प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्षभित्र प्रदेश नम्वर २ का ४२ हजार युवा रोजगारयुक्त हुने गरि केही सेवाप्रादायक संस्थाहरुसँग शुक्रबार गरिएको सम्झौताले प्रदेश २ को सम्वृद्धिको संकेत गरेको छ । प्रदेश सरकार , डिफिड र सेवा प्रदायक ६ वटा संस्थाविच प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै प्रदेश सरकारको लक्ष्य अनुरुप बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने अथवा स्वरोजगार बनाउने सम्झौता आफैमा सहत्वपूर्ण कुरा हो ।
प्रभु बैंकले आगामी तीन वर्षभित्र बैदेशिक रोजगारमा जाने सात हजा पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये चार हजारलाई सीप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने जुन सम्झौता भएको छm यसले युवाहरुलाई श्रम गरेर खान हौसाएको छ । यस्तै नेपाल एसबीआई बैंक, मेरो जब्स, मोरङ्ग अटो वक्स, लगायत रोजगारदाता संस्थाहरुले प्रदेश २ को सम्वृद्धिका लागि नयाँ परियोजना संचालन गर्ने कुराले अव प्रदेश २ का बेरोजगार युवाहरु श्रम गरेर आम्दानीको बाटोमा लाग्ने आखा गर्न सकिन्छ ।
सेवा प्रदायक संस्थाहरुलाई प्रदेश सरकारले सहयोग गर्ने भएको छ । सरकारले सहयोग गरे पछि सेवा प्रदायक संस्थाले जुन प्रतिवद्धता व्यक्त गरेका छन्, त्यो कागजी प्रतिवद्धता हुन दिनु हुदैंन । रोजगार बनाएको कागजी तथ्याङ्क देखाएर संस्थाहरुले प्रदेश सरकारबाट फाइदा लिने विषयमा सरकार, सरोकारवालाहरु सचेत हुनु पर्दछ ।