धरान / मङ्गलबार धरानस्थित पब्लिक स्कुलको मैदानमा साँझ साढे पाँचबजेदेखि करिब ६ घण्टासम्मको लामो तर यो वर्षकै भव्य म्युजिकल कन्सर्ट टुबोर्गको प्रस्तुति रहेको मेगा लाइभ कन्सर्ट २०१७ सम्पन्न भएको छ ।
बेलुकी १० बजे मात्र स्टेजमा चढेका चर्चित गायक एड्रीन प्रधानले आफ्नो फ्रेन्ड्स ब्याण्डका साथ करिब डेढघण्टा धराने दर्शकहरुलाई आफ्नो गीतको तालमा नचाए । एड्रीन प्रधानको प्रस्तुति हेर्न साढे चार घण्टादेखि बसेका दर्शकहरुलाई एड्रीन प्रधानले नभन मेरो, परेलीमा, हिँड्दा हिँड्दै दोबाटोमा, पहिलो जुनीमा, धेरै धेरै आउँछ मनमा, पिँजडाको सुगा, बिर्सेर मलाई, अभिवादन, खैरो खैरो कपाल तिम्रो, गुराँसै फुल्यो, जति माया लाए पनि, सगरमाथा हाम्रै हो, यो मन त मेरो नेपाली हो हुँदै सम्बोधन तिमीलाई बोलको गीत गाएर कन्सर्टको मैजारो गरेका थिए । एड्रीनका प्रत्येक गीतमा दर्शकहरुले एड्रीनसँगै गाउँदै साथ दिएका थिए । करिब पाँच वर्षपछि धरानको कन्सर्टमा देखा परेका एड्रीन यति रातिसम्म पनि संयमित धराने दर्शकहरु देखेर एकदमै खुसी देखिन्थे । नेपाल क्लब हङकङ तथा हङ्कङ नेपाली महासङ्घका अध्यक्ष रीता गुरुङको सभापतित्व र धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा भएको कन्सर्ट धरान–१३ अमरहाटमा धरान बाल उद्यान तथा हेल्थ पार्क निर्माण कार्य सुरु गर्नका लागि आयोजना गरिएको हो ।
नेपाल क्लब हङकङको आयोजना तथा सिल्भर इन्टरटेन्मेन्टको इभेन्ट म्यानेजमेन्ट तथा टुबोर्ग बियरको प्रस्तुति तथा बराह ज्वेलरीको प्रायोजनमा आयोजना भएको मेगा लाइभ कन्सर्ट २०१७ मा धराने गायक डिल्ली फोम्बोले आफ्ना चर्चित गीतहरु माइली, म माया लाउँदिन, आउँछु म भनेर लगायत आफ्ना चर्चित गीतहरु गाएर आफ्नो दमदार प्रस्तुति तथा आफ्नो दर्शकक्रेज देखाए । त्यस्तै अर्का धराने गायक शिव लामिछानेको प्रतुति पनि आकर्षक रह्यो । उनले आफ्नो कृपा फाउन्डेसन ग्रुपसँग जय नेपाल भन्ने नयाँ गीतलाई सार्वजनिक गर्नुका साथै किन दुख्छ मुटु मेरो, पुरानो मायालाई, उकाली ओरालीहरुमा, चाहे माया गर जस्ता आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाए ।
त्यस्तै ऊर्जा ब्याण्डका गायक प्रशान्त शर्माको आँखा–आँखामा सँगै पुराना गायक नवराम राईले कालो–कालो रात र विश्वास के हो, मनोज मोतेले टाढा जाने र हाम्रो जीवन, रमेश राईले धरानको बजारैमा, बबिन लिम्बूले धरानको पुरानो बजारमा, एपी शेर्पाले गरौं सङ्कल्प, सलल बगेर जाने पानी, साक्थिम योङ्याको कोदो है फल्ने, तुहिन लिम्बूले जिन्दगी बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
मिस पूर्वाञ्चल २०१६ की फस्ट रनर अप इक्सा मादेन र मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बूले गरेको आकर्षक उद्घोषण र ईगल साउण्डको भव्य साउण्ड र लाइटको व्यवस्थापनले करिब ५ हजार बढी दर्शकहरुलाई ६ घण्टा लामो कन्सर्टमा सङ्गीतको तालमा रमाएर बसेका देखिन्थे ।