धरान / साहसिक खेल पर्यटनमा सम्भावना रहेको धरान उपमहानगरपालिकामा अर्को नयाँ साहसिक पर्यटन जिप फ्लाईङ खेल पनि थप्ने तयारी भएको छ । पर्यटकहरुलाई आकर्षण गर्न जिप फ्ल्याइङ संचालन गर्ने तयारी गरेको हो । यो उच्च ठाउँबाट तारामा डोरीको मद्दतले झुण्डिएर होचो ठाउँतर्फ उडेको अनुभूति गरेर झर्ने खेल हो । यो पोखरामा मात्र संचालनमा छ ।
प्रदेश १ मा पहिलोपटक व्यावसायिक ¥याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ जस्ता साहसिक खेलहरु धरानमा संचालनमा छन् । पछिल्लो समय जिप फ्ल्याइङको परिक्षण गर्न लागिएको हो । जिप फ्लायर परीक्षणमा ५ जना प्राविधिक र १५ जना स्वयंसेवक खट्ने भएका छन् । काठमाण्डौबाट स्काउटका केन्द्रीय टोली ल्याएर परिक्षण गर्न लागिएको वातावरण तथा पर्यटन विकास केन्द्र(सेड)नेपालका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । संस्थाका १५ औं बार्षिक उत्सवको अवसरमा साहसिक खेलको परिक्षण गर्न लागिएको उहाँले जानकारी दिए ।
धरानको वडा नं २० र १३ को सिमा क्षेत्रमा पर्ने सर्दु खोलामा असोज १२ गते यसको परीक्षण गर्ने तयारी भएको छ । उद्घाटन लागि प्रदेश नं १ का उद्योग, बन तथा पर्यटन मन्त्रि जगदिश कुसियतले गर्नु हुने बताइएको छ ।
वातावरण तथा पर्यटन विकास केन्द्र(सेड)नेपालले जैविक विविधता पार्कको अवधारणा शुरु गरेको सर्दु खोला क्षेत्रमा यो साहसिक खेलको परीक्षण गर्ने तयारी गरेको संस्थाका अध्यक्ष आननद श्रेष्ठले जानकारी दिए । यसका लागि २० र १३ नं. वडाले चासो देखाएका छन् । २० नं. वडा अध्यक्ष मणिराई र १३ का वडा अध्यक्ष नेत्र काफ्ले यसको संयोजन गरेको श्रेष्ठले बताए ।
वडा २० मा पर्ने ओशो आश्रम डाँडाबाट जिप फ्लाइङ शुरु भएर वडा १३ मा पर्ने पुल नजिक समथर ठाउँमा ल्याण्डिङ हुने छ । यो करिव ५ सय मिटर दुरी पर्छ । वडा २० को डाँडा कोशी ब्यारेजको लागि ढुंगा ओसार्न प्रयोग गरिएको रोप वे(घिर्लिङ)को लागि बनाइएको ठाउँ हो । त्यहीबाट जिप फ्लाइङ परीक्षण गरिने बताइएको छ । परीक्षणको लागि स्काउटको केन्द्रीय कार्यालयबाट आवश्यक सामग्रीसहित टिम असोज १२ गते आउने कार्यक्रम तय भएको छ । असोज १२ गते उद्घाटन गरि १५ गतेसम्म निरन्तर परीक्षण गरिने श्रेष्ठले बताए । जिप फ्लाईङको सम्भावनाबारे स्थानीय तहलाई जानकारी गराउन स्काउटका केन्द्रीय प्रतिनीधीहरुलाई ल्याई परिक्षण गर्न लागिएको श्रेष्ठ बताउछन् ।

Osho_ ashram_aria_zip-flier_ 1