०६१ मा नेपाल प्रहरीले इन्स्पेक्टरको भर्ना खुलाउँदा पास हुने एक्लो महिला थिइन् । सानैदेखि फरक करिअरमा आबद्ध हुन चाहेकी डिएसपी खड्का विश्वभरिका प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रसंघको इटालीस्थित ग्लोबल सर्भिस सेन्टरमा ट्रान्जिसनल क्राइम अफिसरमा रूपमा कार्यरत छिन् । सो पदमा पुग्ने नेपाल प्रहरीकी उनी पहिलो महिला अधिकृत हुन् । वसुन्धराले नवराज मैनालीसँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :
१५ वर्षअघिको कुरा हो । स्नातकसम्मको पढाइ सकिएपछि थप अध्ययनका लागि विदेश जाने कि नेपालमै बस्ने भन्ने दोधारमा थिएँ । विदेश जाने अवसर मिलिसकेको थियो । तर, बुबाले विदेश जानुभन्दा स्वदेशमै बसेर सरकारी सेवा गरे हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो । निजामती सेवा र त्यसमा पनि परराष्ट्रमा गए हुन्थ्यो भन्ने उहाँको चाहना थियो ।
मलाई सजिलो र अरूले गरेभन्दा फरक काम गर्ने चाहना थियो । कठिन र फरक काम गरेर समाजमा उदाहरणीय बन्न सकिन्छ भन्ने सोच सानैदेखि नै थियो । स्नातकपछि लगभग विदेश जाने तय भइसकेको थियो । संयोगले स्नातक सकिएका वेला नेपाल प्रहरीमा इन्स्पेक्टरको भर्ना खुल्यो । अर्को संयोग के भने पढाइ सकिएपछिको फुर्सदको समयमा तत्कालीन डिएसपी विमला थापा म्याडमको बायोग्राफी पढ्ने अवसर पाएँ ।
बायोग्राफी निकै रमाइलो लाग्यो । प्रहरी सेवा एकदमै ‘एडभेन्चर्स’ छ भन्ने लाग्यो । जनतालाई तत्कालै अनुभव हुने गरी प्रहरी भए सेवा दिन सकिन्छ भन्ने लाग्यो । म पनि यही ‘जब’मा फिट हुन्छु भन्ने लाग्यो । महिला बर्दीमा उभिनु भनेको पनि समाजमा परिवर्तन ल्याउनु हो भन्ने लाग्यो । त्यसपछि मैले विदेशको योजना छाडेर प्रहरीमा जाने निर्णय गरेँ ।
ब्याचको एक्लो इन्स्पेक्टर
यो ०५८ को कुरा थियो । देशमा द्वन्द्व उत्कर्षमा थियो । त्यस्तो वेला प्रहरीमा जागिर खान्छु भनेर सोच राख्नु पनि एउटा साहस र आँट चाहिन्थ्यो । काठमाडौंमा जन्मिएकी मैले भ्यालीबाहिर कस्तो छ भन्ने पनि देखेको थिइनँ । तैपनि, फरक र कठिन बाटो रोज्ने नै निर्णय गरेँ ।
गल्र्स कलेज पढेकाले अलि लजालु स्वभावकै थिएँ । कम बोल्ने बानी थियो । काठमाडौंको काँठ क्षेत्रमा हुर्किएकी म, एसएलसीपछि अरूको श्रीमती हुनुपर्ने संस्कृति हाम्रोमा थियो । महिलाको आफ्नो परिचयभन्दा पनि उनको श्रीमान्को परिचय खोज्ने सामाजिक अवस्था थियो । तर, बुबा–आमाले छोरीले करिअर बनाउनुपर्छ, आफ्नै पहिचान बनाउनुपर्छ भनेर मलाई साथ दिनुभयो ।
तर, प्रहरी यात्रा त्यति सहज थिएन । प्रहरीमा जाने कुरा बुबाबाहेक कसैलाई पनि मन परेन । किन प्रहरीमा रु अरू धेरै सजिला जागिर छँदै छ नि रु छोरीमान्छेले किन ‘टफ जब’ गर्नुप¥यो भन्ने प्रश्न धेरै झेल्नुपर्याे । अझ द्वन्द्वकाल भएकाले सहयोगभन्दा पनि अत्याउने काम हुन्थ्यो । हरेक दिनजसो भिडन्तमा प्रहरीको मृत्यु भएको समाचार सुन्नुपर्दथ्यो । त्यस्तो वेला मैले प्रहरीमा भर्ना हुने अठोट गरेको थिएँ ।
प्रहरीबारे जति बुझ्दै गएँ, त्यति रमाइलो लाग्दै गयो । यति धेरै जिम्मेवारी हुँदो रहेछ, यति धेरै काम गर्न सकिने रहेछ भन्ने लाग्यो । त्यो बुझेपछि जसरी पनि इन्स्पेक्टर बन्नैपर्छ भन्ने लाग्यो । परीक्षा दिएको करिब दुई वर्षपछि मात्र रिजल्ट आएको थियो । त्यतिवेला महिला आरक्षणको सिस्टम थिएन । ९८ जनाको ब्याचमा म एक्लो महिला थिएँ । करिब १७ महिना ट्रेनिङ भयो । भोलि फिल्डले गर्दैन भनेर तालिममा कहिल्यै कम्प्रोमाइज गरिनँ । नेसनल पुलिस एकेडेमीले पनि मलाई महिला होइन प्रहरी हो भन्ने महसुस गराउने गरी तालिम दियो । नागरिक जीवनबाट प्रहरी जीवन सुरु भयो । तालिमपछि प्रहरी जीवनमा झन् रमाउँदै गएँ । साँच्चिकै प्रहरीजति ‘एडभेन्चर्स’ सरकारी सेवा अरू छैन जस्तो लाग्छ । अहिले सबै खुसी छन् । म पनि आफ्नो पेसाप्रति सन्तुष्ट छु । प्रहरी संगठनप्रति गर्व लाग्छ । अहिलेसम्म पछुतो मान्नुपर्ने अवस्था आएन ।
दोहोरो जिम्मेवारी
एउटा कुरा के भने म महिला हुँ र पुलिस अफिसर हुँ भनेर ‘डबल प्रुफ’ गर्नुपर्छ । छोरामान्छेले म अफिसर हुँ भनेर प्रुफ गरे पुग्छ, तर हामीले महिला र पुलिस अफिसर हुँ भनेर दुवै प्रुफ गर्नुपर्ने अवस्था छ । अहिले राष्ट्रसंघबाट मलावी भन्ने अफ्रिकी देशमा यहाँको प्रहरीको क्षमता अभिवृद्धिका लागि आएको छु, यहाँ पनि महिला पो आएको भन्ने अवस्था छ । त्यसकारण महिलाका लागि पक्कै पनि बढी नै
चुनौतीपूर्ण छ ।
प्रहरी किन कडा हुन्छ ?
बाहिरबाट हेरेभन्दा प्रहरी फरक हुन्छ । बाहिरबाट बर्दी देखिन्छ । प्रहरी इन्फोर्स गर्न खोज्छ, अलि कडा व्यवहार गर्छ भन्ने सोच हुन्छ । जुन सोचाइ ममा पनि थियो । पुलिसको जुत्तामा खुट्टा राखिसकेपछि किन पुलिस कडा हुुनुपर्नेरहेछ भन्ने बुझेँ । पुलिस पहिला आफू टफ हुनुपर्ने र टफ वातावरणमा कानुन कार्यान्वयन गराउनुपर्नेरहेछ ।
समाजमा सकारात्मक-नकारात्मक सबै ‘भाइब’ हुन्छन् । यो समाजको संरचना नै हो । प्रहरीले गरेका थोरै नराम्रा काम ह्वात्तै बाहिर आउँछ भने धेरै राम्रा काम ओझेलमा पर्छ । प्रहरीका कमजोरीलाई अतिरञ्जित हिसाबले प्रस्तुत गरिदिने प्रवृत्ति गलत छ, यसले प्रहरीको मनोबल गिराउँछ ।
स्रोत–साधन अभावका बाबजुद पनि नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरको सेवा दिइरहेको छ । हामीले ९९ प्रतिशत राम्रो गरेका छौँ, तर कतैबाट एक प्रतिशत काम बिग्रँदा त्यो नराम्रो काम हाबी भइदिएको देख्दा दुःख लाग्छ । मलाई लाग्छ प्रहरीले जति राज्यका अन्य निकायले मिहिनेत गर्ने हो भने साँच्चिकै धेरै राम्रो हुन्छ । देशमा सबैभन्दा धेरै दुःख प्रहरीले नै गरेको छ । तर, यसको सही मूल्यांकन समाजबाट भएजस्तो लाग्दैन ।
प्रहरी जागिरका दुःख
आफ्ना सन्तानलाई करिअर छान्न दिने संस्कार हामीकहाँ भर्खरै सुरु भएको छ । धेरैले आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ भनेर बच्चैदेखि सिकाउने गरेका छन् । तर, उनीहरूलाई प्रहरी बन्नुपर्छ भनिँदैन । कसैले प्रहरी बन्छु भन्यो भने अनौठो मानिन्छ । डाक्टर÷इन्जिनियरजस्तै प्रहरी बन्छु भन्ने वातावरण बन्नुपर्छ ।
हो, अहिले प्रहरीमा धेरै आकर्षण छैन । यसमा एउटा युवाको सपना केले पूरा गर्छ भन्ने मूल्यांकन गर्नुपर्छ । यसमा आर्थिकदेखि धेरै पक्ष हुन सक्छन् । देशको अवस्था के छ भने युवा पुस्तालाई विदेशमा बसेर राम्रो लुगा लगाएर खिचेको फोटोले आकर्षित गरेको छ । युवा पुस्तामा विदेश मोह असाध्यै छ, स्वदेशमा कम छ ।
मेरो कुरा गर्दा मलाई अमेरिकाको एउटा विश्वविद्यालयले पठाएको आई–२० भन्दा मलाई विमला थापा म्याडमको बायोग्राफीले आकर्षित गर्याे । किन युवा पुस्तालाई विदेशप्रति धेरै आकर्षण छ त रु यो विषयमा राज्यले नै सोच्नुपर्ने वेला छ । तब मात्र प्रहरीप्रति युवा पुस्ताको आकर्षण बढ्नेछ ।
हाम्रो समाजमा बर्दीको सान त छ, तर बर्दीधारीको आर्थिक अवस्था कस्तो हुन्छ रु उसले अवसर कति पाउँछ त रु यो निकै महŒवपूर्ण प्रश्न हो । हो, नेपाल प्रहरीमा अवसर धेरै छन् । मेरै कुरा गर्दा धेरै अवसर पाएको छु । प्रहरी भएकै कारण यहाँसम्म आउन सकेको छु । तर, प्रहरीको अहिलेको तलबले समाजमा सान र सम्मानसहित बाँच्न सक्ने अवस्था छ कि छैन रु त्यो पनि हेर्नुपर्छ । नेपाल प्रहरीमा सबै कुरा राम्रो छ, तर आर्थिक सुविधा एकदमै कम छ । छिमेकी देशमै हेर्ने हो भने उनीहरूले धेरै सुविधा पाउँछन् । म आएको देशमै पनि सबै प्रहरीका लागि क्वार्टरको सुविधा छ । त्योभन्दा कम मिहिनेतमा विदेशमा आलिसान जिन्दगी बाँच्न सक्छ भने त उसको रोजाइमा विदेश नै पर्ने भयो नि । प्रहरीप्रति आकर्षण बढाउन प्रहरी आफैँले पनि विभिन्न काम गर्नुपर्छ, गरिरहेकै पनि छौँ र राज्यबाटै सोच्नुपर्छ ।
महिलालाई आकर्षण बढाउन स्कुल–कलेजमा कार्यक्रम लैजानुपर्छ, त्यो अहिले भइरहेको पनि छ । जस्तो म म्याग्दी जिल्लामा बसेँ, त्यहाँ म्यादी प्रहरीमा पुरुषभन्दा महिलाको आवेदन धेरै आयो । किनभने महिला डिएसपी म हुनु नै त्यसको एउटा कारण थियो । एउटा महिलाले बच्चा घरमा राखेर जिल्लाको कमान्ड गरिरहेकी छे भने हामी किन नसक्ने भनेर धेरै महिला म्यादीमा भर्ना भए । महिलालाई प्रोत्साहित गर्ने र धेरैलाई कसरी प्रहरी बन्ने भनेर सचेतना गर्नु आवश्यक छ ।
युएनमा अवसर
प्रहरी अधिकारीलाई राष्ट्रसंघीय शान्ति मिसनमा धेरै अवसर छ । म पहिलोपटक २०११ मा सुडान गएको थिएँ । त्यसपछि दक्षिण सुडान गए । केही महिना हाइटीमा प्लानिङ अफिसर भएर काम गरेँ ।
गत वर्ष यो पद (ट्रान्जिसनल क्राइम अफिसर– पिथ्री)मा ग्लोबल भ्याकेन्सी खुलेको थियो । त्यतिवेला म म्याग्दीमै थिएँ । सबै क्राइटेरिया मेरो फिल्डसँग मिल्ने थियो । मैले त इन्टरपोलमा बसेर पनि काम गरेको थिएँ । अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नका लागि म सक्षम छ कि छैन भनेर आफैँलाई मूल्यांकन गर्न पनि चाहेको थिएँ । विश्वभरिका प्रहरीबाट सर्टलिस्टमा परेँ । त्यसपछि लिखित र अन्तर्वार्तामा पास भएँ । इटालीमा आएको एक महिनामै केही हप्ताका लागि अफ्रिकी देश मलावीमा आएको हुँ । क्षमता हुने प्रहरी अधिकारीका लागि यस्ता धेरै अवसर प्राप्त हुने गरेका छन् । जहाँ आफ्नो देशकै प्रतिनिधित्व गरेर काम गर्न पाइन्छ ।
मैले सोचेको नेपाल प्रहरी
नेपाल प्रहरीमा क्षमता र दक्षता दुवै छ । सिक्ने र सिकाउन सक्ने दुवै क्षमता छ । तर, साधन–स्रोत सम्पन्न प्रहरी होस् भन्ने लाग्छ । हाल संयुक्त राष्ट्रसंघमा पिथ्री तहको ट्रान्जिसनल क्राइम अफिसरका रूपमा कार्यरत छु । यो पदमा छनोट भएपछि धेरैले वसुन्धरा अब युएनमै बस्छ, प्रहरी छोड्छ भन्ने खालका कुरा गर्नुभयो । किन बस्ने यहाँ रु नेपाल प्रहरीले मलाई यत्रो एक्सपोजर दिएको छ भने मैले किन नेपाल प्रहरीलाई छाड्ने ? हो, नेपाल प्रहरीमा केही समस्या छन् ।
कुनै पनि पेसामा करिअरको कुरा पनि एकदमै महत्त्वपूर्ण हुन्छ । सुरक्षा संगठनमा यो अझ महŒवपूर्ण छ । हाम्रोमा करिअर प्रस्ट छैन । साथै पोस्टिङमा प्रस्टता छैन । खुकुरीको धारमा बसेर काम गर्नुपर्ने अवस्था छ । साधन–स्रोतले सम्पन्न त्यो प्रहरी हेर्ने रहर छ जहाँ ढुक्कसँग जागिर खान पाइयोस् र यो संगठनलाई राजनीतिक, सामाजिक कुराहरूले असर नगरोस् भन्ने लाग्छ । नयाँ पत्रिकाबाट