धरान / प्लस टु अध्ययनरत छात्राहरुलाई लक्षित गरेर दोस्रो चरणको ‘मिस प्लस टु’ प्रतियोगिताको अडिसन यही भदौ ९ गते धरानमा हुने भएको छ । बिग इभेन्ट नेपालको आयोजनामा धरान ९ पुतलीलाइन स्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा अडिसन राउण्ड हुने आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । अडिसनबाट छनोटमा परेका सहभागीले असोज १३ गते धरान ८ स्थित सभागृहमा ताजको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा अडिसनमार्फत २५ जना छात्रालाई छनोट गरिने मिस प्लस टु दोस्रो सिजनका निर्देशक तथा बिग इभेन्ट नेपाल प्रालिका मिडिया संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । छनौटका लागि न्यूनतम ५ फिट उचाइ भएका १६ वर्षदेखि २२ वर्ष सम्मका ११ तथा १२ कक्षामा अध्यनरत किशोरीहरु हुनुपर्ने छ । १२ कक्षाको परीक्षा दिएर परीक्षाफलको पर्खाइमा रहेकाहरुले पनि प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । जुनसुकै स्थानबाट आएर प्रतिस्पर्धा गर्न सक्ने आयोजकले जनाएको छ ।

विजेताले पुरस्कारस्वरुप नगद ४५ हजार, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ पाउनेछन् । विजेता तथा उपविजेताले निःशुल्क छात्रावृत्तिसमेत प्राप्त गर्ने आयोजक संस्थाका निर्देशक सन्तोष राईले जानकारी दिए । अडिसनमा छनौट भएकाहरुलाई महिला सशक्तीकरण तथा महिला अधिकारका, उदघाेषणकला, व्यक्तित्व तथा नेतृत्व विकास तालिमहरुप्रदान गरिने बताइएको छ । पत्रकार सम्मेलनमा मिस प्लस टु(२०१७ की बिजेता सिमरन तुलाधर, फस्ट रनरअप विलम राई, सेकेन्ड रनरअप आरती बस्नेत्लगायतको उपस्थिति थियो ।