• डा. कपिल देव उपाध्याय

वैवाहिक जीवनमा पति–पत्नीबीच समय समयमा स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्ने मान्यता छ । नेपाली समाजमा यौनबारे भरसक कुरा गर्न नचाहने प्रवृति बढी छ । व्यक्तिअनुसार यौनबारे ज्यादै महत्वपूर्ण, आवश्यक, केटाकेटी जन्माउनको लागि मात्र भएपनि आवश्यक वा नभै नहुने कुरा जस्ता फरक धारणा हुनसक्छ । तर, सफल दाम्पत्य जीवनको लागि स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्न सकिन्छ । पुरुषहरुमा देखिने विभिन्न यौनसमस्या मध्ये नपुंसकता पनि एक हो । यौन उत्तेजना वढाउने धेरै खालका औषधी बजारमा आईसकेका छन र ती भन्दा अझ राम्रो औषधीहरुको खोजी भइराखेको छ । औषधी उत्पादक कम्पनीहरुलाई यस्ता यौन उत्तेजना वढाउने औषधीको माग छ भन्ने कुरा थाहा छ ।

स्वस्थ्य पुरुषमा, पहिले यौनसम्वन्ध राख्दा कुनै समस्या नभएपनि पछि नपुंसकता हुन सक्छ । नपुंसकता नहुनको लागि पुरुषको यौनाङ्गमा रक्तसंचार गर्ने रक्त नलीहरु र नसाहरु स्वस्थ्य हुनु आवश्यक छ । कुनै कारणवस यौनाङ्गमा उत्तेजना ल्याउन आवश्यक पर्ने नसाहरुले राम्रो काम गर्न सकेनन भने नपुंसकता हुन सक्छ । यस्तो अवस्था मधुमेहका विरामीहरु र मदिरा पानको लत लागेका पुरुषहरुमा हुन सक्छ । किन कि यी दुवै अवस्थाले विभिन्न नशाहरुलाई असर पारेका हुन्छन र ती मध्ये यौनाङ्गमा जाने नशा पनि पर्दछन । अर्थात मधुमेहका विरामीले रोगलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु पर्दछ, मदिरापानको लतवाट बच्न पनि जरुरी छ ।

खानेवानी र नपुंसकता धेरै हदसम्म अन्तरसम्बन्धीत कुरा हो । रगतका नलीहरुलाई सागुरो गराउने २ वटा मुख्य तत्वहरुमा एउटा कोलेस्टेरोल हो र अर्को निकोटिन (चुरोट) हो । निकोटिन नपुंसकताको एउटा कारण मानिएको छ । चुरोट पिउनेहरुको मुखमा छिटो चाउरी पर्छ वास्तविक उमेर भन्दा बुढो देखिन्छ मुटुमा रक्त संचार गर्ने नलीहरुलाई खुम्चाउछ र ह्दयघात गराउन सक्छ र यौनाङ्गका रक्त नलीलाई खुम्च्चाएर नपुंसक बनाउन सक्छ । लिङ्गमा उत्तेजना आउनु भनेको लिङ्गमा रगतको राम्रो संचार हुनु हो र रगतका नलीहरु खुम्चिएर आवश्यक मात्रामा रगतको प्रभाह हुन सकेन भने लिङ्गमा हुनु पर्ने उत्तेजना र कडाइपन हुदैन र कडाइपन नै नभएको लिङ्गवाट यौन सम्वन्ध सफल हुन सक्दैन ।

त्यस्तै गरेर रगतका नलीहरुमा वोसोको लेउ लाग्यो भने रगतको नली साघुरीदै जान्छन । वोसोको लेउ लाग्ने भनेको कोलेस्टेरोल हो । कोलेस्टेरोल हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व हो तर चाहिने भन्दा यसको मात्रा वढी भयो भने यसले रगतका नलीहरुलाई साघुरो बनाउँदै जान्छ । रगतका नली साघुरिएर ७०% वा ८०% ब्लक भएका छन र मुटुमा रगत पु¥याउन सकेका छैनन भन्ने हामीले सुन्ने गरेका छौ । मुटुमा राम्रोसँग रगत संचालन भएन भने ह्दयघात हुन्छ ।

त्यस्तै गरेर यौनाङ्गमा जाने रक्तनलीले यौन सम्वन्ध राख्ने इच्छा भएको वेलामा आवश्यक मात्रामा रगत लिङ्गमा पु¥याउन सकेनन भने नपुंसकता हुन्छ । यहि कुरालाई अर्को तरिकाले पनि भन्न सकिन्छ रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ भने रगतको नलीहरु साघुरीन्छन र नपुंसकताको साथै अन्य विभिन्न स्वास्थ्य समस्याहरु आउन सक्छन । मानिसले चाहना राखेमा चुरोट नपिउन सक्छ र खानेकुरामा विशेष ध्यान दियौ भन कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै गरेर मानसिक तनावलाई सकेसम्म कम गर्न सक्यो भने तनावका कारण हुनसक्ने यौनसमस्या पनि हुदैनन ।मांसहारी भोजन खास गरेर रातो मासु र धेरै वोसो भएको मासुले कोलेस्टेरोल बढाउछ । त्यस्तै गरेर घिउ, नौनी, चीज र विभिन्न प्रकारका तेलहरुले कोलेस्टेरोल बढाउँछन । यसको मतलव यी पदार्थहरु खानै नहुने भन्ने भने होइन । सकभर रातो मासु र घिउको चिल्लो नखाएको राम्रो । तेलहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ । यसका साथै भुटेको र तारेको खानाहरुमा धेरै चिल्लो हुनेहुँदा नखानु राम्रो हुन्छ ।

शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायक हुन्छ । शाकाहारी खानाहरु जस्तै चामल, दाल, आलु, गेडागुडीहरु, हरियो सागपात, तरकारीहरु, फलफूलहरु, चिल्लो नभएको दुध, दही, आदी खाँदा कोलेस्टेरोल बढ्दैन । शाकाहारी खाना खानाले कोलेस्टेरोल बढेका कारण नपुंसकता भएको रहेछ भने हट्छ । नपुंसकता मात्र होइन यस्तो खाना खानाले वजन घटाउन, ब्लड प्रेसर घटाउन, मुटु सम्वन्धि रोग कम गर्न, कव्जीयत हटाउन र विभिन्न क्यान्सर रोगहरुवाट वच्न समेत सकिन्छ । शाकाहारी खाना खाँदा सकभर नुन र चिनी पनि कम खानु राम्रो हुन्छ । शाकाहारी खानाको साथै सलाद जस्तै गाजर, काक्रो, मुला, गोलभेडा आदी इच्छानुसार खाए हुन्छ ।

 

शाकाहारी खाना न स्वादिलो हुन्छ, न मिठो हुन्छ, न मन पर्छ यस्तो खाना कसरी खान सकिन्छ भन्ने प्रश्न कसैकसैले गर्लान । हो मांसाहारी खाना खानेवानी परेकाहरु, धेरै चिल्लो र वोसोयुक्त खाना खानु पर्नेहरु, भुटेको र तारेको खाना खान मात्र मन पर्नेहरु र प्रशस्त आइसक्रिम चकलेट केक आदीको स्वाद लिनुपर्नेहरुलाई शाकाहारी खाना खान निकै कठिन हुन्छ । यस्ता स्वादका पारखीहरुले मिल्क चकलेटको वदला एक टुक्रा डार्क चकलेटमा बढीमा २ चम्चा आइसक्रिम राखेर खानसक्छन् । माछामासु खानै पर्नेभए छाला फालेको कुखुराको मासु र राम्रो खालको माछा स्वास्थ्यकर हुन्छ । यस्तो अवस्थामा तारेको भन्दा, ग्रील गरेको वा पकाएको खान सकिन्छ ।

धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन । कुनै रोगको उपचार गराइरहँदा र औषधी सेवन गरी रहँदा यौनसमस्या देखिएको छ भने उपचार गर्ने चिकित्सकसँग आफ्नो समस्या राख्नुपर्छ । परिक्षण गर्दा कुनै स्वास्थ्य समस्या देखिदैन, चुरोट खानु हुन्न, मदिराको लत छैन, कोलेस्टेरोल ठिक मात्रामा छ तै पनि यौनसमस्या छ भने यो साइकोलोजीकल मात्र पनि हुन सक्छ, काल्पनिक डर जस्तै –ममा केहि कमी छ, यौनाङ्गमा खरावी छ कि ? यौन सम्वन्ध राख्न सक्षम छैन, भन्ने लाग्यो भने डरले र चिन्ताले असर पार्छ र यौनसम्वन्ध राख्न असफल हुन सक्छ । यौन सम्वन्ध सफलता पूर्वक राख्नको लागि शारीरिक, मानसिक रुपले स्वस्थ्य, भावनात्मक रुपले सवल, तनावरहित, हतार नभएको, शान्त, सुरक्षित ठाउँ र गोपनीयता आवश्यक हुन्छ । स्वास्थ्य खवर