सप्तरी / सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका अन्तर्गत पर्ने चन्द्रनगरको मुहान, अर्थात हेडबाँध क्षेत्र, प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र पर्यटकीय सम्भावनाले भरिएको ठाउँ हो। तर, आजसम्म पनि यस क्षेत्रलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउनेतर्फ स्थानीय तहको अपेक्षित ध्यान नपुग्नु विडम्बना हो । नगरपालिकाको यथार्थ निरासाजनक बेवास्ता र योजनाविहीनताले गर्दा यो बहुमूल्य धरोहर ओझेलमा पर्दै आएको छ।  चन्द्रनगरको हेडबाँध क्षेत्र कोसी नदी व्यवस्थापन र नियन्त्रणसँग सम्बन्धित ऐतिहासिक परियोजनाको भाग हो।

सन्  १९५४ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार कोसी नियन्त्रण परियोजना सुरू गरिएको थियो । यही परियोजनाअन्तर्गत कोसी बाँध र हेडबाँध क्षेत्रको निर्माण सन् १९५९ साल तिर सम्पन्न भएको मानिन्छ। निर्माणपछि यो क्षेत्र बाढी नियन्त्रणको दृष्टिले महत्वपूर्ण मानिन्थ्यो, तर समयक्रममा हरियाली, पानीको स्रोत र शान्त वातावरणका कारण यो स्थल स्थानीय बासिन्दा र आगन्तुकका लागि रमणीय ठाउँका रूपमा परिचित हुँदै गयो। तर, पूर्वाधार विकासको अभाव र स्थानीय सरकारको बेवास्ताका कारण ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको यो क्षेत्र अझैपनि ओझेलमा परेको छ।

चन्द्रनगरस्थित सप्तकोशी हेडबाँध क्षेत्र केवल जलस्रोतको दृष्टिकोणले मात्र होइन, जैविक विविधता, सांस्कृतिक सम्पदा र मनोरम वातावरणले समेत अतुलनीय छ। यहाँको स्वच्छ पानी, हरियाली, चराचुरुङ्गीको चिरबिराहट र नदीको अविरल बहाव जो कोहीलाई मन्त्रमुग्ध पार्न सक्षम छ। तर, पर्यटकीय पूर्वाधारको अभावले गर्दा न त आन्तरिक न त बाह्य पर्यटकलाई यो क्षेत्रले आकर्षित गर्न सकेको छ। २०। २५ बर्ष अघि भने यो क्षेत्र पिक्निक खाने गतिलो स्पोट्स थियो ।

नगरपालिकाले चाहेमा केही आधारभूत पूर्वाधार—जस्तै पदमार्ग, विश्राम स्थल, खानेपानी, सफाइ र सुरक्षाको व्यवस्था, साथै प्रचारप्रसारको अभियान—मार्फत यो क्षेत्रलाई पर्यटकीय नक्सामा स्थापित गर्न सकिन्छ। तर दुर्भाग्यवश, नगरपालिकाले न त दीर्घकालीन दृष्टिकोण अपनाएको छ, न त स्थानीय बासिन्दासँगको सहकार्यमा कुनै प्रयास गरेको छ। कतिपय अवस्थामा स्थानीय युवाहरू वा समाजसेवी संस्थाहरूले सरसफाइ वा जनचेतना कार्यक्रम आयोजना गर्दा समेत पालिकाको उपस्थिती औपचारिकताको सीमाभन्दा अघि बढ्दैन।

यसबाहेक, चन्द्रनगर क्षेत्रले कृषि, जलस्रोत व्यवस्थापन र सामाजिक पर्यटनको संयोजनमार्फत रोजगारी सिर्जना गर्ने, गाउँको आर्थिक अवस्था उकास्ने, र स्थानीय संस्कृति प्रवद्र्धन गर्ने अपार सम्भावना बोकेको छ। पर्यटन विकासले केवल आर्थिक लाभमात्र होइन, स्थानीय सामुदायिक गर्व, इतिहास र पहिचानको संरक्षणसमेत गर्छ। तर, जब सरोकारवाला निकाय नै मौन बस्छ, तब नागरिकमा नैराश्यता र अविश्वासको वातावरण सिर्जना हुन्छ। 

अब पनि समय छ—सप्तकोशी नगरपालिकाले चन्द्रनगर हेडबाँध क्षेत्रलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासमा अग्रसर होस्। पालिकाले विज्ञहरू, योजनाकारहरू, स्थानीय समुदाय र निजी क्षेत्रसँगको सहकार्यमा दीर्घकालीन पर्यटकीय रणनीति तय गर्नुपर्छ। विकास केवल सडक, भवन र ईंट पर्खालमा सीमित हुँदैन। प्राकृतिक सौन्दर्य, सामुदायिक आत्मा र सांस्कृतिक जीवनशैलीलाई जोडेर गरिएको विकास दीगो र समावेशी हुन्छ। चन्द्रनगर हेडबाँध क्षेत्र यसैको अनुपम उदाहरण बन्न सक्छ—यदि इच्छाशक्ति, योजनाबद्धता र जनउत्तरदायित्वको भावना नगरपालिकामा विकास गरियो भने। यसका लागि पालिकाले आगामी आर्थिक बर्षमा संघ र प्रदेश सरकारसँग सहकार्य गरेर योजना बनाउनु उपयुक्त हुने छ । जनता टाइम्स् साप्ताहिकबाट