काठमाडाै । शान्तिसुरक्षासम्बन्धी काममा सेना ब्यारेकबाट निस्कन कि सुरक्षा परिषदबाट निर्णय हुनुपर्छ कि स्थानीय प्रशासन ऐनअनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले अनुमति दिनुपर्छ ।

अहिले सेनालाई सडकमा निकाल्न सुरक्षा परिषद्ले कुनै निर्णय गरेको छैन । काठमाडौं जिल्ला प्रशासनले पनि अनुमति दिएको छैन । तर, राजधानीको चोकचोकमा सेनाले जाँच सुरु गरेको छ । ज्ञानेन्द्रको शासनकालपछि सेना सडकमा निस्किएर नागरिकका कागजपत्र जाँच गर्न थालेको यो पहिलोपटक हो ।

शान्ति–सुरक्षाको जिम्मा नितान्त रूपमा नेपाल प्रहरीको हो । सडकमा कसैले नियम–कानुन तोडेको छ भने जाँच र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो । तर, सुरक्षा परिषद् र जिल्ला प्रशासनको निर्णयविना सेना सडकमा देखिनु आश्चर्यजनक भएको छ । शान्ति–सुरक्षाको काममा सेना सडकमा आएकोमा प्रहरी पनि असन्तुष्ट छ । उता, सेनाले भने ट्राफिक प्रहरीसँगको समन्वयमा चेकिङ गर्न थालेको बताएको छ । सेनाले आइतबार बानेश्वर, महाराजगन्ज, कालिमाटी र थापाथलीमा चेकजाँच गरेको छ । नयाँ पत्रिकाबाट