धरान  / आमचोक गाउँपालिका आफ्नो पालिका भित्र रहेकाअति विपन्न परिवारलाई घर निर्माण गरि दिएको छ ।  आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि  तीन लाख खर्च गरेर ३० परिवारलाई  घर बनाई दिएको हो । 

गाउँपालिकाले विपन्न परिवार खोजी तथा पहिचानको लागि समिति बनाएर ३० जना विपन्न छनौट गरेको थियो ।  पुस्तौंदेखी पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो । राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएको उहाँले बताउनु भयो । 

स्थानीय ७३ बर्षीय कानबहादुर राईले हाम्रो साथमा राज्य पनि रहेको महसुस भएको बताउनु भयो । बषैंदेखि घरविहीन जीवन विताउदैं आउनु भएका राई गाउँपालिकाले ओत छेक्ने घर बनाइदिए पछि दंग पर्नु भएको छ । 

‘म ७३ वर्ष पुगे । अहिलेसम्म मेरो जीवन गाई गोठमा बितेको थियो । यो जुनीमा मेरो घर होला भन्ने सोचेको पनि थिइन् तर गाउँपालिकाले घर बनाइदियो ।’–वृद्धले भन्नु भयो–‘जनप्रतिनीधि अभिभावक भएको महसुस भएको छ ।’  

गाउँपालिकाले घर निर्माण गरी दिएपछि स्थानीय सरकार भएको महसुस भएको अर्का लाभग्राही जिदर शेर्पाले बताउनु भयो । अर्कोको घरमाबनिबुतो गरेर जीवन विताउदैं आउनु भएका शेर्पाको राम्रो ओत छेक्ने घर थिएन् । अहिले परिवारसहित गाउँपालिकाले निर्माण गरिदिएको घरमा बस्न पाउदा दंग पर्नु भएको छ । 

खुल्ला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएका कुमार सार्कीले पनि नयाँ घर पाउनुभएको छ ।  आमचोकमा राई, शेर्पा र सार्कीजस्ता आकाश ओडेर जमिन ओच्छाएर जीवन विताउदैं आएको ३० विपन्न नागरिकले राहत पाएका छन् ।  गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित फुसको छानो हटाउने अभियानसमेत सञ्चालन गर्नाका साथै एक घर एक धाराको अभियान चलाइएको थियो । सोही अभियान अन्तर्गत घर बनाई दिएको हो । खानेपानीको योजना पनि निर्माणनाधिन रहेको अध्यक्ष राईले बताउनु भयो । पालिकाका सबै नागरिकलाई गाँस, वास र कपासयुक्त बनाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष राईले बताउनु भयो ।