धरान / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नु भएको छ ।

संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता हासिल गर्न खोजेको छ ।
सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताउनु भयो ।