धरान / फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरि धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज(मंगलबार) प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नु भएको छ । 

गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोनाको कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पुरा भए पछि आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिनु भयो । 

२० वर्ष पछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरि ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन् । प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर चै फरक फरक छन् । १० टनमा तीन वटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छ । 

प्रशोधन केन्द्रबाट उत्पादन भएका ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ ।  प्रशोधन केन्द्रले दैनिक २ हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिक जसो ४ सय देखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ । 

कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको हो । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिनु भयो ।

यस लगतै प्रधानमन्त्री देउवा  धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताउनु भएको छ ।  

उहाँले देशभरिका पार्टीका कार्यकर्ताहरु एक भएर हिडेमा मात्र पार्टीमा पनि एकता हुने बताउनु भएको थियो ।  यस लगत्तै प्रम देउवाले धरान शहरको १२१ औं बर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्नु भएकाे छ ।  उहाँ हेलिकप्टरमा धरान आउनु भएकाे थियाे ।