धरान / धरान उपमहानगरपालिकाले २०७२ यता अनाधिकृत रुपमा टहरा बनाएर बसेकाहरुलाई हटाउने निर्णय गरेको छ ।  धरान १७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउने कार्य नरोकिएपछि यसलाई हटाउने निर्णय गरेको हो ।   

आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको  सर्वपक्षिय बैठकले यसतो निर्णय गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिनु भयो । 

सर्वपक्षीय बैठकले २०७२ साल पछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तिहरु क्रमबद्ध रुपमा हटाउने निर्णय गरेको हो । उक्त कार्यको सुरुवात वडा नं. १७ को नयाँ अतिक्रमित क्षेत्रबाट गर्ने निर्णय भएको छ । धरान उपमहानगरपालिका वडा नं. १७ देविथान र कालापानीलगायत विभिन्न खोलाहरुको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ति बस्ने क्रम नरोकिएको प्रति धरानका राजनीतिक दलहरुसहितको उपमहानगरले छलफल गराएको हो ।  खुल्ला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुगेको, नगरको सुन्दरता कुरुप बन्दै गएकोले जिल्ला तथा धरानका सबै राजनितिक दलहरुले बाधा अवरोधहरुको सामुहिक प्रतिवाद एवं व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 

छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमुक्ति पार्टी, संघीय लिम्बुवान, राप्रपा, जसपालगायतका दलहरुका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । 

धरानमा सुकुम्वासीको नाममा खुल्ला क्षेत्र, खोला किनार अतिक्रमण गरि बस्ती बसाउने क्रम बढेको छ । उनीहरुलाई अतिक्रमण गर्न दलहरुका नेताहरुले नै उक्साउने गरेको पाइएको छ ।