि उतै पश्चिमतिर ।।
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
  यहाँ मान्छे र सूर्यको दुःख दिने काम समान धर्म छ । यी दुवै कामको विम्ब- प्रतिविम्ब भएकाले निदर्शन अलङ्कार हुन्छ । वस्तुको विम्बानुविम्ब भावमा तीन भेद छन् -
(क) जहाँ जुन असम्भावित कारणहरूमा सम्बन्ध स्थापित गरिन्छ,
(ख) उपमानका गुणहरूलाई उपमेयमा अऩि उपमेयका गुणहरूलाई उपमानमा स्थापना गरिन्छ अनि
(ग) पदार्थको सद् या असद् व्यहारबाट सद् या असद्को बोध भएमा ।

३२. कारणमाला अलङ्कार - एकका प्रति एक पूर्व-पूर्व कारण  हुँदै गएमा कारणमाला अलङ्कार हु्न्छ । जस्तो -
"लोभले हुन्छ है मोह मोहले स्मृति बिग्रने ।
स्मृति बिग्रे बुद्धिनारा नष्टबुद्धि मासिने ।।
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यहाँ लोभले मोह, मोहले स्मृति भ्रष्ट, स्मृति भ्रष्टले बुद्धि नाश हुने गरी अगाड़िका वस्तुहरू पछाड़िका कारण बन्दै गएका छन् र कारणमाला अलङ्कार पर्ने गएको छ ।

३३. मालादीपक अलङ्कार - अनेक धर्मका धर्मी वस्तुहरूको उत्तरोत्तर एउटै धर्ममा बाँधिए मालादीपक अलङ्कार हुन्छ । जस्तो -
"रणरंग विषे धुन हात लिदा
 धनुले पनि वाण लिए सहसा ।
अनि वाणहरू पनि शत्रु शिर
तिनले पृथिवी प्रभुले सुयश ।।"
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यहाँ शब्दका सम्बन्धमा धनु, वाण, शत्रु, शिर, यश सबै बेग्ला-बेग्लै धर्मका धनीहरू बाँधिएकाले मालादीप अलङ्कार पर्न गएको छ ।

३४. अप्रस्तुत प्रशंसा - अप्रस्तुत (अप्रासङ्गिक) ले प्रस्तुतको कुरा गर्दा अप्रस्तुत अलङ्कार हुन्छ। यस अलङ्कार निम्न प्रकारले हुन सक्छन् -
(क) अप्रस्तुत सामान्यले विशेषको व्यङ्ग्य प्रकाश गर्दा,
(ख) अप्रस्तुत विशेषले प्रस्तुत सामान्यको व्यङ्ग्य प्रकाश गर्दा,
(ग)  अप्रस्तुत कार्यले प्रस्तुत कारणको व्यङ्ग्य प्रकाश गर्दा,
(घ) अप्रस्तुत कारणले प्रस्तुत कार्यको व्यङ्ग्य प्रकाश गर्दा,
(ङ) अप्रस्तुत समान वस्तुले प्रस्तुत सामान्य वस्तुको व्यङ्ग्य प्रकाश गर्दा । जस्तो -
''गुलाफ जस्तो फुलेको दिल कोपिला हुँदैन ।" - देवकोटा
यहाँ नायिकाको मनोभावना (अप्रस्ततु) प्रकट हुनाले अप्रस्तुत अलङ्कार पर्न गएको छ ।

३५. विभावना अलङ्कार - जहाँ कुनै रुपमा कारण बिना पनि कार्य भएको देखाइए विभावना अलङ्कार हुन्छ । जस्तो -
"उसै कटि भयो झीनो चंचलाक्षी भइन् उसै ।
गहना विनकै राम्रो बैंसले जीउ पार्दियो ।।''
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यस पङ्क्तिमा राम्रो पार्ने मुख्य कारण गहना नभनेर अमुख्य वैंश हो भनिएकोमा विभावना अलङ्कार पर्न गएको छ ।

३६. विशेषोक्ति अलङ्कार - कारण पूर्ण भए पनि कार्य असम्भव भएमा विशेषोक्ति अलङ्कार हुन्छ। जस्तो -
"मेरो माया साथमै छौ तिमी
भेट्ने रहर मेटिन्न तैपनि ।।"ॉ
भेट हुने कारण छ तर भेट हुने रहर मेटिने कार्य असम्भव भएमा विशेषोक्ति अलङ्कार हुन्छ ।

३७. परिसङ्ख्या अलङ्कार - प्रश्न गर्दै होस् वा बिना प्रश्नै पनि अरुलाई निषेध गर्दै एक वस्तुको दृढ़तापूर्वक स्थापना गरे परिसङ्ख्या अलङ्कार हुन्छ । यसका शुद्धा, प्रश्नपूर्विका र आर्थी गरी चार भेद छन् । उदाहरण -
''के चैं हुन् गहना ? नलेउ सुनका, चोर्नै नसक्ने यश,
के हुन् कर्म ? सुकर्ममा लिने, छन् आर्त-सेवा बुझ ।
के हुन् नेत्र ? विशेष झल्मल, सबै देखाउऩे बुद्धि हो,
जान्ने के ? सद्सद् विवेक बलले, त्यो ब्रह्म यौटै त हो ।।"
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)

३८. उल्लेख अलङकार - कुनै एउटा वस्तु वा व्यक्तिलाई धेरै प्रकारले वर्णन गरिएमा उल्लेख अलङ्कार हुन्छ । यो दुइ प्रकारको हुन्छ -
(क) एक वा एकभन्दा धेर विशेषताहरूको आधारमा धेरै प्रकारले वर्णन गर्नु ,
(ख) एउटा वस्तुलाई धेरै व्यक्तिद्वारा धेरै प्रकारले वर्णन गर्नु,
उदाहरण -
"यौटै हुन् महिला भइन् तर कतै आमा दिदी भाउज्यू
बैनी नन्द फुपू कतै सहचरी शाशू र छोरो बधु ।
यौटै चन्द्र छ पर्छ विश्व जलमा ऐना हीरातिर
भिन्नै-भिन्न हुने छ महिमा उल्लेख हो बुझ ।।
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
एकै जना आइमाई मान्छेको विविध रुप प्रस्तुत भएकोले उल्लेख अलङ्कार पर्न गएको छ ।

३९. सन्देह अलङ्कार - चमत्कारपूर्ण रुपमा यसो हो कि यसो हो भनेर सन्दैह गर्दा सन्देह अलह्कार हुन्छ । कि, या, वा, अथवा यसका वाचक शब्द हुन् । जस्तो - "न वा त्यो चरी हो न वा त्यो परी हो ?
न वा कृष्णको मोहनी माधुरी हो ?
न वा विश्व सौन्दर्यको चातुरी हो ?
यसै कान पियुषले नै भारी भो ।।" - देवकोटा
उपमेयमा उपमानको संशयलाई सन्देह अलङ्कार भनिन्छ । सन्देह अलङ्कारका तीन भेद छन् - (क) शुद्ध सन्देह, (ख) निश्चयगर्भ सन्देह र (ग) निश्च्यान्त सन्देह ।
४०. यथासङ्ख्य या क्रम अलङ्कार - भनिएका वस्तुमा भनिएका वस्तुको सम्बन्ध ऋृङ्खलाबद्ध भए य़थासङ्ख्या या क्रम अलङ्कार हुन्छ । यथासङ्ख्य नै यस अलङ्कारको विशेषता हो । जस्तो -
"फक्रिन्छन्, चुँड़िदेऊ, बग्दछ, मजेत्रोको समेट्ने गर,
क्रीड़ाङ्नमा पसे, छनछनी चूराहरू पार त ।
यस्ता बेल र दक्षिणानिल कुहू कण्ध्वनी लक्षित
तिम्रा ती विरहव्यथातिर सखी, गर्छन् कुरा सल्बल ।।"
- लक्ष्मीप्रसाद शर्मा (अलङ्कार सागर सोपान)
यस पङ्क्तिमा फक्रिने बेलसँग, मलयावायुसँग, उपवनमा पस्ने कोकिलसँग क्रमैले सखीहरू वाक्य सम्बन्धित भएकाले यथासङ्ख्या अलङ्कार पर्न गएको छ ।

४१. कारणमाला अलङ्कार - कारणबाट उत्पन्न कार्य पहिले कारण बन्दछ या कार्यको जुन कारण छ त्यो कार्य हुँदै गए कारणमाला अलङ्कार हुन्छ । जस्तो -
"विद्याले खुट्टा छुन्छ, नम्रताबाट सभ्यता ।" -सोमनाथ सिग्द्येल (साहित्य प्रदीप )
अथवा,
"लोभले हुन्छ है मोह, मोहले सङ्गति बिग्रने ।
स्मृति बिग्रे बुद्धिनाश नष्ट बुद्धि मासिने ।।"
एकको पछि एक कारण हुँदै गएमा कारणमाला अलङ्कार हुन्छ ।

४२, एकावली अलङ्कार - विशेषण र विशेष्य क्रमबद्ध रुपमा प्रस्तुत हुँदा एकावली अलङ्कार हुन्छ । जस्तो -
"तलाऊणा हुन्थे कमल तिनमा चैं फ्रमर थे
थिए ती संगीत स्वर सहित जो तान भरथे ।
थियो जो त्यो गीती स्वर उदय गर्ने विषयको
प्रिय-प्रेमीलाई मदन रसमा स्वाद सरिको ।।"
यस पङ्क्तिमा तलाउमा कमल, गीत गाउने भ्रमरा, गीत कस्तो थियो ? भनी प्रश्न गरिएको छ । जति विशेष्य थप्दै गए पनि तलाउकै विशेषण भएर थपिएकाले एकावली अलङ्कार पर्न गएको छ ।

४३. स्मरण अलङ्कार - कुनै वस्तु देखेर कुनै अनुभव गरिएको वा देखिएको वस्तुको सम्झना भए स्मरण अलङ्कार हुन्छ । जस्तो -  
"खेल्ने कमलमा देख्दा भ्रमरा झट्ट संझिएँ ।
गोरी मुख र ती आँखा, सपना हो कि ब्यूँझिएँ ।।

४४. अर्थश्लेष अलङ्कार - एउटै अर्थ हुने शब्द अर्थका बलले दुइ अर्थ लिने र दुवै अर्थले समानविशेषता लिए अर्थश्लेष अलङ्कार बन्दछ । जस्तो -
"खोलो सत्कर्मको बाटो उज्याला दिग्दिगन्तर ।
पारेर जन सेवामा लाग्ने आज विभाकर ।"

४५. प्रतिवस्तूपमा अलङ्कार - जहाँ निरपेक्ष उपमेय र उपमान वाक्यमा शब्दभेदले एउटै अर्थको कथन भएमा प्रतिवस्तूपमा अलङ्कार हुन्छ । जस्तो -
"मुख पृथ्वीमा शोभा पाउँछ, कमल जलमा चम्कन्छ ।
- गोविन्दप्रसाद भट्टराई (पूर्वीय साहित्य सिद्धान्त)

४६. सूक्ष्म  अलङ्कार - जहाँ अर्काको भाव सम्झेर साभिप्राय प्रयासद्वारा उत्तर दिइन्छ त्यहाँ सूक्ष्म अलङ्कार हुन्छ । जस्तो -
"देखिन् पसिना चुहुने मुखबाट अघिल्तिर ।
सखीको हात तानेर खड्ग चिन्ह रचिन् तब ।।"
यहाँ आकार वा चेष्टाद्वारा कुनै गोप्य कुरा बुझाइएकोले सूक्ष्म अलङ्कार पर्न गएको छ ।ॉ

४७. चित्र अलङ्कार - कुनै पनि चित्र बनाएर सोही चित्रका रिक्त स्थानमा अर्थ लाग्ने गरी लेखिए चित्र अलङ्कार हुन्छ ।

४८. गूढ़ोक्ति अलङ्कार - एउटा लक्ष्य गरी अर्कोसँग केही कुरा गरिएमा गूढ़ोक्ति अलङ्कार हुन्छ । जस्तो -
"सन्तापको विविध रुप अनल्प आयो
कल्पन्छु रुन्छु, करूणा गर यो छुटाऊ।छ
प्रत्यक्ष भैकन नकल्प नकल्प भन्दै
हे कल्पवृक्ष ! अब लौ अघि सर्न जाऊ ।।"
- कुलचन्द्र गौतम (राघवलङ्कार)"
भगवान् रामलाई कल्प गरी कल्पवृक्षसँग सन्ताप मासिदिने कुरो गरिएको छ य़स पङ्क्तिमा ।

४९. मालित अलङ्कार - तुल्यताको भ्रमले गर्दा, वस्तु गुप्त भएको खण्डमा मीलित अलङ्कार हुन्छ। जस्तो -
"पर्दा कुण्डलको कान्ति स्वभाव रक्त त्यो मुख ।
चिनेनन् ती युवकले लालिमा रक्त-रञ्जित ।
यहाँ कुण्डलको लालिमा आगन्तुकले
कामातुराको लालिमालाई छोपेको छ ।"

५०. प्रौढ़ोक्ति अलङ्कार - कारण नभएको वस्तुलाई पनि कारण हुने देखाइएमा प्रौढ़ोक्ति अलङ्कार हुन्छ । जस्तो -
''धोएको दूधमा मोतीजस्तो श्वेत स्मितप्रभा ।"
- सोमनाथ सिग्द्देल (साहित्यप्रदीप)

यहाँ श्वेत स्मित-प्रभाको उपमानमा भएको मोती आफै सेतो हुनाले त्यसलाई दूधमा धोएको भन्ने हेतु दिनु व्यर्थ छ ।

५१. सहोक्ति अलङ्कार - कार्यकारणसहित सहवाची शब्दहरू (सँग, साथ, सँगै, सह आदि) द्वारा जहाँ थुप्रै विषयमा वा स्थानहरूमा एउटै वर्णन भएमा सहोक्ति अलङ्कार हुन्छ । जस्तो -
"ओठ पल्लवको जाग्यो वसन्त-गुण पाउँदा ।
प्रियामा प्रियको राग साथै संमोहन क्रिया ।।"
पाउलाको राश र ओष्ठपल्लवको राग बेग्ला-बेग्लै हुँदा पनि अभेद वर्णन गरिएकोले अतिशयोक्ति भेद् वा अभेद् वर्णनको पुट भएकोले यहाँ सहोक्ति अलङ्कार पर्न गएको छ ।  विशेष सहोक्ति पनि अतिशयोक्तिमाजस्तै अभेदमूलक र कार्यकारणको वैपिरत्यमा र श्लेषमूलमा भेदहरू हुन्छन् ।

५२. विनोक्ति अलङ्कार - जहाँ उपमेय या प्रस्तुत कुनै वस्तुबिना हीन अथक रम्य वर्णित हुन्छ भने  त्यहाँ विनोक्ति अलङ्कार हुन्छ । जस्तो -
"जलद-काल बिना पथ सुन्दर ।
प्रखर-ग्रीष्म बिना वन मंजुल ।
गगन-मेघ बिना छ सफा द्युति
कपट-छद्म बिना नरको मति ।।''
यहाँ 'बिना' शब्दले वस्तु, पथ, वन, गगन, मति सबै उत्कृष्ट वर्णन भएर विनोक्ति अलङ्कार हुन पुगेको छ ।

५३. पर्यायोक्ति अलङ्कार - भन्नुपर्ने कुरालाई व्यह्ग्य गर्दै, अरु कुरा गरेर बुझाए पर्यायोक्ति अलङ्कार हुन्छ ।  जस्तो -
"राजन! आज पढ़ाउऩे पनि कता ती राजपुत्री गइन् ?
रानी मौन भएर बस्नु किन भो ? कुब्जे ! छु भोकै छु म ता ।
क्या हो आज कुमार ! खान नभई मन्त्रीहरू छन् यही ?
भन्छन् पिंजर-भुक्त ती शुक गर्छ ती चित्रका छेउमा ।।"

५४. आक्षेप अलङ्कार - कुनै कुरा गर्दा गर्दागर्दै बीचैमा चट्ट कुरा काटेर अरु कुरा गर्नु वा कुरा गर्न नै छाड़दिनु आक्षेप अलङ्कार हुन्छ । जस्तो -
"तिम्रा विरहमा काटुन् कसरी तिनले दिन ।
पाषाणहृदयीलाई भनेरै हुन्छ के पुनः।।"

५५. असङ्गति अलङ्कार - जहाँ कारण, कार्य, स्थान, काल आदिको नियमविरुद्ध स्थिति देखिन्छ त्यहाँ असङ्गति अलङ्कार हुन्छ । जस्तो -
"उनी छिन् तरुणीबाला, हामीचैं धीर नै भयौं ।
उनी स्त्री जाति हुन्, हामी स्त्री तुल्य कातरै भयौं ।
उनी छातीविषे भारी बोक्छिन्, पीन-पार्थवर ।
हामीलाई भयो भारी भारले थिचिए सर ।।
उनीलाई मिचेको छ नितम्ब-गुरुभारले ।
हामी हिँड़्नै नसक्ने छौं उनैको गुरुभारले ।।''

यहाँ कारण नारीमा छ, कार्य पुरुषमा र नै असङ्गति अलङ्कार भएको छ ।

३. उभयालङ्कार
उभयालङ्कार - 'उभया+लङ्कार' = उभयालङ्कार ।
दुइ शब्दको योगबाट बनेको  'उभयालङ्कार'-मा शब्द र अर्थ दुवैमा सौन्दर्य र चमत्कार टड़्कारो रुपमा रहेको हुन्छ । जुन काव्यमा शब्दार्थ (शब्द र अर्थ) अभेद् रुपमा प्रकट भएो हुन्छ त्यहाँ  उभयालङ्कार रहेको देखिन्छ । उभयालङ्कारमा शब्दालङ्कारर अर्थालङ्कार छुट्याउँदै गाह्रो पर्ने गरी सन्निहित रहेको हुन्छ । अर्थात् एउटै पद्य वा वाक्यमा शब्दालङ्कार र अर्थालङ्कार मिसिएर ( निमित्त) रहेको हुन्छ ।  यसैकारण, यस्तो खाले अलङ्कारलाई यौगिक अलङ्कार र मिश्रित अलङ्कार पनि भन्ने गरिएको छ । यसैले पनि विद्वानहरूले भनेका छन्, जहाँ कविको उक्तिमा शब्दालङ्कार र अर्थालङ्कारले आलिँगनबद्ध भएको हुन्छ जो एकार्कामा छुट्टिनै सक्दैनन्। यौ नै उभयालङ्कार हो ।
उभयालङ्कारको दुइ भेद देखिएको छ - (क) संसृष्टि उभयालङ्कार अनि (ख) सङ्कर उभयालङ्कार ।
(क) संसृष्टि उभयालङ्कार - संसृष्टिको अर्थ हो योग, जोड़ तथा आपसी मेल । यसैकारण, शब्दालङ्कार र अर्थालङ्कार स्पष्ट रुपले निरपेक्ष भएर एउटै वाक्यमा (गद्य पद्य जेमा पनि) रहेका छन् भने (अ) संसृष्टि उभयालङ्कार हुन्छ । जसरी तिल-चामललाई सजिलैसित छुट्याउन सकिन्छ भने अलङ्कारमा पनि एक ठाउँमा धेर अलङ्कारहरू भए पनि केही फरक पर्दैन, सजिलैसित त्यो छुट्टिन्छ वा छुट्याउन सकिन्छ । जस्तो -
"आक्षित-रक्षित भो दया पाएर देवको ।
संसार-ध्वस्त-विध्वंस गर्ने श्री सूर्य ध्वास्त ।।"
यस श्लोकमा अर्थालङ्कारको अर्थश्लेष रहेको स्पष्टै बुझिन्छ । त्यसरी नै अरक्षित, रक्षित, सूर्य, शौर्य यमक अलङ्कार हुन् भन्ने खुट्याउऩ गाह्रो पर्दैन । त्यसरी नै दया, देव आदि शब्दहरू अनुप्रास अलङ्कार हो भनी सजिलैसित चिन्न सकिन्छ । संसारमा अन्याचय, अत्याचारमा बिना-निषेध अँध्यारोको आरोप रुपक अलङ्कार भएको छ । यी अलङ्कारहरू आपस्तमा वा एकार्कामा निरपेक्ष भावमा रहेकाले अनि अनुप्रास अलङ्कार र रुपक अलङ्कारको मेल संसृष्टि उभयालङ्कार भएको छ ।

(ख) सङ्कर उभयालङ्कार - सङ्कर शब्दको अर्थ हो मिसिएको वा मिलिएको । यो उभयालङ्कारलाई संसृष्टि उभयालङ्कारकै विपरीतमुखी देखिन्छ । संसृष्टि उभयालङ्कारमा तिल-चामल झैं छुट्याउन सकिने अलङ्कारको योग हुन्छ भने सङ्कर उभयालङ्कारमा विभिन्न अलङ्कारहरूको मेल भए पनि दूध र पानी छुट्याउऩ सकिँदैन । यसरी दूध र पानी ठुट्याउऩ नसके झैं छुट्याउन नसकिने थुप्रै अलङ्कारहरूको योग वा मेल भएमा सङ्कर उभयालङ्कार हुन्छ । यो तीन प्रकारको हुन्छ - (अ) अङ्गाङ्गीभाव सङ्कर उभयालङ्कार, (आ) एकाश्रयीभाव सङ्कर उभयालङ्कार र (इ) संदिग्ध सङ्कर उभयालङ्कार ।
(अ) अङ्गाङ्गीभाव सङ्कर उभयालङ्कार -
अलङ्कारहरू आफू-आफूमै अङ्गाङ्ग भावले बेग्ला-बेग्लै शब्द वा अर्थमा अङ्गाङ्गीभाव सङ्कर उभयालङ्कार  हुन्छ । जस्तै -
"विषयमा शयमा शयशून्यता, विभवमा भवमा पनि तुच्छता ।
अचलमा चलमा पनि दृष्टता, अब सहूँ वश हूँ कसरी म ता ।।"
- सोमनाथ सिग्द्देल (आर्दरश राघव)

(आ) एकाश्रयीभाव सङ्कर उभयालङ्कार - अलङ्कारहरू एउटै शब्द वा अर्थमा अङ्गाअङ्गी भावले रहेमा एकाश्रयीभाव सङ्कर उभयालङ्कार हुन्छ । जस्तै -
"न मेघ हो, न हो पानी, न धुँवा हो न वाफ हो ।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ?"
अथवा,
"अनुरागिणी छिन् सन्ध्या उनकै सामु छन् दिन ।
विचित्र छ देवगति हुँदैन तर सङ्गम ।।"
यहाँ समासोक्ति अलङ्कार विशेषोक्ति अलङ्कारको अङ्ग भएको छ ।

(इ) संदिग्ध सङ्कर उभयालङ्कार - श्लष र उपमा अलङ्कारको भाव भए संदिग्ध सङ्कर उभयालङ्कार हुन्छ । जस्तो -
"ग्रीष्म-सन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल ।
कृष्ण कादम्बिनीशून्य जूवाकै छ नभस्तल ।।" - लेखनाथ पौड्याल (ऋतुविचार)
यस श्लोकमा उपमा अलङ्कारको अङाअङ्गीभाव सङ्कर छ ।

पाश्चात्य वर्गीकरण -  'अक्सफोर्ड एऩसाइक्लोपीडिया'-मा अलङ्कारलाई आठ भेदमा विभक्त गरिएको पाइन्छ - (क) तुलनात्मक अलङ्कार, (ख) नामविपर्यय युक्त अलङ्कार,  (ग) विषमतामूलक अलङ्कार, (घ) अतिशयोक्तिपरक अलङ्कार, (ङ) प्रश्नोत्तर रुप अलङ्कार, (च) विपर्ययमूलक अलङ्कार, (छ) शब्द-वैचित्र्यपरक अलङ्कार र (ज) क्रमवैचित्र्यपरक अलङ्कार ।

'अक्सफोर्ड एऩसाइक्लोपीडिया'-मा दिइएका अलङ्कारलाई आठ भेद हेर्दा भारतीय (पूर्वीय) वर्गीकरण र पाश्चात्य वर्गीकरणमा धेरै नै समानता देखिन्छ । यिनमा शब्द-वैचित्र्यपरक अलङ्कारलाई शब्दालङ्कार नै मान्दा पनि हुन्छ । तुलनात्मक अलङ्कारलाई समतामूलक अर्थालङ्कार,  विषमतामूलक अलङ्कार, विरोधमूलक अलङ्कार ठान्नुपर्ने हुन्छ । प्रश्नोत्तर रुप अलङ्कारले तर्कमूलक अलङ्कारसित सामञ्जस्य राख्दछ भने  क्रमवैचित्र्यपरक अलङ्कार भने स्पष्ट रुपमा ऋृङ्खलामूलक अलङ्कार नै हो ।
[प्रकाशोन्मुख ग्रन्थ 'काव्यशास्त्र'-बाट ]