पूर्वकथन
सिलगढी राजेन्द्रप्रसाद हिन्दी गर्ल्स हायर सेकेण्ड्री स्कूलबाट हायर सेकेण्ड्री परीक्षा तिद्ध्याएर सिलग़ढ़ी कलेज भर्ना भएकी थिई नीता । ठिटौली उमेरदेखि नै हिन्दी भाषा पढ्नु बाहेक सोही भाषामै बोल्नुपरेकीले प्रथमपल्ट भेट्दा मसित नेपाली भाषामै बात गरे पनि उनलाई नेपाली शब्दोच्चारण गर्न निकै गाह्रो परिरहेको मैले छर्लङ्ङै बुझेँ । भूइँ क्लासदेखि बाह्र-बाह्र क्लासका किताब हिन्दीमै पढ्न सिपालु भए तापनि नेपाली भाषामा बोल्ने र लेख्ने उनको प्रयास हकीको थियो । आफूले सिक्न र जान्न चाहेका जुनै विषय पनि एक टक लाएर सिक्ने उनको अदम्य प्रयास थियो । सिलगढीमा आयोजन हुने विभिन्न साहित्यिक-सांस्कृतिक कार्यक्रम बाहेक पनि आफ्नै कलेजमा आयोजन हुने भानुजयन्ती कार्यक्रममा यिनको सिंहभाक सहभागी हुन्थ्यो । थोर बोल्ने, झल्क्कै हेर्दा सुठीसाह्रै घमण्डीजस्तो देखिए पनि गजब मिलनसार स्वाभावकी चेली नीत आफ्नो अध्ययनमा नै व्यस्त र मस्त हुऩ्थिन् । यिनले आफ्नो स्नातक डिग्री राम्रो अङ्क ल्याएर उत्तीर्ण गरिन् भने उत्तर बङ्गाल विश्वविद्यालबाट नेपाली विषय लिएर स्नातोकोत्तर सिद्ध्याइन् । त्यसपछि केही कालसम्म सिलगढ़ी कलेजमा पढ़ाइन् । कुरा के हो भने एक चित्त लाएर, लगनशील भएर काम गरी आफ्नो लक्ष्यमा पुग्न सफल हुने ढीट उद्यमी हुन् नीता तामाङ । तर सय मिटर दौडमा दुगुर्दा दुगुर्दै फिनिसिङ टचमा पुग्ने बेलामा "ला मलाई अरूले उछिन्छ" भनी ट्रयाकबाट बाहिर निस्की अरूलाई पदक थाप्न दिन यिनको स्वभाव देखिन्छ । के छैन यिनीसित ? चेली नीतासित सबै कुरो भरमार छन् । प्रथम यिनी उच्चशिक्षिता । व्यवस्थापन क्षमता अब्बल । उदाहरणको निम्ति भन्नुपर्दा, सिलगढी प्रधाननगरमा बन्दे हिमाचल आगरबत्ती कम्पनीका मालिक तथा समाजसेवक कृष्णहरि शर्मा ढुङ्गानाले आफ्ना माता-पिताको स्मरणमा रविरत्न ढुङ्गाना बालिका विद्यालयको निम्ति दानस्वरूप प्रदान गरेका जमिनमा विद्यालय प्रतिष्ठा गरेपछि प्रथम शिक्षक प्रभारीको रूपमा पदभार सम्हालेर आफ्नो बल बुता तथा सिपको भरमा यिनै नीता तामाङले विद्यालय सञ्चालन गरेकी हामी साक्षी छौं । आज यो बालिका विद्यालय सरकारी मान्यता प्राप्त भएर राम्रोसितले सञ्चालन भइरहेको छ । यसबाहेक सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिकमा कार्यकारी सम्पादकको भार पनि सफलतापूर्वक सम्हालेकी छन् । सुनचरीको नारी जगत् स्तम्भ पनि यिनले नै सम्हालेर समाजोपयोगी सामग्रीहरु प्रस्तुत गरेर स्तम्भ सम्पादकको भूमिका निष्ठापूर्वक पालन गरेकी छन् । सिलगढीमा छँदा सिलगढी देवकोटा सङ्घ र गुरूङ बस्ती  तामाङ बौद्ध एसोसिएशनमा कार्यकारी सदस्य पदमा रही सेवा पुऱ्याउनुका साथथै विभिन्न सामाजिक कार्यमा संलग्न भई हाल बिजनबारी नारी कल्याण सङ्गठनमा सक्रिय  संस्थापक सभापति रूपमा सेवा पुऱ्यारहेकी छन् । पत्रकारिता, साहित्य लेखन, नारी उन्मुक्ति र सचेतनता सम्बन्धी सामाजिक  कार्यमा पनि नीताको भूमिका बिर्सिनसक्नुको छ ।
सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक समाचार पत्रहरू हिमालचुली र सुनचरी बाहेक अन्य बग्रेल्तै साहित्यिक पत्र-पत्रिकाहरूमा यिनका प्रशस्तै रचनाहरू प्रकाशित भएको पाइन्छ । हिन्दी माध्यममा आफ्नो अध्ययन सिद्ध्याई नेपाली विषय लिएर स्नोत्तोकोत्तर उत्तीर्ण गर्नु मात्रै होइन कलेजमा आंशिक रूपमा अध्यापन समेत गर्ने नीताले सत्तरी दशकदेखि नै साहित्य लेखे पनि यसमा यिनको ढिल्याइ, अल्छेपना, हतोत्साह प्रवृत्तिले यिनलाई पछि पारेको हो भन्दा वाट्सएपमा आफ्नो स्वीकारोक्ति यसरी गरेकी छन्, "दाजु म कहिल्यै सिरियस भइनँ रहेछुजस्तो लाग्छ आज सोच्दा ।"
साँच्चै त्यसैताकादेखि नीता "सिरियस" भएकी हुँदो हो ता आज नीताको स्थान भारतीय नेपाली अन्य प्रशिद्ध नारी हस्ताक्षरको पङ्क्तिमा अवश्यै सुरक्षित हुनेथ्यो भन्ने मेरो दाबी छ ।
हाल बिजनबारी विद्यासागर हायर सेकेण्ड्री स्कूलमा साहित्यकी शिक्षिका पदमा आसिन नीता तामाङको पहिलो काव्य सङ्ग्रह भारतीय नेपाली काव्य साहित्यको फाँटमा देखा पर्दैछ । यसको निम्ति म उनका आफन्तभन्दा पनि भक्कुचूर खुशी भएको छु । आन्तरिक हृदयबाट अशेष बधाईको साथै शुभकामना व्यक्त गर्दछु ।

भूमिका  :
साहित्यका प्राय: जम्मै विधाहरूमध्ये सबैभन्दा जेठो विधा हो कविता । पूर्वीय साहित्यमा कवितालाई "काव्य" पनि भनिन्छ । ''कवि" शब्दमा "य" (यत्) प्रत्यय लागेर "काव्य" शब्द निर्माण भएको हो । कविद्वारा सिर्जना गरिने काम "काव्य" हो भने सिर्जन कलामा पोख्त सर्जक व्यक्ति "कवि" हुन् । पूर्वीय साहित्यमा "कवि" शब्दमा "त" (तल्) र "आ" (टाप्) प्रत्यय लागेर "कविता" शब्द बनेको पाइन्छ । "काव्य" र "कविता"को सम्बन्ध नङ-मासु झैं नै छ । खासमा कविले सिर्जना गरेको सिर्जनालाई नै "काव्य" वा "कविता" भनिन्छ । कविता यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर संसारमा कसैले पनि सठिक परिभाषा तोकेको पाइँदैन । यति हो कविताबारे पूर्वीय अनि पाश्चात्य तथा नेपाली र हिन्दी साहित्यका विद्वानहरूले    आ-आफ्नै पाराले मनतव्य गरेको पाइन्छ । अग्निपुराणमा भाव अभिव्यक्त गरिने अलङ्कार र गुणले भरिएको तथा दोषरहित पदावलीलाई काव्य भनिएको छ भने आचार्य भरतमुनिले काव्यलाई गूण शब्दार्थहीन, कोमल र ललित पदविन्यासयुक्त, सुबोध, सङ्गीतात्मक र रसात्मक सन्धियुक्त सिर्जना मानेका छन् । एरिष्टोटलले कवितालाई भाषिक माध्यमद्वारा अनुकरण गरिने कलाको आदर्श रूप मानेका छन् भने सशक्त मनोवेगको स्वस्फूर्त उच्छलनलाई कविता मानेका छन् ।
कविता भाषिक अभिव्यक्ति हो । कविताले युगीन यथार्थ अभिव्यक्त गर्छ । अचेल लेखिने  कवितामा जनता-जनार्दनले भोगेका सङ्घर्ष, विसङ्गति, विरोधाभास तथा विषमताको नालीबेली उदाङ्गो पारिएको हुन्छ । सङ्घर्ष, विसङ्गति, विरोधाभास, शोषण, पक्षपात, हेला-होंचो, दमनको शिकारमा नपर्ने विरलाकोटि पाइएला । तर सबैले त्यसलाई लिबिबद्ध गर्न सक्दैनन् । यी नकरात्मक कुराहरूलाई मिठाइलो  भाषाको पछ्यौरामा बाँधेर लयबद्धरूपमा अभिव्यक्त गर्छन् । तिनी नै सर्जक हुन्, कवि हुन् र काव्यकार हुन् । यसको निम्ति सिप चाहिन्छ, कला चाहिन्छ । कवित्व शक्ति हुनेले युगीन सामाजिक परिस्थितिहरूका कहालीलाग्दो स्थिति र अन्तर्विरोधहरू उदाङ्गो पार्ने गर्छन् । यस्तै सिप र कलालाई भाषिक अभिव्यक्तिद्वारा जीवन जगतलाई कलात्मक रूपमा चित्रण गर्ने बुता कवि नीतामा पनि नदेखिएको होइन । नीता तामाङका कविताहरूको केन्द्रविन्दु भन्नु उनको  "विचार" नै प्रमुख देखिएको छ । कवितामा पोखिएका "विचार"-हरूमा आन्तरिक सत्य र सामाजिक यथार्थ वालछ्याल् प्रकट भएको पाइन्छ ।
मोठ सैतींसवटा कविता एक बिटा पारी तयार पारिएको  "जीवनको अञ्जान यात्रामा " कविता सङ्कलनका कविताहरू साङ्गोपाङ्ग अध्ययन र मनन गर्दा यिनमा कविताका सबै तत्वहरू समागम भएको पाइन्छ । ती तत्वहरू यसप्रकारका देखिन्छन् - (क) शीर्षक, (ख) संरचना र आयाम,  (ग) कथन ढाँचा र लय, (घ) केन्द्रिय कथ्य र व्यञ्जन (भाव / विचार) . (ङ) भाषा-शैली र  विम्बालङ्कार ।
यस सङ्कलनमा देखा परेका तत्त्वहरूबारे यसरी बखान्नु सकिन्छ -

(क) शीर्षक  
"जीवनको अञ्जान यात्रामा । " वाक्यात्मक रूपमा चयन गरिएको कविता सङ्कलनको  शीर्षकमा सरल संरचना देखिन्छ । जीवनको यो यात्रा बिटुङ्गो मात्र होइन बडो अप्ठ्यारो  छ । यात्रकालमा कतिवटा विकट परिस्थिति र स्थितिको सामना गर्नुपर्छ । ल़डेर  चोटसमेत भोग्नुपर्छ । विकट, कहालिलाग्दो हावा-हुण्डरीको सामना गर्दै भए पनि आफ्नो लक्ष्यमा पुग्ने कविको आँट देखिन्छ -
तर जे होस् !
आगामी मेरा पाइलाहरू
मैले जहाँ नै किन नराखुँ
त्यो धरातलको विश्वसनीयता
भविष्यकै गर्भमा होला ।
किनभने प्रतेयेकपल्ट
म लडेकी छु - चोट खाएकी छु ।
तर टेकेर धरातल अघि बढ्नु
मेरो वाध्यता हो ।   (जीवनको अञ्जान यात्रामा)
यात्राकालमा जहीँ पुगे पनि धरातलमै आएर श्वाश फेर्नुपर्ने हुन्छ । त्यसको अर्थ पराजित भएर, निराश भएर धरातलमा आउनु होइन पटक्कै होइन । धरातलमा आउनु भनेको विनम्रता हो, आत्मसमर्पण पनि होइन -
कलिङ्ग युद्धपछि राजा अशोक पनि
युद्धबाट पछि सरेका थिए
तर त्यहाँ वीरत्व कदापि मरेको थिएन
उसले मात्रै आत्मालोचना गरेका थिए । (जीवनहोक अञ्जान यात्रामा)
जिन्दगी मूसा दुगुऱ्याइँ मात्र होइन, जिन्दगी भनेको आत्मालोचना गरेर हेर्नु पनि हो भन्नेमा सङ्कलन शीर्षक केन्द्रित देखिन्छ । यसैकारण प्रस्तुत सङ्कलनको यो शीर्षक चयन सार्थक देखिन्छ ।
(ख) संरचना र आयाम -
घेरभन्दा धेर अन्ठाउन्न पङ्क्तिमा संरचित छ कविता । गुच्छका हिसाबले कम्तिमा दुइ हरफदेखि नौ हरफसम्मका मोठ नौवटा अनुच्छेदमा कथिएको कवितांश चिटिक्क,  छरितो र बान्किलो प्रस्तुतिले कविताहरू निकै चटकदार प्रभावकारी रहेको देखिन्छ । सम्पूर्ण कविताहरू साङ्गोपाङ्ग अध्ययन र मनन गर्दा मानवीच विसङ्गति, विडम्बना, विद्रोह, नाकनिक र प्रगतिवादी सोंच, दमन, शोषण, उत्पीड़न, छल, कपट, भोग, उपहास आदि यावत्  पक्षहरुको सजीव चित्र उतार्न कविताको कथ्य  अभिव्यक्ति र अभिप्रायः निकै सुस्पष्ट रहेको देखिन्छ । कवितामा विम्बात्मकता, मिथकीयता र कलात्मक आभ्को पछ्यौराले आकर्षक बनाएको देखिन्छ । कविताको कथन प्रणाली मिठाइलो हुनाका साथै मानवीय जीवनका विविध एवम् सघन आयाम र चित्र प्रस्तुत गर्न सक्षम देखिन्छ । कविताको बनोट र बुनोट पनि निकै हरिलो, भरिलो भएको अनुभव गर्न सकिन्छ ।
अहम् भनौं वा घमण़्ड भनौं विषतुल्य नै लाग्दछ
एउटै नै यो यथेष्ट हो जसले सबै गुणहरु त्याग्दछ ।
ईर्ष्या, रिस, राग, द्वेशले हित ग्रदैन नि कसैको
बरू पाप मिल्छ दिलमा, खाक बन्छ आफ्नै तनको । (जीवन-तृष्णा)

 (ग) कथन ढाँचा र लय -
सङ्कलनमा समाविष्ट कविताहरूमा प्रथम अनि तृतीय पुरूष दृष्टिविन्दु कथन पद्धति प्रयोग भएको पाइन्छ । यिनमा वैयक्तिक भावना, जीवन भोगाइका विविध आयाम तथा मानवीय सेवेदनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यिनमा सङ्केत विम्ब तथा मानवीय जागृति र अस्मिताका दिवास्वप्नहरुको वर्णनले कवितालाई निकै खिरिलो, टेसिलो तुल्याएको छ्याङ्ङै हुन्छ । कविताको लय संयोजन र विधान अत्यन्तै बान्किलो देखिन्छ । सङ्कलनमा परेका धेरैजसो कविताहरू मुक्त गद्य रूपमा भए पनि एकाध कविताहरू भने आकलझुक्कल रूपमा शब्दानुप्रास र सम तु्कान्त अन्त्यानुप्रासको योजनावद्ध भएकाले ती कविताहररू स्वादिष्ट बनेको पाइन्छ । कविताको कथन प्रभावकारिता र सम्प्रेषणीयताले गज्जब भूमिका वहन गरेको देखिन्छ ।
आहा ! धरा कति सुन्दर सज्यो
उसै मन हर्ने स्वर्ग नै बन्यो ।
सजिएर फूल मुसुक्क मुस्कायो
मीठो महकले उपवन नै रमायो ।
पातक्ष-पतकर पनि मृदङ्ग बने
सुर-ताल मिलाई सङ्गीत भरे ।
चरा-चुरूङ्गी खुशी भई गाउन लागे
डाँफे-मुनाल पनि रमाई-रमाई नाच्न लागे ।
न्याउँली चरी विरह गाउन बिर्सेर
मक्ख परी यो दृश्य देखेर ।

(घ) केन्द्रिय कथ्य र व्यञ्जन (भाव / विचार) -
जीवन जगतको साङ्गोपाङ्गो स्थिति, मानव चेतना, मानव मन र मानव जगतका सम्पूर्ण अनुभव तथा क्रियाकलापका नालीबेली कवितामा ओकल्नुका साथै कवितामा भनन् खोजेका विषयवस्तुको सारतत्त्वलाई नै कविताको केन्द्रिय कथ्य भनिन्छ । अर्को शब्दमा भन्नु हो भने, कविताको मूल विषय वा सन्देश अथवा भाव अथवा विचार नै पनि केन्द्रिय कथ्य हुनआउँछ ।
सङ्कलनमा परेका विविध आयामक कविताहरूको केन्द्रिय कथ्य र भाव वा विचार खासै गरी भन्नु हो भने कवि नीता तामाङको सुलभ प्रवृत्ति, नारी भावना, ढीट व्यक्तित्त्, सुधारवादी भावको वालछ्याल प्रतिनिधित्व पाइन्छ । कविताहरूमा ओजपूर्ण अभिव्यक्ति, नारी वेदना, विद्रूप, पीड़ा लगायत आफू बसेको समाजलाई ब्यूझाउँने, सचेत गराउने, आफ्नो औकात र हैसियत चिनाउने, जागृत गराउऩे, स्वतन्त्र र स्वतन्त्र नारी सत्ता तथा अस्तित्त्वको रक्षार्थ सबैलाई हुट्हुट्याउने कुरा पनि सन्देशातम् रूपमा कवितामा केन्द्रिय कथ्य रूपमा प्रकाश भएको देखिन्छ ।
कविताको केन्द्रिय कथ्य अन्तर्गत स्वच्छन्दतावादी. प्रगतिवादी, यथार्थवादी, प्रणयवादी, पर्यावरणवादी आदि प्रवृत्ति पनि सललल प्रदर्शन भएको पाइन्छ । छोटो अथवा लघु आकारमा संरचित भावधारा अभिव्यक्तिएको यस सङ्कलनभित्रका कविताहरूले प्रगतिवादी क्रान्तिकारी परिवर्न र सुधारको समेत शङ्घोष गरेको पाइन्छ ।
नयाँ-नयाँ विचारहरूको दलिन टेकी
बढ़दै जाऊ तिमी अघि धेरै धेरै टाढ़ा ।
मेटिनु त यसै एउटा यथार्थ जीवन चक्र है हो
तर मेटिएर छाप छोड़ी जानु जीवनको सार हो ।। (जीवनको सार)
  अब हेर्नुछ मलाई
मन तिमी
कसरी घाइते हुँदारहेछौ ।। (अब हेरौं मन)
तर लाग्छ  - ती
काँढ़ा, ती घाउहरूलाई
मायाले अँगालेर सुम्सुम्याइँ रहुँ
म जति नै रक्तरञ्जित र
घाइते किन नबनुँ ? (दिग्भ्रमित)
(ङ) भाषा-शैली र  विम्बालङ्कार -
"जीवनको अञ्जानमा यात्रामा" कविता सङ्कलनमा परेका सैतीसवटै कविताहरूका माझमा कतिपय कविताका आङ्भरि जटिल संरचना भएका वाक्यहरूको संयोजन देखिए पनि आगन्तुक, तत्सम, तद्भव शब्दहरु प्रयोग भएकाले कविताको भाषा निकै आकर्षक, कलात्मक बन्न गएको छ । सरल हरफहरुको प्रयोगले पनि यसमा समाविष्ट भएका कविताहरू बान्किला देखिन्छन् । कवितामा कथानात्मक शैली, प्राकृतिक, सामाजिक, ऐतिहासिक, प्रणय, निजी विम्बहरुको प्रयोगले दृश्यात्मक चित्रकारिता संयोजन भएकोले कविताहरूको शैली निकै रोचक, प्रभावकारी, मिठाइलो बनेको पाइन्छ ।
समष्टिमा भन्नुपर्दा प्रत्येक मान्छेले जीवनमा देश, काल, परिस्थिति र वातावरणकै कारणले विविध किसिमका अनुकूल वा प्रतिकूल वा प्रतिकूल परिस्थितिहरूसँग सामना गर्नुपर्ने हुन्छ । कवि नीता तामाङको "जीवनको अञ्जानमा यात्रामा" शीर्षकको प्रस्तुत काव्यकृतिमा जीवन भोगाइका क्रममा देखापरेका विविध किसिमका उच्छवासको रूप छ्याङ्ङै देख्न सकिन्छ। हामी हिँड़्ने यात्रा बिटुङ्गो छ । हामी यात्रुहरू कहाँ जाने, गन्तव्यस्थलमा कहिले पुग्ने सोबारे अन्योलमै छौं । गन्तव्यस्थल पुगेर धितमरिञ्जेल काकाकुली तिर्सना मेट्न हामी अहर्निश छटपटिरहेका छौं । यद्यपि गन्तव्यस्थल पुगेर बिसाउने लोभलाई मनको बाईपङ्खी घोड़ामा चढ़ेर दुगुरिरहेको युगौं बितिसक्यो । यात्रा अञ्जान  छ र पनि कहिलेकाहीँ असित्त्व र अस्मिताको युद्धबाट पछि सर्नुपरे पनि अघि बढ़्ने कवि नीताको टड़कारो आह्वान देखिन्छ ।
किनभने प्रत्येकपल्ट
म लड़ेका छु - चोट खाएकी छु ।
तर टेकेर धरातल अघि बढ़्नु
मेरो वाध्यता हो
अनि मानवताको धरातलमा
विश्वस्त हुनु उसको लागि चुनौति हो ।
यसरीनै अघि बढ़्दै जाऊ अघि
जीवनको अञ्जान यात्रामा ।           (जीवनको अञ्जान यात्रामा)
सङ्कलनमा समाविष्ट गरिएका कविताहरूमा कवि नीता तामाङभित्रको कवित्वशक्ति, सर्जकप्रवृत्ति, स्रष्टाव्यक्तित्त्व र सिर्जनाशक्तिको राम्रो परिचय दिन सक्षम र अब्बल देखिन्छ । आउँदा दिनहरूमा आफ्ना सिर्जनालाई अझ निरन्तरता दिनाका साथै दोबर-तेबर कलात्मक, बान्किला तुल्याउऩमा साधनारत् रहनेछिन् भन्ने  कवि नीताबाट रूपियाँमा सोह्रै आना आशा र भरोसा राख्न कुनै टुटा पर्दैन कि भन्ने लख काढ़़न सकिने प्रशस्तै सम्भावनाहरू देखिएका छन्।
सङ्कलनमा समाविष्ट जम्मै आधुनिक कविता हुन् । भारतीय नेपाली काव्य फाँटको परिप्रेक्ष्यमा आधुनिक कविताको छुट्टै पहिचान छ । सामयिक भावभूमिको लेप लगाइएको  कविताको प्रमुख सम्बन्ध सामयिक जीवनसितै गाँसिएको देखिन्छ । यसैले कवि नीता तामाङका कविताहरू मानवेतर विषयवस्तुलाई मानिसकै जीवनका आरोहण-अवरोहणमाथि वकालती गरेको पाइन्छ । यिनले पीड़ित, सङ्घर्षरत सर्वहारा समाजलाई कविताहरूमार्फत् न्याय दिनाका साथै हुटहुटी लाउन भरसके प्रयास गरेकी छन् । कविताहरुमा मानवीय जीवनका विविध पक्षहरू पनि समावेश भएका छन् । आफूले देखेका, सुनेका, भोगेका मानिसका अपुग, इच्छा, चाहना, आकाङ्क्षा, विद्रोह, हार-जीत, राम्रो-नराम्रो, छटपटाइ-हुटहुटी, घात-सङ्घात-प्रतिघातको थपेड़ाले अललिरहेका समाजको ढुकढुकीलाई आफनो कवितालाई कवि नीताले ब्रह्मास्त्रका रूपमा प्रयोग गरेकी पाइन्छ ।
अचेल अन्य विधाहरूभन्दा कविता विधामा हात हाल्नेहरूको सङ्ख्या निकै अग्लिएको देखिँदोछ । यो अवश्यै पनि सुखद अवस्था हो भारतीय नेपाली कविताको फाँटमा । यरा हुद्दामा हाम्री उदीयमान कवि नीता तामाङ संलग्न भएकी छन् "जीवनको अञ्जान यात्रामा" साथमा लिएर। उनलाई सम्पूर्ण भारतीय नेपाली साहित्यकारको पक्षबाट हार्दिक स्वागत-अभिनन्दन ।
अर्को शब्दमा भन्नु हो भने, आफ्नो साहित्यिक जीवनको पहिलो काव्यकृति "जीवनको अञ्जान यात्रामा" लिएर भारतीय नेपाली कविता सागरमा कवि नीता हाम फालेकी छन् । सागरभिक्ष ठूल्ठला माछाहरू भक्कुचूर हुन्छन्, सागरको डरलाग्दो छालको कुरै नगरे हुन्छ । ती ठूल्ठूला माछा लगायत विशालकाय रूप लिएर उर्लेको छालसित पौंठाजोरी खेल्दै कविताको सागर तैरिनैपर्छ कवि नीताले । जीवनमा कहिल्यै सिरियस हुन सकिनँ भनेर हाकाहाकी स्वीकारोक्ति वमन गर्ने उदीयमान कवि नीता तामाङ अब सिरियस भएर सागरको पल्लो फालसम्म पुग्नैपर्छ । नत्र सागरको छालले उछिट्याएर कहाँ पुऱ्याउँछ केही भन्न सकिन्न ।
पुछारमा, नीता तामाङको काव्यकृति प्रकाशित हुन सकेकोमा म उनका आफन्तभन्दा पनि धेर खुशी भएको छु । अहिलेलाई अशेष स्नेहसहित भक्कुचूर आशीर्वाद उदीयमान नारी हस्ताक्षर कवि तथा चेली नीता तामाङलाई ।